Goraksha

National Daily

आँखाको सल्यक्रियामा अबदेखि एनेस्थेसिया

गोरक्ष समाचारदाता
तुलसीपुर, २७ जेठ । राप्ती आँखा अस्पतालमा जनरल एनेस्थेसियामार्फत् आँखाको शल्यक्रिया सेवा सुरु भएको छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालमा बालबालिका, वृद्धवृद्धा तथा अशक्तको आँखाको शल्यक्रिया जनरल एनेस्थेसियामार्फत् सुरु गरेको अस्पतालका मेसु सहायक प्राडा रन्जितकुमार शाहले जानकारी दिएका छन् ।

यस अघि राप्ती आँखा अस्पतालमा जनरल एनेस्थेसियामार्फत् शल्यक्रिया नहुँदा आँखाको शल्यक्रिया गर्नुपर्ने बालबालिका, वृद्धवृद्धा तथा अशक्त सेवाग्राहीलाई अन्यत्र जानुपर्ने बाध्यता थियो । ‘एनेस्थेसिया डा. रोशन गुप्ताको प्रत्यक्ष निगरानीमा आँखाको शल्यक्रिया भइरहेको छ’, सहायक प्राडा शाहले भने, ‘एनेस्थेसियामार्फत् हाम्रो टिमले तीन जना आँखाका बिरामीको शल्यक्रिया गरिसकेका छौँ अब जनरल एनेस्थेसियामार्फत् शल्यक्रिया गर्नुपर्ने बिरामी अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको छ ।’

आँखा अस्पतालमा सेवा सुरु भएसँगै बिरामीलाई टाढा जानुपर्ने बाध्यता हटेको छ । यसका साथै दैनिक जलविन्दु, मोतियाविन्दुलगायत आँखासम्बन्धी विभिन्न प्रकारका शल्यक्रिया हुने गरेका छन् । जलविन्दु र फेको सर्जरीमा विशेषज्ञता हासिल गरेका सहायक प्राडा शाह अस्पपतालमा आएसँगै जलविन्दुका बिरामीलाई पनि सेवा लिन सहज भएको छ ।