राजपुरमा चेम्बर अफ कमर्स गठन,अध्यक्षमा वली

टेकबहादुर पुन
देउखुरी, २९ जेठ । राजपुर गाउँपालिकामा व्यवसायीहरूको संस्था राजपुर चेम्बर अफ कमर्स गठन गरिएको छ । स्थानीय व्यापार, व्यवसाय र उद्यमशिलताको प्रवर्धन गर्नका लागि गठन गरिएको यस संस्थाको अध्यक्षमा व्यवसायी भुपाल वली चयन भएका हुन् ।

बरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद शर्मा, उपाध्यक्षमा डम्बर केसी, महासचिव दीपक चौधरी, सचिव शैलेन्द्र गुप्ता, कोषाध्यक्ष अपदेश भण्डारी, सहकोषाध्यक्ष मेनुका बुढाथोकी वली निर्विरोध चयन भएका छन् । यसैगरी सदस्यमा भीमबहादुर चौधरी, पप्पु झा, मिना नेपाली, रामपुरन यादव, गणेशकुमार सुवेदी र मिना भण्डारी चयन भएका छन् ।

संस्थाका सल्लाहकारमा भित्रानन्द यादवलाई मनोनित गरिएको छ । अन्य सल्लाहकार र प्रेस संयोजक आगामी बैठकबाट मनोनित गर्ने समितिले निर्णय गरेको छ । राजपुरको जङ्ग्रहवामा भएको विशेष कार्यक्रममा नयाँ समितिको घोषणा गरिएको हो । व्यवसायी भुपाल वलीको अध्यक्षता तथा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवको प्रमुख आतिथ्यता एवम् चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिव अजय न्यौपाने, प्रदेश सदस्य शंकर गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजपुर गाउँपालिका उपाध्यक्ष यादवले राजपुरमा व्यापारिक संरचना व्यवस्थित गर्न चेम्बर अफ कमर्सले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘राजपुर व्यापारिक केन्द्र बन्ने ठुलो सम्भावना बोकेको गाउँपालिका हो । यस्तो अवस्थामा चेम्बर अफ कमर्स जस्ता संस्थाले व्यवसायीलाई सशक्त बनाउँदै स्थानीय उत्पादनलाई प्रवर्धन गर्न सक्नेछन् ।’ उनले व्यवसायीको हकहित र एकतामा गाउँपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा चेम्बरका प्रदेश सचिव न्यौपाने र सदस्य गौतमले नवगठित समितिलाई शुभकामना दिँदै चेम्बरलाई व्यवसायी र सरकारबिचको पुलको रूपमा काम गर्न सुझाव दिए । काक्र्रममा लमही चेम्बर अफ कमर्सका अध्यक्ष शीतल भुसाल र गढवा चेम्बर अफ कमर्सका अध्यक्ष सन्तोष कौशलले शुभकामना मन्तव्य राख्दै राजपुर चेम्बरलाई सहयोग र समन्वयमा आफूहरू सधैँ तयार रहने बताएका थिए ।
नयाँ समिति गठनसँगै राजपुर चेम्बर अफ कमर्सले व्यापार व्यवसायको समग्र उत्थानका विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।

अध्यक्ष वलीले संस्थाले स्थानीय व्यवसायीको हकहित संरक्षण, व्यापार सहजता, रोजगारी सिर्जना, स्थानीय उत्पादन प्रवर्धन तथा नीति निर्माणमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले भने, ‘व्यापारीका समस्या बुझेर समाधानतर्फ पहल गर्नु, लगानीको वातावरण तयार पार्नु र उद्योगमैत्री नीति निर्माणमा चेम्बरले सक्रिय पहल गर्नेछ ।’ राजपुर चेम्बर अफ कमर्सको गठनसँगै स्थानीय व्यवसायीमा उत्साह देखिएको छ । यसले राजपुरको आर्थिक क्षेत्रलाई व्यवस्थित गर्दै व्यवसायमैत्री वातावरण बनाउने अपेक्षा गरिएको छ ।