नारायण खड्का
दाङ, २९ जेठ । बबई गाउँपालिका–१ का अध्यक्ष प्रेमबहादुर डाँगीमा लाठी र गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीमाथि हेलमेट प्रहार भएको छ । बबई गाउँपालिका–१ कुइरेनी निवासी प्रकाश बुढाथोकीले वडाध्यक्ष डाँगीमाथि र वडा नं. ७ चरकमटिया निवासी सुरेश हमालले गाउँपालिका अध्यक्ष खत्रीमाथि कार्यकक्षमै हेलमेट प्रहार गरेका हुन् ।
बुढाथोकीले बुधवार दिउँसो ४ बजेतिर हापुरे बजारमा वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बताएका छन् । प्रहरी निरीक्षक खड्काका अनुसार गाउँपालिकाको कार्यालबाट खाजा खान हापुरे बजारमा जाँदै गर्दा आक्रमण उनले गरेका थिए ।
आक्रमणबाट घाइते भएका वडाध्यक्ष डाँगीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार गराएको बताएका छन् । आक्रमणबाट टाउको र हातमा चोट रहेको र टाउकोमा टाँका लगाएको बताए । प्रहरी निरीक्षक खड्काका अनुसार लाठी प्रहार गर्ने बुढाथोकीले केही दिनअघि वडाध्यक्ष डाँगीको सामाजिक सञ्जालमा विरोध गर्दै स्टाटस लेखेका थिए ।
स्टाटसपछि वडाध्यक्ष डाँगीको उजुरीका कारण इलाका प्रहरी कार्यालय खिलतपुरले बुढाथोकीलाई झिकाएको थियो । उनीहरूबिच इप्रकामा आपसमा मौखिक सहमति भएको थियो । बुधवार नै बबई गाउँपालिका अध्यक्षमाथि कार्यकक्षमै हेलमेट प्रहार भएको छ ।
गाउँपालिका अध्यक्ष खत्रीलाई कार्यकक्षमै बसिरहेको समयमा सुरेश हमालले हेलमेट प्रहार गरेको गाउँपालिका अध्यक्ष खत्रीले बताए । हेलमेट प्रहार भएपछि योजना माग्न गाउँपालिका आएका पूर्णबहादुर मास्की र कार्यपालिका सदस्य नारायण परियारले आक्रमण गर्ने युवालाई धकलेका कारण आफूलाई चोट लाग्नबाट बचेको बताएका छन् ।
प्रहरी निरीक्षक खड्काका अनुसार हमालले समयमै खोलाजन्य वस्तुको ठेक्का नखोलेको भन्दै कार्यकक्षमै आक्रमणको प्रयास गरेका थिए तर गाउँपालिका अध्यक्ष खत्रीले भने आक्रमण गर्ने हमालले बबईको झारगजेरी घाटमा बिनाअनुमति बालुवा, गिट्टीको मनपरी उत्खनन् गरिरहेकाले त्यो रोकिने अवस्था आएपछि आफूमाथि आक्रमण भएको बताएका छन् । आक्रमण गर्ने हमालविरूद्ध गाउँपालिका अध्यक्ष खत्रीले जाहेरी दिएपछि प्रहरीले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक खड्काले बताएका छन् ।