स्वदेशी बिउ प्रयोग गर्न आग्रह

प्रिया स्मृती गजमेर
देउखुरी, ३१ जेठ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले कृषिमा आत्मनिर्भरता कायम गर्न आयातीत बिउको प्रयोगमा कटौती गरी स्थानीयस्तरमै उत्पादित बिउबिजन प्रयोग गर्न जोड दिएका छन् ।

शुक्रवार लमही–२ मा रहेको हरितक्रान्ति कृषि सहकारी संस्थाको गोदाम भवनको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यस्तो बताएका हुन् । नगर प्रमुख चौधरीले भारतबाट आयात हुने बिउमाथि पूर्णप्रतिबन्ध लगाई अबका दिनमा स्वदेशी बिउमै भर पर्न किसानलाई आग्रह गरे ।

‘हामी विदेशी बिउको भर नपरौँ, आफैँले उत्पादन गरौँ, गुणस्तरीय बनाऔँ अनि बजारसम्म पु¥याऔँ’, उनले भने । स्थानीय कृषक, सहकारी संस्था र पालिकाबिच समन्वय गरेर कृषिजन्य उत्पादनको गुणस्तर वृद्धि गर्ने, उत्पादन लागत घटाउने र सस्तो दरमा बजारसम्म पु¥याउने रणनीति उनले अपनाउने बताए ।

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नेपालु चौधरीले स्वदेशी बिउको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि सहकारीमार्फत् प्रभावकारी कदम चाल्नुपर्ने धारणा व्यक्त गरे । चौधरीले सहकारीका पदाधिकारी र सदस्यहरू आफैँ यस्ता जिम्मेवारीबारे सचेत रहनु जरुरी रहेको उल्लेख गरे ।

हरितक्रान्ति कृषि सहकारी संस्थाका अध्यक्ष कांसीप्रसाद चौधरीले भने, ‘हामी आफैँले उत्पादन गरेको बिउ वितरण गर्नसक्ने संरचना बनाउँदैछौँ, जसले कृषकको विश्वास जित्न मद्दत गर्नेछ ।’

उनका अनुसार किसानलाई आधुनिक कृषि प्रविधिको जानकारी दिनु, सस्तो व्याजमा ऋण उपलब्ध गराउनु, बिउ, मल, औजारको व्यवस्थापन गर्नु, उत्पादनको उचित मूल्य सुनिश्चितता गर्नुजस्ता काम सहकारीको जिम्मेवारीभित्र पर्ने र सोही अनुसार काम गरिने उनले बताए ।

भवन निर्माणका लागि नेदरल्यान्डका नागरिकको ६७ लाख रुपैयाँ सहयोगबाट हरितक्रान्ति कृषि सहकारी संस्थाको गोदाम भवन निर्माण हुन लागेको हो ।