‘सरुवाभन्दा शैक्षिक सुधारमा केन्द्रित हुनुहोस्’

गोरक्ष समाचारदाता
दाङ, २६ जेठ । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले शिक्षकहरूलाई सरुवाको सहजता खोज्नुभन्दा शैक्षिक सुधारमा गम्भीर ध्यान दिन आग्रह गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगर समितिद्वारा आयोजित छैठौँ नगर परिषद्लाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले पछिल्लो समय धेरैजसो शिक्षक आफ्नो सुविधा र घरपायक स्थानमा सरुवा हुनतर्फ केन्द्रित भएको तर शिक्षा क्षेत्रको गुणस्तर वृद्धिमा अपेक्षित योगदान नदिएको गुनासो गरे ।

‘हामी शिक्षकहरू घरको नजिक सरुवा पाउने चाहनामा त सक्रिय हुन्छौँ तर कक्षा कोठामा विद्यार्थीको सिकाइ सुधार्न त्यति गम्भीर देखिँदैनौँ’, उनले भने, ‘आजको युगमा शिक्षक पढाउने गुरु मात्र नभई विद्यार्थीको नेतृत्व विकास गर्ने उत्प्रेरक पनि बन्नुपर्छ ।’ उनले बालविकास तहदेखि नै शैक्षिक सुधारको खाका कोर्नु आवश्यक रहेको बताए ।

‘बालविकासदेखि आधार बलियो भएन भने माथिल्लो तहमा गएका विद्यार्थी कमजोर हुने नै छन्’, नगर प्रमुख चौधरीले भने, ‘त्यसैले सुधारको जग तलैबाट राख्नुपर्छ ।’ उनले पछिल्लो समयमा शिक्षकमा सेवा, समर्पण र सामाजिक जिम्मेवारीबोध कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । ‘विद्यार्थी फेल भए शिक्षकमा हीनताबोध किन हुँदैन ?’ उनले प्रश्न गरे, ‘विद्यार्थीमा पढ्नुपर्छ भन्ने भावना कहिले आउला ? अनि शिक्षकले पनि पढाउनुपर्छ भन्ने आत्मबोध कहिले विकास होला ?’

उनले शिक्षा क्षेत्र सुधारका लागि आफू प्रतिबद्ध रहेको बताउँदै दुर्गम बस्तीमा समेत समावेशी र गुणस्तरीय शिक्षाको पहुँच पु¥याउन सकिने विश्वास व्यक्त गरे । ‘सैघा, चाक्लिघाट, कर्मकोट, बसेरी, गुरौँ जस्ता विकट ठाउँमा बसेर पनि शिक्षा सुधार गर्न सकिन्छ’, उनले भने, ‘त्यस्तो भावना भएका शिक्षक खोजिएको छ ।’ विद्यालयलाई ‘सिर्जनशील केन्द्र’ बनाउने अभियानमा शिक्षकको भूमिका रहनुपर्ने आवश्यकता औल्याए ।

‘विद्यालय केवल परीक्षा दिने र प्रमाणपत्र थमाउने संस्था होइन यो त सिर्जनशील चेतनाको बगैँचा हो’, नगर प्रमुख चौधरीले भने, ‘जहाँ विद्यार्थीले सोच्न, सिर्जना गर्न र समाज बदल्न सिक्नु पर्छ ।’ हालै सम्पन्न कक्षा ८ को अन्तर विद्यालय परीक्षा विद्यार्थी मात्र नभई शिक्षकका लागि पनि परीक्षा बनेको बताए । उनले भने ‘अब हामी परिणाममुखी शिक्षातर्फ उन्मुख छौँ । परीक्षालाई मात्र नभई सिकाइ प्रक्रियालाई सुधार्नु पर्छ ।’

कक्षा ५ को परीक्षा प्रणाली पनि भिन्न ढङ्गले सञ्चालन गर्ने सोच रहेको जानकारी दिए । उनले भने, ‘पछिल्लो समय विद्यार्थीले ‘फेल पास’ भन्ने शब्द नै महसुस गर्न पाएका छैनन् । यसको सिधा असर एसइईमा देखिएको छ ।’ नगर प्रमुख चौधरीले तल्ला कक्षामा मूल्याङ्कन नहुँदा शिक्षक र अभिभावक दुवैले विद्यार्थीको सिकाइप्रति बेवास्ता गर्न थालेको उल्लेख गरे । उनले भने, ‘शिक्षामा सुधारको थालनी आधार तहबाटै हुनुपर्छ । एसइईमा मात्र नतिजा खोज्नु मूर्खता हो ।’

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगर समितिका अध्यक्ष पोषण विष्टले शिक्षकको आत्मसम्मान र व्यावसायिक विकास सुनिश्चित गर्ने पक्षमा संगठनले पहल गर्दै आएको बताए । कार्यक्रमको सहजीकरण नगर सचिव खिमबहादुर बुढाले गरेका थिए ।