Goraksha

National Daily

जुम्लेपानी गढीकिल्लाको मर्मत सम्भार

गोरक्ष समाचारदाता
दाङ, २६ जेठ । बंगलाचुलीमा रहेको जम्लेपानी गढी किल्लाको मर्मत सम्भार गरिएको छ । बंगलाचुली गाउँपालिका–४ मा रहेको ऐतिहासिक जुम्लेपानी गढी किल्लाको सेनाको टोलीले मर्मत सम्भार गरेको हो ।

श्री नं. १९ बाहिनी अया तुलसीपुरको अग्रसरतामा ज्वाला दल घोराहीबाट खटिएको सेनाको टोलीले जुम्लेपानी गढीको सरसफाइसँगै भत्किएको पर्खाल निर्माण गरेको हो । नेपाली सेनाको ऐतिहासिक गढी र किल्लाहरूको पहिचान, संरक्षण र जगेर्ना गर्ने नीति अनुसार बंगलाचुली गाउँपालिकामा रहेको गढीको मर्मंत सम्भार गरिएको नेपाली सेनाका प्रमुख सेनानी कुमार खड्काले जानकारी दिएका छन् ।

मर्मत सम्भार गरेर संरक्षणका लागि सेनाले बंगलाचुली गाउँपालिकालाई गढी किल्ला हस्तान्तरण गरेको छ । नेपाली सेनाका मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापति प्रेमबहादुर पुनले बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरलाई गढी किल्ला संरक्षणका लागि हस्तान्तरण गरेका थिए ।

हस्तान्तरणपछि बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले गढी किल्ला ऐतिहासिक क्षेत्रको संरक्षणका लागि पालिकाले भूमिका खेल्ने बताए । ऐतिहासिक तथा पुरातात्विक हिसाबले महत्व बोकेको गढी किल्लाको संरक्षण गर्नुपर्ने गाउँपालिकाको दायित्व भएको भन्दै गाउँपालिका अध्यक्ष पुनले आगामी दिनमा बजेट विनियोजन गरेर संरक्षण र विकासमा लाग्ने बताएका थिए ।

ऐतिहासिक गढी किल्ला नेपाल–अङ्ग्रेज युद्धको समयमा धानखोला–लमही–घोराही तथा कोइलाबास–लमही–घोराही भएर उत्तरतर्फ आउने दुश्मनको फौजलाई प्रतिकार गर्न प्रयोग गरेको विश्वास गरिन्छ । उक्त ठाउँमा करिब दुई सय जना फौजसहित गढीमा कमान्ड सम्हालेका कर्णेल कालु आलेले यस क्षेत्रको सुरक्षा गर्न प्युठानको ढुङ्गेगढी, रोल्पाको रुङकोटगढी–१, रुङकोटगढी–२, म्याग्जिनगढी र उमागढी समेतको डिफेन्सको सञ्जाल खडा गरेको विश्वास गरिन्छ ।

तत्कालीन कर्णेल कालु आलेले घोडाको प्रयोग गर्ने गरेको, गढीसम्म पुग्ने घोडेटो बाटो बनाएको, उनले छोरीको नामबाट कँवारीपानी (कुमारीपानी) र आफ्नै नामबाट कर्णेल पँधेरा बनाएको अहिले पनि रहेको बंगलाचुली गाउँपालिका–४ अध्यक्ष डाँसबहादुर डाँगीले बताएका छन् । उनका अनुसार गढी किल्लामा बन्दुकले फायर गर्न बनाइएका प्वालहरू, दक्षिण कुनामा बनाइएको थान, उत्तरतर्फ गढीको पर्खाल बाहिर बासस्थानका लागि प्रयोग गरिएका काठका पुराना खम्बाहरू, गढीमा प्रयोग भएका ढुङ्गा, सेनाले पिटी परेड खेल्न बनाएको करिब दुई सय ५० मिटर लामो र ३० मिटर चौडाइको ठाउँ रहेको बताए ।

गढी किल्ला हस्तान्तरण कार्यक्रममा १९ नम्बर बाहिनी अड्का बाहिनीपति सहायकरथी पदमबहादुर बुढा, दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी, वडा नं. ३ का अध्यक्ष शोभाराम विश्वकर्मा, वडा नं. ४ का अध्यक्ष डाँसबहादुर डाँगीलगायतको उपस्थित रहेको थियो ।