दाङ महिला जेसीजले जेसीज सप्ताह गर्ने
घोराही, २७ जेठ । दाङ महिला जेसीजले विभिन्न रचनात्मक कार्यक्रम गरी जेसीज सप्ताह–२०२५ मनाउने भएको छ । महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघधका केन्द्रिय सचिव सविन प्रियासको प्रमुख आतिथ्यमा मंगलबार जेसीज सचिवालयमा पत्रकार सम्मेलन गरी जेसीज सप्ताहका बारेमा जानकारी गराएको हो ।
जस अनुसार जेठ ३१ गते उद्घाटनसँगै रक्तदान कार्यक्रम गरेर जेसीज सप्ताह सुरुवात गरिने अध्यक्ष ढकालले बताइन । उक्त कार्यक्रम पिया रोका संयोजक रहने गरी बिहान ८ बजे मातृ संस्था त्रिभुवननगर जेसीज सचिवालयमा हुने भएको छ । असार १ गते गीता डाँगी संयोजक रहने गरी घोराही–१३ को ज्यामिरे सामुदायिक वनमा दिउँसो ४ बजे वृक्षारोपण कार्यक्रम गर्ने भएको छ ।
असार २ गते बिहान ८ बजे सरस्वती वली केसी संयोजक रहने गरी घोराही १४ झिँगौरास्थित अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा सहयोग हस्तान्तरण कार्यक्रम गरिने भएको छ । असार ३ गते बिहान ११ बजे दीपा पुन संयोजक रहने गरी त्रिभुवननगर जेसीज सचिवालयमा व्यवसायिक अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
असार ४ गते बिहान साढे ११ बजे मायाकुमारी चौधरी संयोजक रहने गरी घोराही–५ धर्नामा प्रजनन् स्वास्थ्य परामर्श कार्यक्रम हुने भएको छ । असार ५ गते बिहान साढे ७ बजे प्रज्ञा स्वर्णकार संयोजक रहने गरी घोराही–१७ गैरागाउँस्थित फुटसल मैदानमा महिलाहरुबीच फुटसल प्रतियोगिता हुने भएको छ ।
जेसीज सप्ताह समापनका अवसरमा असार ७ गते बिहान ११ बजे अम्बिकेश्वरी मन्दिर परिसरमा आरधना सिंह ठकुरी संयोजक रहने गरी साहित्यिक कार्यक्रम गरिने भएको अध्यक्ष ढकालले बताए । सो अवसरमा वक्ताहरुले महिला जेसीजले व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रियताका साथ काम गर्दै आएको हुँदा यसले सकारात्मक प्रभाव पारेको बताए । जेसीज सप्ताहले पनि सबै क्षेत्रलाई समेट्दै सामाजिक योगदान दिन प्रयास गरेको हुँदा सबैको साथ सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि सविन प्रियासन, सञ्चारिका समुह दाङकी अध्यक्ष रञ्जिता अधिकारी, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष ममता बिष्टलगायतले शुभकामना व्यक्त गरेका थिए । उपाध्यक्ष दीपा पुनको आस्थापाठबाट शुरु भएको कार्यक्रममा धन्यवाद जेसीज सप्ताह मुल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष लक्ष्मी घमालले दिइन । जेसीज सप्ताहको अवसरमा टिसर्ट पनि सार्वजनिक गरिएको छ ।
