गोरक्ष समाचारदाता
दाङ, १ असार । सकारात्मक सोचको विकासले सभ्य समाज निर्माण हुने कार्यक्रमका सहभागीले बताएका छन् ।
ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र शाखा कार्यालय घोराहीको २७औँ वार्षिकोत्सव तथा स्नेह मिलन कार्यक्रममा बोल्ने वक्ताले सकात्मक सोच र चिन्तनले सभ्य र शान्त समाज निर्माण गर्न सकिने बताएका हुन् । बह्मकुमारी ईश्वरी विश्वविद्यालयले सकारात्मक सोच र चिन्तनसम्बन्धी विभिन्न कार्यक्रमहरू गरेर सभ्य समाज निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए ।
मानिसमा बढ्दै गएको खराब भावना, लागु पदार्थ दुव्यर्सनी, झैझगडासँगै अनावश्यक मोहलाई रोक्नका लागि असल विचार आवश्यक रहेको भन्दै सहभागीले नागरिकमा सकारात्मक चिन्तनको विकास गर्न बह्मकुमारी ईश्वरी विश्वविद्यालयले भूमिका खेल्दै आएको बताएका थिए ।
ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र राप्ती क्षेत्र प्रमुख गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले सकारात्मक सोच र चिन्तनका माध्यमबाट नागरिकमा सोच परिवर्तनका लागि ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् ।
ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयमा सिकेका महत्वपूर्ण कुरालाई व्यवहारमा लागु गर्नसके व्यक्ति, घर हुँदै समाज निर्माण गर्न सकिने भन्दै कार्यक्रमकी प्रमुख अतिथि डिसीले सकारात्मक विचारलाई सबैले आत्मसात गर्नु पर्ने बताइन् । कार्यक्रममा बोल्ने अन्य वक्ताले सकारात्मक र सत्कर्मले समाजमा शान्ति स्थापना र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने बताएका थिए ।
उनीहरूले ओम शान्तिमा सिकेका सकारात्मक शिक्षालाई दैनिक जीवनमा व्यवहारमा उतार्नसके व्यक्तिगत जीवन सफल बनाउनुका साथै समाजमा जागरण ल्याउन सहायक हुने बताएका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेशकुमार पाण्डे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, समाजसेवी भुपबहादुर डाँगी, विमला योगी, नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्त, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ र राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
घोराही शाखा सञ्चालक अञ्जना दिदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जीवलक्ष्मी दिदीले गरेकी थिइन् ।