Goraksha

National Daily

महिलालाई कटाइ सिलाइ तालिम

टेकबहादुर पुन
देउखुरी, २८ जेठ । लमही नगरपालिका–७ मा सञ्चालन भएको तीनमहिने कटाइ सिलाइ तालिमको समापन गरिएको छ । महिलाको सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले वडा कार्यालयले तालिमको आयोजना गरेको थियो ।

समापन कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले महिलाहरूको सिप विकास नै दिगो विकासको आधार भएको बताइन् । कार्यक्रमकी प्रमुख अतिथि तथा उप प्रमुख योगीले स्थानीय सरकारले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको भन्दै सिकेको सिपलाई व्यवहारमा लागु गर्न आग्रह गरेकी थिइन् ।

कार्यक्रममा नगर प्रवक्ता तथा ७ नं. वडाध्यक्ष मोहन गिरीले तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्दै आयआर्जनमा जोडिन आग्रह गरेका थिए । वडा सदस्य उर्मिला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडासचिव शेरबहादुर चौधरीले गरेका थिए । तीन महिनासम्म सञ्चालन भएको कटाइ सिलाइ तालिममा वडाका ३० जना महिलाको सहभागिता रहको थियो । तालिममा सहभागी सङ्गीताकुमारी चौधरीले तालिममार्फत् सिलाइका विभिन्न सिप सिक्न पाएकोमा खुसी व्यक्त गरिन् ।

‘हामीमा आफै व्यवसाय गर्ने आत्मविश्वास बढेको छ’, उनले भनिन्, ‘वडा कार्यालय र पालिकालाई हामी धन्यवाद दिन चाहन्छौँ, जसले हाम्रा लागि यो अवसर उपलब्ध गरायो ।’ सुरुवातमा सिलाइप्रति झिनो अनुभव भए पनि तीन महिनाको निरन्तर अभ्यास र रुचिका कारण राम्रो स्तरको पोसाक सिलाउन सक्षम भएको चौधरीले विश्वास व्यक्त गरिन् ।

तालिम अवधिमा उनीहरूले महिला तथा बालबालिका, पुरुष तथा बालकका लागि आवश्यक कपडा सिलाउने, डिजाइन बनाउने, मापन लिने, सलाइ काट्ने, सिलाउने जस्ता विषयमा व्यावहारिक ज्ञान हासिल गरेका थिए । तालिम सकिएपछि सहभागीले आफैँ व्यवसाय सुरु गर्न सक्ने आधार तयार भएको बताएका छन् । तालिम समापन समारोहमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिमको प्रशिक्षिकमा शोभा श्रेष्ठ र दिलकुमारी घर्ती रहेका थिए । नगर प्रवक्ता तथा ७ नं. वडाका वडाध्यक्ष मोहन गिरीको अध्यक्षता एवम् लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको थियो ।