लमही–७ मा टोल विका सस्थाका पदाधिकारीलाई अभिमुखीकरण

टेकबहादुर पुन
देउखुरी, ३१ जेठ । लमही नगरपालिका–७ टोल विकास संस्थामा अभिमुखीकरण तालिम सुरु भएको छ । वडा नं. ७ अन्तर्गत रहेका टोल विकास सस्थाका पदाधिकारीलाई दुईदिने अभिमुखीकरण तालिमको सुरुवात गरिएको हो ।

स्थानीय विकासको प्रवर्धन तथा सामुदायिक सहभागिता सुदृढ गर्ने उद्देश्यले आयोजित तालिमको उद्घाटन लमही नगरपालिकाका प्रवक्ता तथा ७ नं. वडाध्यक्ष मोहन गिरीले गरेका हुन् । कार्यक्रममा प्रवक्ता गिरीले स्थानीय तहमा विकास निर्माण, योजना छनोट तथा कार्यान्वयनमा टोल विकास संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै यस तालिमले सहभागीलाई थप सक्रिय र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

तालिमबारे प्रकाश पार्दै देउखुरी सामुदायिक सेवा केन्द्र लमहीका अध्यक्ष किरणविक्रम शाहले तालिमको उद्देश्य, संरचना र तालिकाबारे जानकारी दिए । तालिमको पहिलो दिन प्रमुख प्रशिक्षक लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोखरेलले टोल विकास संस्था गठन, संरचना, जिम्मेवारी, कार्यशैली, योजना निर्माण प्रक्रिया, जनसहभागितालगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

तालिममा टोलका पदाधिकारी, महिला तथा सहकारी समूहका प्रतिनिधि, युवा, सामुदायिक वन, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि गरी ४० जनाको सहभागिता छ । देउखुरी सामुदायिक सेवा केन्द्र लमहीको आयोजना तथा वडा नं. ७ को आर्थिक सहयोगमा तालिम आयोजना गरिएको हो । कार्यक्रमको सहजीकरण तालिम संयोजक टेकबहादुर पुनले गरेका थिए ।