आश्वासन देखाउने तर काम नगर्दा गाली खाने अवस्था छ : वडा अध्यक्ष पौडेल
जनताको घर आँगनको सरकार वडा सरकार हो । वडामा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष बढी समय बितेको छ । यो तीन वर्षको अवधिमा वडाका विकासका लागि के–कति कामहरु पूरा भए, गर्न बाँकी के–कस्ता योजनाहरु छन् ? यिनै विषयहरुमा केन्द्रित रहेर लमही नगरपालिका–१ का वडा अध्यक्ष दामोदर पौडेलसँग गोरक्षकर्मी प्रिया स्मती गजमेरले गरेको कुराकानीको सारसंक्षेप ।
वडा अध्यक्षका रुपमा तपाईं निर्वाचित भएको तीन वर्ष बित्यो, यो समय कस्तो रह्यो ?
वडा अध्यक्षको जिम्मेवारी सम्हालेको तीन वर्षको अवधि चुनौतीपूर्ण तर निकै फलदायी रह्यो । सुरुवातमा स्थानीय जनताको अपेक्षा, सीमित स्रोतसाधन र पुराना समस्याहरूको थुप्रो थियो । तर जनताको साथ, वडा सदस्यहरूको सहकार्य र हाम्रो दृढ इच्छाशक्तिका कारण धेरै काम गर्न सफल भयौं ।
यो अवधिमा आधारभूत पूर्वाधार सुधारमा प्राथमिकता दियौं ९ सडकाटा, खानेपानी, विद्यालय, स्वास्थ्य चौकीहरू मर्मत तथा निर्माणका कामहरू गर्यौं । जनताको गुनासो सुन्ने र समाधान गर्नु जनप्रतिनिधि तपाईंको घर आँगनमाु कार्यक्रम सञ्चालन गर्यौं, जसबाट स्थानीय सरकारप्रति जनताको विश्वास बढेको छ।
यो तीन वर्ष सेवा, समर्पण र सुधारको यात्राको रूपमा रह्यो। अझ धेरै काम गर्न बाँकी छ, तर सुरु गरेको परिवर्तनलाई निरन्तरता दिने अठोट अझ बलियो बनेको छ।
वडामा जनताले महसुस गर्ने गरी तपाईंले गरेका महत्वपूर्ण कामहरु के के हुन सक्छन ?
वडा नं. १ को कौडियादेखि सुन्डबरी जोड्ने सडक कालोपत्र भएको छ। वडामा भएका सामुदायिक विद्यालयमा अध्यापन गराई रहेका निजि स्रोतका शिक्षकलाई वजेटको व्यस्थापन गरि तलब खुवाउने काम भएको छ ।
बेसिक र डिप्लोमा गरि विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम, विभिन्न सिपमुलक तालिम, कृषि तथा पशुपानका लागि किसानलाई अनुदान,सिचाईको व्यवस्था, किसानलाई सहजताका लागि पशु उपशाखा विस्तार गरिएको छ । आइ एससी एजि र आर्किटेक्चर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं । बौराह बसन्तपुरमा खानेपानी ट्यान्की निर्माण तथा पाइप विस्तार, नर्तीका विभिन्न टोलमा बाढीबाट बच्नका लागि जाली र तटबन्ध निर्माण गरेका छौं ।
जनताका लागि काम गरिरहँदा कस्ता चुनौतीहरु आउदा रहेछन् ?
जनताका काम गर्दै गर्दा थुप्रै समस्याहरुको सामना गर्नु परेको छ। हुन त जनताको सेवा गर्न आइसकेपछि समस्यासंग डराएर पनि भएन तर कतिपय कामका लागि दबाब आउने, धम्कि आउने त् निरन्तर प्रक्रिया जस्तै भैसक्यो । हामी जननिर्वाचित जनप्रतिनिधि हौँ, जनताका हरेक कुराहरु पुरा गर्छौं भनेर आएका हौँ। जनतालाई खुसि बनाउछु भन्दा वन कार्यालयको मुद्दा लाग्ने सम्मका समस्या आएका छन्।
जस्तै राजनीतिक दबाब, स्रोत र साधनको अभाव, जनचाहना र अपेक्षा उच्च हुनु, प्रशासनिक जटिलता, सामाजिक विरोध वा असहयोग, प्राकृतिक विपद् र आकस्मिक परिस्थितिले पनि धेरै चुनौती थपि दिन्छ तर पनि जनताका लागि सामान्य मानेर चल्नु परेको छ ।
वडाको विकासका लागि अब गर्नुपर्ने कामहरू के के हुन सक्छन ?
वडा विकासका लागि धेरै कामहरु छन् । बौराहा बसन्तपुर र सितलापुर जाने बाटोको स्तरउन्नतिको काम बाँकी छ, यो काम मैले मेरै कार्यकालमा सम्पन्न गर्ने सोचेको छु । यो बाटोमा क्रमागत रुपमा बजेट विनियोजन गर्न लगाई पक्की नाली समेत बनाउने योजना छ । पक्की नाला नभएको टोलहरुमा पक्की नाला बनाउने कालोपत्रे गर्ने, बेरोजगार रहेका युवायुवतीका लागि विभिन्न सीपमूलक तालिमको व्यवस्था गरि स्वरोजगार बनाउने उदेश्य राखेको छु ।
डुबान क्षेत्रमा जाली र तटबन्ध निर्माण गर्ने, कृषकलाई सिचाईको लागि डिप बोरिङको व्यवस्था गर्ने र गरिब, जेहेन्दार विद्यार्थीलाई निशुल्क शिक्षा तथा छात्रवृत्तिको व्यवस्था गर्ने सोच , त्यही अनुसार बजेटको व्यवस्था गर्नुपर्ने छ ।
बजेट वियोजनको प्रणालीमा सुधार आवश्यक देख्नुहुन्छ कि नाई ?
धेरै सुधार गर्नु पर्ने देखिन्छ। तीन वटै सरकारले वजेट विनियोजन गर्दा समन्वय नहुँदाको परिणाम अहिले छताछुल्ल भएको स्पष्ट नै छ। स्रोतको प्रभावकारी उपयोगको अभाव, राजनीतिक प्रभाव, पारदर्शिता र जवाफदेहिताको कमी, स्थानिय तहसँग समन्वयको कमी, मूल्यांकन प्रणालीको कमजोरी देखिन्छ।
बजेट वियोजन प्रणालीमा स्रोतको सही प्राथमिकता अनुसार वितरण नहुनाले धेरै योजनाहरू समयमै सम्पन्न हुँदैनन् वा अपूर्ण रहन्छन्। राजनीतिक दबाबले प्राथमिकताहरू बिगार्ने सम्भावना हुन्छ, जसले गर्दा आवश्यक क्षेत्रहरूमा पर्याप्त बजेट नपुग्ने अवस्था आएको छ। बजेट कहाँ खर्च भयो, कसरी खर्च भयो भन्ने विषयमा पूर्ण पारदर्शिता नहुँदा अनियमितता बढेको छ ।
राजनीतिसंगै जनप्रतिनिधिप्रति गुनासो बढेको पाइन्छ, किन होला ?
जब जनताले आफैंले चुनेका प्रतिनिधिबाट आशाअनुसार सेवा, उत्तरदायित्व र जवाफदेहीपन पाउँदैनन्, तब उनीहरू निराश भएर गुनासो गर्न थाल्छन्। यही कारण राजनीतिसँगै जनप्रतिनिधिप्रति जनताको गुनासो बढ्दो क्रममा देखिन्छ । बुँदागत रुपमै भन्ने हो भनेपनि अनगिन्ति कारण छन्, जस्तो निर्वाचनको बेला जनप्रतिनिधिले जनतालाई धेरै आश्वासन दिन्छन्, तर निर्वाचित भएपछि ती वाचा पूरा नगर्दा जनतामा निराशा उत्पन्न हुन्छ ।
