गोरक्ष समाचारदाता
दाङ, ३१ जेठ । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा अध्ययनरत विद्यार्थीले तयार पारेका चित्रकला प्रदर्शनी गरिएको छ । एकेडेमीमा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रवार कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीले बनाएका चित्रहरूको प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा विभिन्न सामाजिक विषयवस्तुसँगै चर्चित व्यक्तिका तस्बिर राखिएका थिए । प्रदर्शनीमा ज्ञानमाला एकेमेमीमा कक्षा १० मा अध्ययनरत छात्रा स्मारिका चौधरीका सबैभन्दा धेरै चित्र समावेश थिए । विगत छ वर्षदेखि चित्रकलामा लागेकी चौधरीले आफ्नै विद्यालयमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा सहभागी हुँदा खुसी व्यक्त गरिन् ।
६ वर्षअघि पहिलो पटक चित्र बनाउँदा परिवारबाट पाएको स्यावासीले हौसला पाएर चित्रकलामा लागेको भन्दै चौधरीले अहिले विभिन्न आकृतिका चित्र कोर्न सक्ने भएको बताउँछिन् । प्राकृतिक सम्पदा, मौलिक कला, संस्कृति झल्कने विभिन्न विषयवस्तुका चित्र दुरुस्तै उतार्न सक्ने चौधरीले विद्यालयले आयोजना गर्ने ससाना कार्यक्रम पनि आफ्ना लागि अवसर भएको बताउँछिन् ।
आपूmभित्र भएको क्षमतालाई चित्रकलाको माध्यमबाट उजागर गर्दै आएकी स्मारिकाले औपचारिक तालिम नलिए पनि शिक्षकबाट मार्गदर्शन पाएको बताउँछिन् । एकेडेमीमै कक्षा ९ मा अध्ययनरत छात्रा सुदीक्षा वली पनि चित्रकलामा रुचि राख्छिन् । अध्ययनका क्रममा कापीमा विभिन्न विषयवस्तुका चित्रहरू बनाउँदा बनाउँदै परिवारसँगै स्कुलमा गुरूहरूबाट हौसला पाएपछि थप उर्जा मिलेको बताउँछिन् ।
ज्ञानमाला एकेडेमीमा गठन भएको सिर्जनशिल बाल क्लवले शुक्रवार विद्यालयमा आयोजना गरिएको चित्रकला प्रदर्शनीमा सहभागी भएकी वलीले आपूmलाई प्राकृतिक विषयवस्तुमा चित्र कोर्न मन लाग्ने गरेको बताउँछिन । पढाइसँगै अतिरिक्त क्रियाकलापका माध्यमबाट आफ्नो क्षमता विकासमा ध्यान दिएकी वलीले चित्रकलाका माध्यमबाट आफ्नो नाम चिनाउन पाउँदा खुसी लागेको बताउँछिन् ।
चित्रकला प्रदर्शनीमा कक्षा ४ देखि १० सम्म अध्ययनरत २२ जना विद्यार्थीका चित्रहरू राखिएका थिए । प्रदर्शनीमा प्रकृति, सामाजिक विषयवस्तु, बाल दिवस, वातावरणलगायतका चर्चित व्यक्ति, भगवान्लगायतका चित्र विद्यार्थीले बनाएका थिए ।
कक्षाकोठाको नियमित पढाइसँगै विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलापमा समावेश गर्दै आएको एकेडेमीले उनीहरूको क्षमता प्रष्फुटनमा उत्तिकै ध्यान दिएको ज्ञानमाला एकेडेमीका प्रिन्सिपल महेश बस्नेतले जानकारी दिएका छन् । बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूको रुचिको विषय अनुसार सिर्जनात्मक क्रियाकलापमा समावेश गर्दै क्षमता विकासका कार्यक्रम एकेडेमीको तर्फबाट गर्दै आएको बताए ।