लीलाधर वली
दाङ, ३१ जेठ । भारतको हिमाचल प्रदेशको सिम्लामा १५ वर्ष स्याउ बगैँचामा काम गरेका रोल्पा निवासी मनु बुढा मगर घोराहीमा स्याउका बिरुवा उत्पादनसँगै स्याउको व्यावसायिक खेतीमा लागेका छन् ।
घोराही उपमहानगरपालिका–११ पेरनीमा नरदेवी माध्यमिक विद्यालयको तीन बिघा जग्गा वार्षिक एक लाख रुपैयाँ भाडामा लिएर डेढ वर्षअघि परीक्षणका रूपमा २० वटा बिरुवा रोपेका थिए । दाङको हावापानीमा छ प्रजाति र पहाड तथा हिमाली क्षेत्रमा उत्पादन लिन सकिने ३४ गरी ४० प्रजातिका ४० हजार बिरुवा उत्पादन गरेका छन् ।
सगरमाथा नर्सरी फर्म कम्पनी स्थापना गरेर स्याउका बिरुवा उत्पादनसँगै खेतीमा जोडिएका बुढाले ४० प्रजातिका स्याउमध्ये तराई क्षेत्रमा खेती गर्न सकिने अन्ना प्रजातिको स्याउ दाङमा फल्न थालेको बताएका छन् । उनका अनुसार ४५ लाख बढी लगानी गरेर बिरुवा उत्पादनमा लागेका छन् ।
परीक्षणका रूपमा १४ महिनाअघि रोपेका स्याउका बिरुवाले फल दिन थालेको भन्दै बुढाले भने, ‘भारतको सिम्लाबाट बिरुवा ल्याएर दाङमा परीक्षण गरेका थियौँ । परीक्षणमा सफल भएका छौँ, अब व्यावसायिक रूपमा अघि बढ्छौँ ।’ उनका अनुसार भारतको राजस्थानलगायत गर्मी हुने ठाउँमा खेती भइरहेको अन्ना, हर्मन ९९ र डोर्सड गोल्डेन जातका स्याउका बिरुवा रोपिएको छ ।
स्याउको फल पोटिलोसँगै स्वाद समेत मिठो भएकाले यो वर्ष आफैले १४ हजार बिरुवा दाङमै रोप्न थालेको बताउँछन् । गत वर्ष पाँच हजार बिरुवा बिक्री गरेका बुढाले यो वर्ष १५ हजार बढी बिरुवा अर्डर आइसकेको बताए । उनका अनुसार दाङसँगै रोल्पा, प्युठान, रुकुम, मुस्ताङबाट बिरुवाको माग भएको छ ।
उनका स्याउका बिरुवा मङ्सिरदेखि चैतसम्म रोप्ने गरिन्छ । भारतमा सिकेको सिप र ज्ञानलाई आफ्नै ठाउँमा प्रयोग गर्ने गरी बाँझो जमिन उपयोगमा ल्याएर युवालाई स्वरोजगार बनाउने योजनाले लागेको बताए । समुद्री सतहबाट छ सयदेखि एक हजार एक सय मिटर उचाइमा फैलिएको दाङमा खेती गर्न सकिने बताए । भारतबाट मूलबिउ ल्याएर ग्राफ्टिङ गरेर स्थानीय हावापानी सुहाउँदो फल्न सक्ने गरी बिरुवा उत्पादन गर्दै आएको बताएका छन् ।
स्याउको गुणस्तरमा कुनै कमी नहुने भन्दै तराईमा फल्ने स्याउको बोक्रा पातलो र पहाडी भेगमा फल्ने स्याउको बोक्रा केही बाक्लो हुने बताउँछन् । स्याउ खेतीका लागि जमिनको प्रकृति, मलजलको व्यवस्थापन र रोग–किरा नियन्त्रणप्रति ध्यान दिनुपर्ने भन्दै उनले भने, ‘हामीले नर्सरीबाट बिरुवा बिक्रीसँगै रोप्न चाहने किसान वा व्यक्तिलाई प्राविधिक ज्ञान पनि दिने गरेका छौँ ।’