प्रियास्मृती गजमेर
देउखुरी, २९ जेठ । लमहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा ट्राफिक प्रहरीप्रति व्यापक असन्तुष्टि देखिएको छ। कार्यक्रममा सहभागी अधिकांश नागरिकले ट्राफिक प्रहरीको व्यवहार र कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन्।
सुनुवाई कार्यक्रममा निर्माण व्यवसायी शिव प्रसाद चौधरीले विद्यालय बस, इ(रिक्सा तथा मोटरसाइकल जस्ता सवारीसाधनलाई अनाहकमा रोक्ने गरिएको गुनासो गरे। “किसानले तरकारी बोकेर बजार जाँदा पनि ट्राफिकले ओभरलोडको नाममा चिट काट्छ, जसले साना व्यवसायीलाई मार परेको छ,” चौधरीले भने।
त्यस्तै, रातो डाँडा निवासी तारा प्रसाद खनालले देउखुरी क्षेत्रमा अत्यधिक ट्राफिक चेकिङ्ग हुने गरेको भन्दै गुनासो गरे। “बुटवल वा नेपालगञ्जजस्ता ठूला सहरमा समेत यति चेकजाँच हुँदैन, तर लमही वरपरमा हरेक सय-दुई सय मिटरमा चेकिङ्ग हुन्छ, यसको कारण स्पष्ट हुनुपर्छ,” खनालको प्रश्न थियो। कार्यक्रममा सहभागी अधिकांश नागरिकले ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तनको आवश्यकता औंल्याउँदै, जनमैत्री सेवा प्रवाहको माग गरे। उनीहरूले दैनिक जीवनमा ट्राफिक चेकिङ्ग र व्यवहारका कारण पर्ने असहज अवस्थाबारे खुलेर बोल्न पाए।
गुनासोहरू सुनेपछि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले प्रहरीले जनताको साथि बनेर सेवा दिनुपर्नेमा जोड दिएका छन । ूजनमैत्री भएर काम गर्नुस । धेरै गुनासो आएका छन । भोलिका दिनमा यस्ता गुनासोले तपाईंहरूको कार्यसम्पादन मूल्यांकनमा असर पार्न सक्छ । त्यसैले बेलैमा सचिनु बुद्धिमानी हुन्छ, प्रमुख चौधरीले कार्यक्रममा भने ।
नगर उपप्रमुख लक्ष्मी योगीले कार्यालय समयको व्यस्त समयमा ट्राफिकले सडकमा चेकिङ्ग गर्नु नहुने धारणा व्यक्त गरिन । उनले सडक सुरक्षाको लागि आवश्यक चेकिङ्गलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने सुझाव दिएकी छन । ट्राफिक प्रहरीले सवारी चालकहरूलाई अनावश्यक दुःख दिएको भन्ने गुनासाहरू पालिकामा बढ्दो रुपमा आउने गरेको उल्लेख गर्दै, उपप्रमुख योगीले प्रहरीले यस विषयमा सचेत हुनुपर्ने बताईन ।
कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले ट्राफिक प्रहरीको व्यवहार, कारबाहीको शैली, र सेवा प्रवाहप्रति असन्तुष्टि व्यक्त गरेका थिए। प्रमुख चौधरीले यस्ता गुनासोलाई गम्भीर रूपमा लिएर प्रहरी प्रशासनलाई सुधारतर्फ लाग्न सुझाव दिएका हुन्। नागरिकका गुनासोप्रति प्रतिक्रिया दिँदै ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले गुनासोलाई गम्भीरतापूर्वक लिने र सुधारको प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे। “यस्ता कार्यक्रम भविष्यमा निरन्तर सञ्चालन गरिनेछ,” उनले बताए।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले प्रहरी संगठनभित्र विभिन्न प्रकारका व्यक्तित्व रहने भए पनि सम्पूर्ण प्रहरी जनतामुखी बन्नुपर्नेमा जोड दिए। “हामी जनताका सेवक हौँ, नागरिकसँगको व्यवहारमा समानता र इमानदारी हुनुपर्छ,” शाहले भने। कार्यक्रमले प्रहरी र नागरिकबीचको संवादलाई सशक्त बनाएको सहभागीको भनाइ छ। गुनासोको समुचित समाधान भएमा नागरिक र प्रहरीबीचको सम्बन्ध थप सुदृढ हुनेमा सबै आशावादी छन्।