calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

शान्तिनगर र दंगीशरण पूर्णखोप सुनिश्चितता पालिका घोषणा

गोरक्ष समाचारदाता
दाङ,् २६ जेठ । दाङ जिल्लालाई जेठ मसान्तभित्रै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने अभियान अनुरूप आइतवार पश्चिम दाङका शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ती पालिकाहरूमा फरक फरक समयमा औपचारिक कार्यक्रमको आयोजना गरी जिल्ला खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र दिएको हो ।

शान्तिनगर गाउँपालिकामा गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा आयोजित घोषणा सभामा प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माले पालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको प्रमाणपत्र प्रदान गरका हुन् । घोषणा सभामा बोल्दै प्रमुख अतिथि शर्माले हरेक वर्ष बालबालिका जन्मने क्रम चलिरहेकाले आगामी वर्ष पनि आफ्नो पालिकामा कुनै पनि बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका खोपहरू लगाउन आग्रह गरे ।

शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख घनश्याम पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बस्नेतले पालिकाका सबै वडालाई पूर्णखोपको प्रमाणपत्र प्रदान गरेका थिए भने खोप अभियानमा उल्लेख्य भूमिका खेल्ने स्वास्थ्य संस्थाहरूलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्द, स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोरकुमार आचार्य, सम्पूर्ण स्वास्थ्य संस्थाको तर्फबाट जनस्वास्थ्य निरीक्षक मोहनबहादुर रावतलगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा स्वास्थ्य शाखाका कर्मचारी विनोद खड्काले पूर्णखोपका विषयमा जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण प्रशासन शाखाका प्रमुख कृष्ण कँडेलले गरेका थिए ।

यसैगरी दंगीशरण गाउँपालिकालाई पनि आइतवारै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकासँगै पूर्ण संस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको प्रमाणपत्र प्रदान गरेका थिए ।

दंगीशरण गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष रमेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तथा विषय प्रवेश मन्तव्य व्यक्त गर्दै दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाकी नर्स राधा शर्माले दंगीशरण गाउँपालिकामा आठ सय ७१ जना बालबालिकालाई यो वर्ष पूर्णखोप लगाइएको र दुई सय ९७ जनाले पूर्णसंस्थागत प्रसूतिको सेवा लिएको बताइन् ।

घोषणा सभामा प्रमुख अतिथिको मन्तव्य दिँदै जिल्ला खोप समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको पूर्णखोप एक जना बालबालिकालाई पनि नछुटाएर लगाउन पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्य, दंगीशरण गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी, दंगीशरण गाउँपालिका–३ का अध्यक्ष सुकलाल चौधरी तथा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाका तर्फबाट गोमा न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीले गरेका थिए ।

सो अवसरमा गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था, महिला सामुदायिक सेवा केन्द्र प्रेरण परियोजना र बेसद्वारा सञ्चालित पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाका अधिकारीको पनि सहभागिता रहेको थियो । प्रेरणा परियोजनाले सहभागीका लागि यातायात खर्चको समेत व्यवस्थापन गरेको थियो ।

अब दाङ जिल्लामा बंगलाचुली, बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका मात्रै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा हुन बाँकी छन् । यसै साता ती पालिकालाई पनि पूर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम तय भइसकेको खोप समन्वय समितिका सदस्य सचिव किशोर आचार्यले जानकारी दिएका छन् ।