बालमैत्री घोषणाका लागि सरोकारवालाको प्रतिबद्धता
बालाराम खड्का
तुलसीपुर, २८ जेठ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री घोषणाका लागि सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसि) को आयोजनामा तथा लुम्बिनी प्रदेश सरकार अन्तर्गत् सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालित बाल अधिकार सचेतना कार्यक्रम अन्तर्गत बालमैत्री सूचकहरूको अवस्था योजना निर्माण र स्थितिपत्र प्रस्तुतीकरण कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहभागीले बालमैत्री बालअधिकारको संरक्षण र बालबालिकामाथि लगानी सुनिश्चितता गर्न तुलसीपुर उपमहानगरपालिकामा बालबालिकालाई प्रत्यक्ष लाभ हुने खालका कार्य गर्नुका साथै बालमैत्री शासन घोषणाका लागि तोकिएका सूचक पूरा गर्न समन्वय, सहकार्य र साझेदारी गर्दै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर गरेका हुन् ।
नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी)का अध्यक्ष नवराज लामिछानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले बालमैत्री शासन घोषणा गर्दा पालिकाले पाउने अनुदानदेखि विभिन्न कुरामा सहयोग मिल्ने भन्दै प्रतिबद्धता पूरा गरी तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्न सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।
‘नगरलाई बालमैत्री घोषणा गर्न विभिन्न सूचक पूरा गर्नुपर्छ, ती सूचक पूरा गर्न सबैको साथ र सहयोग आवश्यक पर्छ’, उनले भने । खड्काले त्यो पूरा गर्न पालिका लागेको समेत बताए । यसैगरी सहभागी वडाध्यक्षहरूले पनि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष बालविज्ञ दुर्गालाल केसीले बालमैत्री घोषणाका प्रक्रिया, पूरा गर्नुपर्ने सूचकको विश्लेषण प्रस्तुत गरेका थिए । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले स्थानीय बालमैत्री समिति गठन, बालमैत्री स्थानिय शासन घोषणाका प्रक्रियाबारे प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा नगर प्रमुख खड्काको अध्यक्षतामा बालमैत्री नगर समिति गठन गरिएको छ । कार्यक्रमको सहजीकरण नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी) महासचिव नानीमैया वलीले गरेकी थिइन् । कार्यक्रममा वडाध्यक्ष जनप्रतिनिधि, पत्रकार प्रशासन उद्योग वाणिज्य संघलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
