गोरक्ष समाचारदाता
दाङ, ३१ जेठ । साहित्यकार सुशील पुन विरहीको एकल रचना वाचन भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कार्यक्रम अन्तर्गत ८१औँ शृङ्खलामा शुक्रवार घोराहीमा साहित्यकार विरहीको एकल रचना वाचन कार्यक्रम भएको हो ।
एकल रचना वाचन कार्यक्रममा साहित्यकार विरहीले राष्ट्र प्रेम, मायाप्रेम, प्रदेशमा भोग्नु परेका दुःख र सङ्घर्ष, ज्येष्ठ नागरिकले भोग्नु परेका समस्या, महिला अधिकारलगायत समसामयिक विषयवस्तु समेटिएका दुई दर्जन बढी कविता, गजल, मुक्तक र हाइकु वाचन गरेका थिए ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एवम् राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा एकल रचना वाचन भएको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले प्रत्येक तीन÷तीन महिनामा एकल रचना वाचन कार्यक्रम गर्दै आएको छ ।