Goraksha

National Daily

सडक विस्तारपछि स्थानीयलाई सहज

प्रिया स्मृती गजमेर
देउखुरी, २७ जेठ । लमही नगरपालिका–९ का स्थानीय लामो समयदेखिको यातायात समस्याबाट मुक्ति पाउँदा हर्षित भएका छन् । रिहार हुँदै तेलिया–कोल्तरा–तरुलिया सडकखण्ड कालोपत्रे भएसँगै वर्षात्को समयमा समेत गाडी चल्ने भए पनि राहतको महसुस गरेका छन् । सडक नहुँदा बस चढ्नका लागि करिब एक घण्टा पैदल हिँड्नुपर्ने स्थानीयलाई घरअगाडि मोटर पुग्दा उत्साहित भएका छन् ।

वडाभित्रका तेलिया, कोल्तरा र तरुलिया गाउँसम्म ग्राभेलसँगै नाला निर्माण र कालोपत्रे गर्ने काम अघि बढेपछि स्थानीय खुसी भएका हुन । वर्षात्मा हिलाम्मे र जोखिमपूर्ण यात्रा झेल्दै आएका स्थानीयले सडक कालोपत्रे हुन थालेपछि राहतको अनुभूति गरेको तरुलिया निवासी गुरुप्रसाद कुमाल बताउँछन् । सडक निर्माणसँगै अब हिउँद वा वर्षा जहिले पनि सहजै गाडी सञ्चालन हुनसक्ने भएको बताउँछन् ।

‘पहिला सडकको समस्या धेरै भोगियो, बिरामी परे गाडी मोटर भेटाउन झन्डै एक घण्टा हिँड्नुपथ्र्यो’, उनले भने, ‘अहिले त गाडी घरआँगनमै आइपुग्छ । जसले गर्दा सहज भएको छ ।’ उनको जस्तै अनुभव छ सोही ठाउँ निवासी नरेश कुमालको पनि । कुनै समय वर्षामा हिलो र सुख्खामा धुलोका कारण हैरानी व्यहोरोका स्थानीयले सडक कालोपत्रे भएसँगै समस्या हटेको बताउँछन् ।

वडामै विकट बस्तीका रूपमा रहेका तेलिया, कोल्तरा र तरुलियालाई सडकसँगै स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता पूर्वाधारले जोड्ने गरी काम गरिरहेको वडाध्यक्ष भेषबहादुर केसी बताउँछन् । वडाध्यक्ष केसीका अनुसार लमही नगरपालिकाले प्रत्येक वर्ष पूर्वाधार विकासका लागि पर्याप्त बजेट विनियोजन गर्दै सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए ।

‘सडक सञ्जाललाई विस्तार गर्दै जनतालाई विकाससँग जोड्ने गरी योजना बनाएर काम गरिरहेका छौँ’, वडाध्यक्ष केसीले भने, ‘अहिले वडाका प्रत्येक बस्तीलाई सडक सञ्जालले जोडेको छ, बस्तीबस्तीमा मोटर पुग्न थालेका छन् ।’ सडक निर्माणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सुधार गर्दै जाने उनले बताए । सडकसँगै सिँचाइको व्यवस्था हुँदा स्थानीयलाई खेती गर्न सहजता भएको छ ।

कृषिको विकास गर्दै किसानलाई आयआर्जनसँग जोड्नका लागि वडा कार्यालयले किसानलाई सिँचाइका लागि मोटर वितरण गरेको थियो । वडा नं. ९ मा सडक निर्माणका लागि पौनेदुई करोड रुपैयाँ खर्च भएको लमही नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर सौगात वलीले जानकारी दिएका छन् ।