बालबालिकाको शिक्षामा संवेदनशील हुन आवश्यक

देउखुरी, २८ जेठ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले साना बालबालिकाको शिक्षण कार्य अत्यन्त संवेदनशील र जिम्मेवारी हुन आग्रह गरेका छन् ।

लमही नगरपालिका–६ स्थित आदर्श नमूना माध्यामिक विद्यालय देउपुरमा बुधबारदेखि सुरु भएको उत्प्रेरणात्मक तालिमको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले बालबालिकालाई असल शिक्षा दिने कार्यमा सवै संम्वेदनशिल हुनुपर्ने बताएका हुन । नगरप्रमुख चौधरीले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि योग्य र प्रेरित शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताए ।

‘सिकाइ प्रभावकारी बनाउन शिक्षक स्वयं उत्प्रेरित र सशक्त हुनुपर्छ’, नगर प्रमुख चौधरीले भने,‘योग्य शिक्षकबाट बालमैत्री वातावरण निर्माणका लागि महत्वपूर्ण भूमिका हुन्छ ।’ साना बालबालिकाको शिक्षण कार्य केवल ज्ञान बाँड्ने मात्र नभई मनोविज्ञान र भावनात्मक विकासलाई लक्षित गरेर सिकाईमा जोड दिनुपर्ने बताएका हुन । कार्यक्रममा लमही–६ का वडा अध्यक्ष श्यामनारायण चौधरीले तालिमले शिक्षकलाई व्यवहारिक र नतिजामुखी शिक्षा बनाउन सहयोग गर्ने बताए । उनले योग्य र प्रेरित शिक्षकहरूको माध्यमबाट मात्र सकारात्मक सिकाइ वातावरण सिर्जना गर्न सकिने र यसले बालबालिकाको आत्मविश्वास तथा रचनात्मकतामा वृद्धि गर्ने बताए ।

शिक्षकमैत्री पद्धति अनुसार छात्र–शिक्षकबीच विश्वास र सहयोगको वातावरण निर्माण गर्ने, बालमैत्री शिक्षाशैली अन्तर्गत खेलकुद, कथा–कथन र क्रियाशील सिकाइद्वारा रुचि जागरण र परिणाममुखी मूल्याङ्कन अन्तर्गत नियमित रूपमा प्रगति जाँच र सुधारका उपायहरू अवलम्बन गर्ने तालिमका मुख्य उद्देश्य रहेको आदर्श नमूना माध्यामिक विद्यालय देउपुरका प्राचार्य कुलचन्द्र पौडेलले बताए । तालिममा लमही नगरपालिका–६ मा रहेका सामुदायिक विद्यालयका १६ जना शिक्षकको सहभागीता रहेको छ ।

तालिमको उद्घाटन कार्यक्रममा आदर्श माध्यामिक विद्यालय देउपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरी, प्राचार्य कुलचन्द्र पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन वडा सचिव आनन्द कंवर योगीले गरेका थिए । एक्टिभिटी बेस इन्स्ट्रक्सन नेपाल नामक संस्थाले प्राविधिक सहयोगमा सञ्चालन भएको तालिम आइतवारसम्म चल्ने छ ।