नेतृत्वको पतन र बिपीको बाटो

भुपेन्द्र सुवेदी

समयको सन्दर्भमा पुराना भनाइहरु कहिलेकाहीँ पुनरावलोकन गर्नुपर्ने हुन्छ । “आगो ताप्नु, मुढाको कुरा सुनु बुढाको“ भन्ने उखानले अनुभवको मूल्य दर्शाउँछ, तर यस्ता उखानहरु पनि कहिले काहीँ सन्देहको नजरले हेर्नुपर्ने अवस्था आउँछ । किनकि अनुभवले मात्र होइन, चरित्र र दृष्टिकोणले पनि देश र समाजको नेतृत्व निर्धारण गर्छ ।

नेपाली राजनीति यतिखेर गम्भीर संक्रमणबाट गुज्रिरहेको छ । देशका लागि जीवन अर्पण गर्ने नेताका रुपमा वीपी कोइरालाको नाम उच्च सम्मानका साथ लिइन्छ । उहाँले पारिवारिक कठिनाइ, राजनीतिक उत्पीडन, कैद र निर्वासनका बाबजुद पनि राष्ट्रिय स्वार्थमाथि कुनै सम्झौता गर्नुभएन । उहाँको नेतृत्वको मौलिकता नै उहाँलाई महा मानव बनायो ।

तर आजको राजनीतिक नेतृत्वले वीपीको सिद्धान्तलाई आत्मसात् गर्नुको सट्टा त्यसको अपमान गरिरहेको छ । वर्तमान नेताहरुको दम्भ, स्वार्थ, र सत्तालिप्साले देशलाई दिशाहीन बनाएको छ । न पार्टीभित्र लोकतन्त्र छ, न सरकारमा जनताप्रतिको उत्तरदायित्व । वर्षौंसम्म एउटै व्यक्ति कुर्सीमा टाँसिइरहने प्रवृत्तिले नयाँ सोच र नेतृत्वको सम्भावनालाई बन्द गरिरहेको छ ।

के नेपाली जनता साँच्चै नेतृत्वविहीन हुन् ? कि नेताहरु आफैं सत्ताबाट अलग हुन नसक्ने रोगका शिकार भएका हुन् ? देशको राजनीतिक परिवेशमा इमानदारीको चरम अभाव छ । आज पनि हामी वीपी कोइरालालाई सम्झिन्छौं, किनकि उहाँको सिद्धान्त, व्यवहार र दृष्टिकोण यथार्थमा आधारित थियो । तर आजका नेताहरु “वीपीका अनुयायी“ को नाममा केवल नारा बाँडिरहेका छन् । व्यवहारमा उहाँको मार्गदर्शन अनुसरण गर्ने कोही देखिँदैन ।

वीपीले भनेका थिए—राजनीतिमा सहि निर्णय गर्न महा मानव हुन जरुरी छैन, इमानदार हुनु नै पर्याप्त हो । आजका नेताहरुमा त्यस्तो इमानदारी न देखिन्छ, न त निर्णय गर्ने आँट । यति साह्रो मुलुकमा पनि कोही अगाडि बढेर स्पष्ट रुपमा राष्ट्रको पक्षमा बोल्न सक्दैन, किन ? के दक्षिण–उत्तर शक्तिहरुसँगको समीकरणमै सबैको मौनता छ ?

नेपाली कांग्रेस होस् वा कम्युनिष्ट पार्टीहरु—सबै नेतृत्व नैभन्दा संस्था ठूलो हुन्छ भन्ने आधारभूत सिद्धान्त बिर्सन थालेका छन् । पार्टीहरु फुटिरहेका छन्, गुट विभाजन बढिरहेको छ । नेतृत्वको लोभमा विचार र नीति गुमाउँदै गइरहेका छन् । पार्टीहरुको संगठनिक संरचना आज गोरु विना हलो जुताउने दृष्य जस्तै भएको छ—न उद्देश्य छ, न रणनीति ।

रमाइलो कुरा के छ भने, जनताले बारम्बार धोका खाए पनि आशा मर्न दिएका छैनन् । तर, नेतृत्वले जनतालाई दिएको पीडाको अन्त्य कहिले ? जनतालाई विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्यका सपनाहरु देखाइन्छ, तर व्यवहारमा लुट, भ्रष्टाचार, र दोहोरो चरित्र प्रदर्शन गरिन्छ ।

वीपीले भनेका थिए, “नेपाली कांग्रेस म एक्लैले चलाएको संस्था होइन, त्यो सामूहिक योगदानको जगमा टिकेको पार्टी हो ।“ तर अहिले कांग्रेस आफै वीपीको छायाँ जोगाउन असमर्थ भएको देखिन्छ । यस्ता पार्टीहरुमा अब सैद्धान्तिक अनुशासन छैन, नेतृत्वले नै आस्था बेच्ने काम गरिरहेको छ ।

रमेश लेखको प्रकरण हेर्नुहोस्—एक व्यक्तिको विरुद्धमा पार्टीभित्रै घृणा उब्जिनु, त्यो पनि शीर्ष नेतृत्वबाट, के यही हो वीपीको मूल्य प्रणाली ? यदि पार्टीभित्रका कार्यकर्तामाथि विश्वास छैन भने संगठन कति कमजोर र दिशाहीन भएको हो भन्ने स्पष्ट हुन्छ ।

नेपालको राजनीतिमा अब नयाँ विचार, नयाँ ऊर्जा र नयाँ नेतृत्वको खाँचो छ । पुराना अनुहारहरुबाट देशले धेरै अपेक्षा ग¥यो, तर परिणाम निराशाजनक भयो । अब आवश्यक छ—इमानदार, सक्षम र दूरदर्शी युवाहरुको एकता । सबै पार्टीका यथार्थपरक र देशप्रेमी युवाहरु एक ठाउँमा उभिएर, राष्ट्रहितमा साझा एजेण्डा तयार गरी अघि बढ्नु पर्ने बेला आएको छ ।

आजको युवा पुस्ताले अब निर्णय गर्नुपर्छ–पुराना बानी र अनुशासनविहीन नेताहरुको पछि लागिरहने कि स्वयम् नेतृत्व लिएर देशलाई नयाँ दिशा दिने ? पुराना स्यालहरुले गाएको गीत फेरि दोहोर्याउने हो कि नयाँ यथार्थको स्वर गाउने ? राजनीतिलाई सेवा बनाउने हो कि सौदाबाजीको औजार ?

यदि आज पनि हामी मौन बस्यौं भने, इतिहासले हामीलाई माफ गर्नेछैन । नेतृत्वप्रति प्रश्न उठाउनु अपराध होइन, त्यो त जनताको अधिकार हो । अब समय आइसकेको छ—नेतृत्वलाई जवाफदेही बनाउने, नयाँ मार्गको खाका कोर्ने, र वीपीको विचारलाई व्यवहारमा उतार्ने ।