Goraksha

National Daily

सिँचाइले बदलिएको वनघुस्री गाउँ

प्रिया स्मृती गजमेर
देउखुरी, २८ जेठ । लमही नगरपालिका–६ स्थित वनघुस्री गाउँ अहिले हराभरा देखिन्छ । कुनै समय सुख्खा जमिनका कारण खेतीपातीमा समस्या भोगिरहेका गाउँमा विगत दुई वर्षदेखि डिपबोरिङसँगै सिँचाइको व्यवस्था भएपछि गाउँका अधिकांश किसान कृषि क्षेत्रमा संलग्न भएका छन् ।

पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणतर्फ पर्ने वनघुस्री गाउँमा सिँचाइको व्यवस्था भएपछि बाह्रैमहिना खेती हुन थालेको छ । सुख्खा भूमिका कारण कुनै समय आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हटेसँगै किसानले बाह्रैमहिना खेती गर्न थालेको स्थानीय खुसीराम चौधरी बताउँछन् ।

सिँचाइको व्यवस्था भएसँगै किसानलाई जुनसुकै समयमा खेती गर्न मिल्ने भएको भन्दै किसान चौधरी भन्छन्, ‘पहिले सिँचाइको व्यवस्था नहुँदा वर्षमा एक पटक मात्र खेती गथ्यौँं तर अहिले तीन बाली लिन सकिने भएको छ ।’ उनले समयको व्यवस्थापन गर्न सके किसानलाई खेती गर्न कुनै समस्यान नभएको बताए ।

स्थानीय तहको पहल र किसानको मागको समन्वयमा सुरु गरिएको डिपबोरिङ योजनाले गाउँका अधिकांश किसानको जीवनशैली फेरिन थालेको छ । गहुँ, धानलगायत समय अनुसार विभिन्न तरकारी खेती गर्न सकिने भएको अर्का स्थानीय किसान राजाराम चौधरी बताउँछन् । उनका अनुसार तल्लो र माथिल्लो वनघुस्रीमा सिँचाइका लागि दुईवटा डिप बोरिङ खनिएसँगै १५ वटा गेट भल्व जडान गरेर हरेक किसानका खेतबारीमै सिँचाइ गर्ने व्यवस्था मिलाइएको छ ।

उनका अनुसार दुवै गाउँमा सिँचाइको व्यवस्था भएको छ । ‘पहिले पानीको अभावले धान लगाउन सक्दैनथ्यौँ, सिँचाइको व्यवस्था भएसँगै समयानुसार फरक फरक खेती गर्न सकिने भएको छ’, उनले भने, ‘अहिले खेतीका लागि पानीको समस्या छैन, पानीको व्यवस्था भएपछि उत्पादन राम्रो भइरहेको छ ।’

लमही नगरपालिका प्रमुख जोगराज चौधरीले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै किसानलाई आत्मनिर्भर बनाउने गरी नगरले सिँचाइसँगै यान्त्रिकीकरणमा जोड दिएको बताएका थिए । सिँचाइको व्यवस्था भएसँगै वनघुस्रीमा किसानले प्राप्त गरेको सफलता अन्य वडामा पनि किसानले गर्नुपर्ने भन्दै त्यसका लागि किसानलाई के आवश्यक छ, त्यसको व्यवस्था नगरले गर्ने बताए ।

उनले आगामी दिनमा जल स्रोतको संरक्षण, लिफ्ट सिँचाइ र वर्षाको पानी सङ्कलन प्रणालीजस्ता नविन उपायबाट सम्पूर्ण वडामा सिँचाइ सुविधा पु¥याउने गरी योचना बनाएको बताए । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् थप वडामा सिँचाइको पहुँच विस्तार गर्ने योजना बनाएको उपप्रमुख लक्ष्मी योगीले बताइन् । यसका लागि नहर निर्माण, पानीका मुहान संरक्षण तथा प्रविधिमैत्री सिँचाइ प्रविधिको प्रयोगमा जोड दिइने बताइन् ।

वनघुस्री क्षेत्रमा हालै सम्पन्न सिँचाइ योजनाबाट ७० घरधुरी किसान प्रत्यक्ष लाभान्वित भएको लमही–७ का अध्यक्ष मोहन गिरीले बताए । नगर प्रवक्तासमेत रहेका गिरीले सिँचाइ योजनाले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि ल्याएको र सिँचाइ सुविधा पुगेपछि खेतबारीमा वर्षभरि उत्पादन गर्न सकिने भएको बताए ।

सहरी शासकीय पूर्वाधार आयोजना अन्तर्गत करिब १६ लाखको लगानीमा वनघुस्रीमा डिपबोरिङको व्यवस्था गरिएको योजना शाखा प्रमुख सुनिता पोखरेलले बताइन् ।