Goraksha

National Daily

रात्रिकालीन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन छलफल

गोरक्ष समाचारदाता
दाङ, २८ जेठ । दाङमा सञ्चालित रात्रिकालीन होटल व्यवसाय सुरक्षित र सहज रूपमा सञ्चालन गर्ने विषयमा सरोकारवालाबिच छलफल भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको विशिष्ट आतिथ्यतामा छलफल भएको हो ।

कोराना महामारीपछि उत्पन्न आर्थिक मन्दीका कारण शिथिल भएका होटल व्यवसाय विस्तारै चलायमान हुने बेलामा प्रहरी प्रशासनले सम्साँझै बन्द गर्न दबाब दिँदा मारमा परेको भन्दै रात्रिकालीन व्यवसाय सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाउन व्यवसायीले आग्रह गरेका छन् । व्यवसायले लय समात्ने बेलामा रात्रिकालीन व्यवसाय प्रहरी प्रशासनले १० बजे नै बन्द गर्न दबाब दिइरहेकाले व्यवसाय सञ्चालन गर्न अप्ठेरो भएको उनीहरूको दुखेसो छ ।

जिल्लास्थित रात्रिकालीन बार तथा दोहोरी साँझ सञ्चालकले कम्तिमा ११ बजे रातिसम्म व्यवसाय सञ्चालनको वातावरण बनाउन गरेको आग्रहलाई अनुमोदनका लागि जिल्ला सुरक्षा समिति समक्ष पठाउने निर्णय गरिएको छ ।

प्रारम्भिक छलफलमा रात्रिकालीन होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले गरेको अनुरोध अनुसार पहिलो चरणमा घोराही क्षेत्रमा राति ११ बजे र तुलसीपुर क्षेत्रमा राति १० बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिन सकिने विषयमा स्थानीय प्रशासन सकारात्मक देखिएको छ ।