लामो दुरीका चालकको स्वास्थ्य परीक्षण
गोरक्ष समाचारदाता
तुलसीपुर, २८ जेठ । सार्वजनिक तथा लामो दुरीका सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । नसर्ने रोगको स्क्रीनिङ र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिने उद्देश्यले तुलसीपुरको नयाँ बसपार्कका स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा नसर्ने रोगको स्क्रीनिङ गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख शर्माले चालकको स्वास्थ्य अवस्था जाँचका लागि कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद दिए ।
‘सार्वजनिक यातायात सञ्चालन गर्ने चालक स्वस्थ हुन आवश्यक छ, किनभने उहाँहरूले धेरै यात्रुलाई यात्रा गराउनुहुन्छ’, उनले भने । शर्माले यस्तो स्क्रिनिङ कार्यक्रम सवारी चालकका लागि समय–समयमा आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताए । आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिने र केही समस्या देखिए समयमै सजक हुन सहयोग पुग्ने बताए । यसैगरी नगर प्रमुख टीकाराम खड्काले सबै नागरिक स्वास्थ्य राम्रो बनाउन राज्यले ध्यान दिनुपर्ने भन्दै अबदेखि मासिक रूपमा सबै चालकको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने बताए । ‘अहिले लामो दुरीका सवारी चालकका लागि भनिएको छ, अब भदौदेखि सबैको स्वास्थ्य जाँच गर्ने व्यवस्था हामीले गर्ने छौँ’, उनले भने ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत अनिल केसीले चालकलाई नसर्ने रोगबारेमा सचेतना दिन यो कार्यक्रम आयोजना गरिएको बताए । उनले करिब ५० जनालाई नसर्ने रोगको स्क्रीनिङ र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताए । ५२ जना चालकको स्वास्थ्य परीक्षण गरिएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत बिमल केसीले जानकारी दिए ।
स्वास्थ्य जाँच गरिएकामध्ये अधिकांश चालकको तौल बढी रहेको पाएको छ । स्वास्थ्य परीक्षणमा ३९ जना चालकको तौल बढी, ४ जनाको अत्यधिक धेरै मोटोपन, ६ जनाको पिसावमा समस्या, ७ जनाको उच्च रक्तचाप, २ जनालाई सुगर र ३ जना चालकको किड्नीमा समस्या देखिएको जनस्वास्थ्य अधिकृत केसीले जानकारी दिए । नसर्ने रोगको स्क्रीनिङ र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श कार्यक्रममा डा एलिजा शर्मा, डा. पियुस गौतमलगायतका स्वास्थ्यकर्मी र मनोविशकर्ताले सेवा दिएका थिए ।
