तुलसीपुरमा पर्यटन प्रवद्र्धनका लागि सञ्चालन भएका होमस्टे तथा डुङ्गाहरू बन्द
गोरक्ष समाचारदाता
तुलसीपुर, २७ जेठ । तुलसीपुरमा सञ्चालनमा आएका होमस्टे तथा डुङ्गाहरू बन्द भएका छन् । तुलसीपुर उपमहानगरपालिकाले पर्यटन प्रवर्धनका लागि टेवा पु¥याउने उद्देश्यले नगरका विभिन्न स्थानमा सञ्चालन गरेका होमस्टेहरू अहिले धेरैजासो बन्द भएका छन् । तुलसीपुरका विभिन्न स्थानमा सञ्चालनमा आएका ६ वटा होमस्टेमध्ये दुईवटा मात्र सञ्चालनमा रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका पर्यटन प्रवर्धन शाखाले केही समय पहिले नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृतसहित पर्यटन समितिका सदस्य र पत्रकारसहितको अनुगनका क्रममा छवडा होमस्टेमध्ये दुईवटा मात्र सञ्चालनमा रहेको भेटिएको पर्यटन प्रवर्धन शाखाका प्रमुख झरेन्द्र खरेलले बताए । हाल वडा नम्बर ३ धामास्थित ‘भैरव नरसिंह सामुदायिक होमस्टे’ र वडा नं. १९ छिल्लीकोटको ‘मल्ला गिरी होमस्टे’, सञ्चालनमा छन् ।
‘हामीले अनुगनका क्रममा दुईवटा मात्र होमस्टे सञ्चालन भएको पायौँ’, पर्यटन प्रवर्धन शाखा प्रमुख खरेलले भने, ‘अन्य स्थानमा सञ्चालनमा आएका चारवटा भने बन्द भइसकेका छन् ।’ तुलसीपुरको वडा नं. ८, बटोलपुरमा रहेको ‘थारू होमस्टे’ वडा नं. ७, पर्सेनीको ‘कुमाल गाउँ होमस्टे’, राप्ती शान्ति सामुदायिक होमस्टे, वडा नं. ४ को ‘मुलकोट चमेरे गुफा सामुदायिक होमस्टे अहिले बन्द रहेको पर्यटन प्रवर्धन शाखाका प्रमुख खरेलले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकाले ‘होमस्टे व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७६’ निर्माणसमेत गरेको थियो । ग्रामीण पर्यटन पूर्वाधारको दिगो विकास, स्थानीय कला, संस्कृति, स्रोत, साधन, सिप र उत्पादनको प्रवर्धन गर्ने उद्देश्यसहित ग्रामीण पर्यटन तथा पर्यटन उद्यमशिलतामार्फत् स्थानीय समुदायलाई रोजगारी सिर्जना गरी सामाजिक, आर्थिक विकास गर्नको लागि होमस्टे कार्यविधि निर्मण गरी सञ्चालन गरिएको थियो । होमस्टेलाई उपमहानगरले सहयोग दिएको थियो तर अहिले होमस्टे बन्द रहेको प्रमुख खरेलले बताए ।
उनले होमस्टे सञ्चालन गर्न नसक्नुका कारण पाहुना नआएको भन्ने अनुगमनको क्रममा जानकारी प्राप्त भएको बताए । ‘होमस्टे प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नुका कारणबारे सञ्चालकका धारणा समेटेर मैले प्रतिवेदन तयार पारेको छु’, खरेलले भने । उनले प्रमुख कारण पर्यटक अर्थात् पाहुना नआएको भन्ने रहेको उल्लेख गरे ।
यसैगरी आन्तरिक पर्यटन प्रवर्धनका लागि तुलसीपुरका विभिन्न कृत्रिम तथा प्राकृतिक तालमा डुङ्गा सञ्चालन भए पनि अहिले ती डुङ्गा बन्द भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित प्राकृतिक पोखरी ‘गौरीताल’मा डुङ्गा सञ्चालनमा ल्याइएको थियो । धार्मिक एवम् ऐतिहासिक महत्व, माछापालन र डुङ्गा सञ्चालन हुन थालेपछि गौरी ताल आन्तरिक पर्यटनको नयाँ गन्तव्य बनेको थियो ।
उपमहानगरको पर्यटन शाखाले कात्तिक १४ गते डुङ्गा उपलब्ध गराएको भए पनि केही दिनमै सो डुङ्गा बन्द भयो । यसैगरी तुलसीपुर–१८को रानीताल, तुलसीपुर–१ र तुलसीपुुर–२ का पोखरीमा पर्यटन प्रवर्धनमा टेवा पुगोस् भनेर डुङ्गा उपलब्ध गराइएको थियो । ‘ती पोखरीमा केहीले माछा मर्ने त केहीले खेतबारीमा पानी सिँचाइ त केहीले पानी भएन भनेर अहिले डुङ्गा बन्द गरेका छन्’, खरेलले भने ।
तुलसीपुर उपमहानगरले वडा नं ७ स्थित राप्ती शान्ति उद्यानमा उलब्ध गराएको डुङ्गा भने सञ्चालनमा रहेको छ । ‘शान्ति उद्यानमा पर्यटन शाखाबाट उपलब्ध गराएको डुङ्गाबाट बर्सेनि पार्कलाई आर्थिक लाभ भएको छ, पर्यटक पनि आकर्षित भएका छन्, अन्यत्र विभिन्न विवादले बन्द छन्’, उनले भने ।
पर्यटन शाखा प्रमुख खरेलले पर्यटन प्रवर्धनका लागि आफूहरूले तुलसीपुरमा पहिलो पटक तुलसीपुर नौमती बाजा महिला समूह गठन गरी लोप हुन लागेको बाजा र संस्कृति संरक्षणलगायतका केही उपलब्धिमूकल काम गर्न सफल भएको बताए ।
