Goraksha

National Daily

रोल्पाको विकट गाउँ पाङमा विद्युत विस्तार

भरत विश्वकर्मा
रोल्पा, २७ जेठ । रोल्पाको विकट गाउँ लुङ्ग्री गाउँपालिकाको पाङ ठुलो गाउँमा विद्युत सेवा विस्तार भएको छ । विद्युत विस्तारको काम सुरु भएको लामो समयपछि लुङ्ग्री गाउँपालिका–१ पाङको विभिन्न स्थानमा अहिले बत्ती बलेको हो ।

नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले गाउँका करिब पाँच सय घरधुरीमा विद्युत विस्तार गरेको जनाएको छ । भौगोलिक रूपले टाढाटाढा रहेको बस्तीका केही भागमा मात्र बत्ती बल्न बाँकी रहेको कार्यालयले जनाएको छ । विद्युत विस्तार भएसँगै सो गाउँका स्थानीय खुसी भएका छन् ।

सधैँ अन्धकारमा बस्नुपर्ने समस्यामा रहेका यहाँका नागरिकको घरघरमा विद्युत पुगेसँगै खुसियाली छाएको स्थानीय झगबहादुर पुनले बताए । ‘गाउँको केही भागमा पहिलै बत्ती बले पनि ठुलो गाउँमा विद्युत बलेको थिएन्’, उनले भने, ‘बत्ती बलेसँगै अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको छ ।’ सडकको समेत सहज पहुँच नपुगेको सो गाउँमा लामो समयपछि विद्युत विस्तार भएको हो ।

विद्युत विस्तारको काम सुरु गरेको दशक पुग्दासमेत सबै घरमा विद्युत विस्तारको सम्पूर्ण काम सम्पन्न हुन सकेको थिएन । गाउँमा विद्युतको पल गाडिएका थिए तर घरहरू प्रायः अन्धकारमै थिए । भौगोलिक विकटताका कारण समयमै काम सम्पन्न हुन सकेको थिएन । जिल्ला सदरमुकामबाट करिब ४० किलोमिटर पूर्वमा पर्ने यो गाउँ जिल्लाकै विकट गाउँ मानिन्छ ।

पाङ गाउँका करिब पाँच सय घरधुरीमा विद्युत पुगेको वडाध्यक्ष गणेश पुनले बताए । ‘सुरुमा तीन सय घरधुरीमा मात्र विद्युत विस्तार भएको थियो, अन्य बस्तीमा पोलहरू गाड्ने र तार तान्ने काम भएको थियो तर बत्ती बलेको थिएन’, उनले भने, ‘अहिले करिब पाँच सय घरधुरीमा बत्ती पुगिसक्यो, टाढाटाढाको गाउँमा पुग्न बाँकी छ ।’

गाउँको डाइबाङ, माददर, छिउदर, ठुलो गाउँमा बत्ती बलेको उनले बताए । कोटवा, भिरबाटो, लालीपोखरा, चौरपाखा, रिरिपका करिब डेढ सय घरमा विद्युत पुग्न बाँकी रहेको उनले बताए । विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका कार्यालय प्रमुख आशेश्वर शाहले वर्षौँदेखि अन्धकारमा रहेका यहाँका नागरिकको घरघरमा विद्युत विस्तार भएको बताए ।

‘विद्युत विस्तारको काम पहिलैदेखि भए पनि बत्ती बल्न सकेको थिएन्’, उनले भने । ट्रान्समिटर जडान कार्य सम्पन्न गरी घरघरमा विद्युत विस्तारको काम सम्पन्न गरेको उनले बताए । करिब ५० लाख रुपैयाँ बढीको लागतमा गाउँमा विद्युत विस्तार भएको कार्यालय प्रमुख शाहले बताए ।

जिल्लाको हकमा करिब ८० प्रतिशत घरमा विद्युत विस्तार सम्पन्न भएको कार्यालयले जनाएको छ । जिल्लाका ग्रामीण भेगका छुटेका बस्तीमा विद्युत विस्तारका लागि इआइभी र इआइआइभी परियोजनाले काम गरिरहेको कार्यालय प्रमुख शाहले बताए । उनका अनुसार इआइभी र इआइआइभी परियोजनाले जिल्लाका विभिन्न गाउँपालिकामा विद्युत विस्तार गरिरहेको छ । सुनछहरी गाउँपालिका–१ र २ वडा र थबाङ गाउँपालिका–१ र २ वडामा तत्कालै बत्ती बल्ने क्रममा छ ।