Goraksha

National Daily

दाङ पूर्णखोप सुनिश्चितता जिल्ला

खेमराज रिजाल
तुलसीपुर, २८ जेठ । मङ्गलवार तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । यी पालिकाहरू पूर्णखोप सुनिश्चितता भएसँगै १० वटै पालिका पूर्णखोप सुनिश्चितता भएपछि दाङ जिल्ला नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । अब चाँडै नै प्रदेश खोप समन्वय समितिले दाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र दिनेछ ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको अध्यक्षतामा आयोजना भएको घोषणा सभामा खोप समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्माले तुलसीपुर उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको प्रमाणपत्र दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका शर्माले पूर्णखोप नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम भएकाले यसलाई आगामी वर्ष दिगोपना दिनका लागि स्वास्थ्यका कर्मचारी र जनप्रतिनिधिहरू निरन्तर खटिरहन आग्रह गरे । ‘नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरेको छ, पूर्णखोप आधारभूत स्वास्थ्य सेवामै पर्ने भएकाले संविधान प्रदत्त खोपको अधिकार सबै बालबालिकालाई उपलब्ध गराउन आवस्यक छ’, जिल्ला समन्वय समितिका प्रमुख तथा प्रमुख अतिथि शर्माले भने ।

सोही अवसरमा बोल्दै प्रमुख अतिथिले नेपालमा लुम्बिनी प्रदेश मातृशिशु मृत्युदरका हिसाबले धेरै माथि पुगेको भन्दै यसलाई घटाउन पूर्णखोपसँगै पूर्ण संस्थागत प्रसूतियुक्त पालिका घोषणाको अभियानलाई सँगसँगै लैजान आग्रह गरे । ‘नेपाल सरकारले आफ्ना नागरिकको स्वास्थ्य सेवाका लागि धेरै कार्यक्रम ल्याएको छ तर ती सबै सेवाको बजारीकरण गर्न आवश्यक छ’, शर्माले भने ।

जनस्वास्थ्य निरीक्षक राधिका गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखाका निमित्त प्रमुख बिमल केसीले पूर्णखोप घोषणा गर्नुपूर्वका सबै क्रियाकलापका विषयमा प्रस्तुति देखाएका थिए । तुलसीपुर उपमहानगरपालिकाका नौ हजार आठ सय जना बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । खोज र खोप अभियानका क्रममा उपमहानगरपालिकाभरी जम्मा सात जना बालबालिका ड्रपआउट भेटिएका थिए ।

उनीहरूलाई समेत छुटेका खोप लगाएपछि तुलसीपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । यसबिचमा ६५ वटा खोपकेन्द्रमा ७२ वटा खोप सेसन चलाइएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकामा प्रयोगात्मक अभ्यासमा आएका विद्यार्थीले सरसफाइ सेसनको झलक दिने गरी साङ्गीतिक प्रस्तुति देखाएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाले मङ्गलवारै उपमहानगरपालिकाका १९ वटै वडालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र दिएको थियो । साथै सबै वडाका स्वास्थ्य संस्थाका प्रमुखहरूलाई सम्मानपत्रले सम्मान गरिएको थियो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख खड्काले मानव विकासमा जनस्वास्थयको ठुलो भूमिका रहने भन्दै आफ्ना नागरिकलाई स्वस्थ राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने अभियानमा उपमहानगरपालिका सदैव क्रियाशील रहने बताए । ‘हामी औपचारिकतामा मात्र नभएर परिणाममुखी काम गर्न आतुर छौँ, पूर्णखोपलाई सुनिश्चितता गर्न र दिगोपना गराउन आम जनप्रतिनिधि एवम् स्वास्थ्यकर्मीलाई आग्रह गर्दछु’, प्रमुख खड्काले भने ।

पछिल्लो समयमा नसर्ने रोगहरूको भयावह अवस्था आउन थालेको बताउँदै तुलसीपुर उपमहानगरपालिका त्यस्ता रोगहरूको स्क्रीनिङ गर्न क्रियाशील रहेको बताए । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक केसीले गरेका थिए । यसैबिच मङ्गलवारै पश्चिम दाङको बबई गाउँपालिकालाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

पालिकाको सभाहलमा भएको एक औपचारिक कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक शर्माले पालिका खोप समन्वय समितिका अध्यक्ष कुलबहादुर खत्रीलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका थिए । गाउँपालिका अध्यक्ष खत्रीको अध्यक्षतामा भएको घोषणा सभामा पालिकाले वडालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरेको थियो ।

यसैगरी पालिकाका सबै स्वास्थ्य संस्थालाई पनि पूर्णखोप अभियानमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो । बबई गाउँपालिका जनस्वास्थ्य शाखाका प्रमुख हरि खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्का, वडा नं ७ का वडाध्यक्ष तिलक भण्डारी, स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।