दीर्घकालीन तथा गौरवका योजना ल्याउन सुझाव

बालाराम खड्का
तुलसीपुर, २९ जेठ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम तथा बजेट तयारी सम्बन्धमा सरोकारवालासँग राय सुझाव सङ्कलन गरेको छ ।

बुधवार तुलसीपुर उपमहानगरको नगर कार्यपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रमका सहभागीले दीर्घकालीन योजना निर्माण गर्न सुझाव दिएका छन् । विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा योजना बनाउँदा हँचुवाको भरमा नभई दीर्घ सोच राखेर योजना निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्ने सुझाएका थिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रतिनिधि तारा पोख्रेलले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति कर्याक्रममा पहिलो प्राथमिकतामा शिक्षालाई राखेर अन्य विकास निर्माणलाई समेट्नु पर्ने बताएका थिए । यसैगरी नेकपा एमालेका प्रतिनिधि रुपबहादुर खत्रीले तुलसीपुरलाई स्वास्थ्यको हबका रूपमा विकास गर्ने गरी योजना निर्माण गर्नुपर्ने भन्दै व्यावसायीक शिक्षा, सहकारीलाई उत्पादनसँग जोड्ेर विभिन्न करिडोर निर्माण गरिनुपर्ने बताएका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधि डिल्ली अधिकारीले नगरमा फरक फरक गौरवका योजनालाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट ल्याउन सुझाव दिए । उनले फुटर योजनाभन्दा २० लाख रुपैयाँभन्दा माथिका योजना निर्माण गरिनुपर्ने सुझाएका थिए ।

अर्का सहभागी राष्ट्रिय स्वतन्त्र पाटीका प्रतिनिधि जीवन भण्डारीले दीर्घकालीन योजना निर्माण गरी तुलसीपुरलाई फलफूलको हबका रूपमा विकास गर्ने गरी योजना निर्माण गर्न सुझाए । उनले गुणस्तरीय र मापदण्ड अनुसार गुरुयोजना बनाएर विकास गर्न भनेका थिए । यसैगरी वातावरण संरक्षणविद् डिल्लीबहादुर रावतले रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै सरकारले दिएको वातावरणीय बजेटलाई उचित रूपमा प्रयोग गर्न सुझाव दिएका थिए । तुलसीपुर उपमहानगरपालिकामा गिद्धको अनुसन्धानबारे ६२ जनाले थेसिस लेखे पनि पर्यटन प्रवर्धनका लागि प्रचारप्रसारको अभाव रहेको बताएका थिए ।

कार्यक्रममा राप्ती बहिरा संघ दाङका अध्यक्ष अजय शर्माले तुलसीपुरलाई अपाङ्गतामैत्री बनाउँदै अपाङ्गता भएका व्यक्तिलाई आर्थिक रूपमा सवल बनाउने कार्यक्रम आवश्यक रहेको बताए । अपाङ््ग सेवा संघ दाङका अध्यक्ष देवा डाँगीले समावेशी बजेटको माग गरिन् भने पत्रकार हेमराज डाँगीले तुलसीपुरलाई स्मार्ट सिटीको रूपमा विकास गर्न तुलसीपुरका सडक सुन्दर बनाउन सुझाएका थिए । उनले पूर्वाधार विकासमा विशेष ध्यान दिन अनुरोध गरेका थिए । यसैगरी हस्तबहादुर केसीले तुलसीपुरको मुख्य बजार बसपार्कमा रहेको मासु मार्केटको फोहोर व्यवस्थापन तथा सार्वजनिक शौचालयको समस्या समाधानमा उपमहानगरको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा लक्ष्मी चौधरीले गुणस्तरीय शिक्षा, लागूपदार्थ दुव्र्यसन नियन्त्रणका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गर्न सुझएकी थिइन् । यसैगरी मुना विकले लैङ्गिकमैत्री बजेट आवश्यक रहेको बताएकी थिइन् । कार्यक्रममा मनोज बस्नेतले तुलसीपुरबासीमा आशाभन्दा निराशा धेरै भएको भन्दै आशा जगाउने खालका योजना ल्याउन सुझाएका थिए ।

कार्यक्रममा वसन्ती वली, प्रेमप्रकाश मल्ल, सुदन देवकोटा, शिव थापा, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष देवबहादुर केसीलगायतले तुलसीपुर उपमहानगरलाई समावेशी, संवेदनशील र समृद्ध बनाउन आ–आफ्ना राय सुझाव राखेका थिए । तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको अध्यक्षता भएको कार्यक्रममा उपमहानगरपालिकाले विभिन्न व्यक्तिहरूको सुझावका आधारमा आगामी नीति तथा बजेट तर्जुमा गर्ने बताइएको थियो । कार्यक्रममा नगर प्रमुख खड्काले तुलसीपुरमा धेरै गौरवका संस्था रहेको भन्दै आगामी दिनमा थप गौरवका योजना निर्माणका लागि सुझाव आवश्यक रहेको उल्लेख गरे ।

उनले सडक, कृषि, शिक्षा स्वास्थ्य, सिँचाइ, उद्योग नगरका योजना भए पनि गौरवका योजना बनाउँदा कसलाई प्रथामिकता दिने भन्ने सुझाव आवश्यक रहेको बताए । ‘तुलसीपुरमा मेट्रो कलेज, राप्ती आँखा अस्पताललगायतका गौरवका संस्था स्थापना भएका छन्, तिनीहरूको थप विकास गरिरहेका छौँ, यसका साथै अन्य कुन गौरवका योजनालाई अगाडि लैजाने भन्ने हो ?’, खड्काले भने । शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिइने, इ–लाइब्रेरी स्थापना भइसकेको र थप प्रभावकारी कार्यक्रम अघि सारिने उनले बताए । नगरबासीलाई आफ्नो राय सुझाव असार १ गतेसम्म टिपाउन सकिने कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले नागरिकको राय र सुझावलाई प्राथमिकता दिई नीति तथा बजेट निर्माण प्रक्रिया अघि बढाइने बताइन् । उनले तुलसीपुर बनाउने सबैको दायित्व भएकाले विभिन्न क्षेत्रका प्रतिनिधिले आआफ्नो सुझाव दिनुपर्ने बताइन् । कार्यक्रमको सहजीकरण योजना तथा बजेट शाखाका कुन्ता भण्डारीले गरेकी थिइन् ।