केपी सुवेदी
यसपालिको गणतन्त्र दिवस २०८२ जेठ १५ गते दाङ जिल्लाको पहाडी क्षेत्रमा पर्ने बंगलाचुली गाउँपालिका अन्तर्गत सबै दृष्टिले विकट रहेको वडा नंं ७ जबरकोट चर्चामा आयो । १८औँ गणतन्त्र दिवसको अवसरमा प्रभातफेरीदेखि दीप प्रज्वलनसम्म गरी दिनभर मुलुकका अधिकांश स्थानमा विविध कार्यक्रम गरी मनाइए पनि त्यो चर्चित बनेको विषय त्यस्तै एउटा कारण हो ।
उक्त दिन जबरकोटस्थित स्वरस्वती माविको प्रांगणमा एउटा स्वास्थ्य शिविर चलिरहेको थियो । यस्ता स्वास्थ्य शिविरहरु विभिन्न ठाउँमा विभिन्न संघसंस्थाद्वारा चलाइने पनि नयाँ थिएन । तर, भौगोलिक विकटता, यातायातका लागि २०४८ सालमा वीपी राजमार्ग नामाकरण भएको सडकको दुरावस्था र स्वास्थ्यको सुविधा नभएको कारणले जनताले स्वास्थ्य सेवा पाउन नसकेको परिस्थिति धरातलीय यथार्थ थियो ।
विकटताका बिच दयनीय आर्थिक अवस्थाले र स्वास्थ्यसम्बन्धी चेतनाको अभावले रोगबाट ग्रस्त शरीर ईश्वरको वरदान वा अघिल्लो जन्मको पाप सम्झेर बसेका वृद्धवृद्धा त्यसदिन अनौठो अनुभव गर्दै थिए । चिकित्सकद्वारा निःशुल्क जाँच अनि निःशुल्क औषधी घर नजिकैको विद्यालयको प्रांगणमा पाएर दंग थिए । यसअघि यस्तै–यस्तै थुप्रै ठाउँमा चलेकै थिए तर त्यहाँ भने यस्तो काम नयाँ भएछ र त्यो नयाँ कार्यको थालनी नेपाली कांग्रेसको एउटा भातृसंस्था नेपाल तरुणदल बंगलाचुली गाउँपालिका कार्यसमितिको आयोजनामा सञ्चालन भएको थियो ।
शिविरमा स्वास्थ्य सेवा लिन जाने सेवाग्राहीको अवस्था वास्तवमै कारुणिक थियो । रोगले आफ्नो शरीर कुरुप हुँदा पनि म बिरामी हुँ भन्ने चेतना नहुनु आफैमा दयनीय अवस्था उजागर हुन्थ्यो । ८०–८२ वर्षका वृद्ध महिलाहरु पाठेघरका गम्भीर बिरामी थिए । उनीहरुलाई मेरो समस्या समाधान हुनसक्ने समस्या हो भन्नेसम्म थाहा नभएको पाइयो । त्यस्तै त्यतिकै उमेर समूहका वृद्ध पुरुषहरुमा अत्याधिक मात्रामा सुगर, ब्लडप्रेसर लगायतका दीर्घ रोगहरुले ग्रस्त व्यक्तिहरु गाउँमै निःशुल्क स्वास्थ्य जाँच र औषधी एवम् परामर्श सेवा प्राप्त गर्न पाउँदा अनौठो अनुभव गरेको सुनाउँदै थिए ।
उक्त शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुईजना मेडिकल अफिसरसहित एक–एकजना नर्सिङ्ग र ल्याबबाट गरी चारजनाको टोली खटेको थियो । त्यसैगरी भित्रि रोग एवम् सुगर लगायतको हार्मोनल समस्याका बिरामीहरुको उपचारमा डारुबाचस सुवेदी हुनुहुन्थ्यो । त्यहाँको जनघनत्व र धरातलीय अवस्थिति अनुसार स्वास्थ्य शिविरबाट स्वास्थ्य लाभ गर्ने संख्या उल्लेख्य थियो ।
यसका साथै चेतनाको झिल्को मात्र भए पनि दिने प्रयास गरिएको युवाहरुको कदमले दुरदराजमा जनताको अवस्थामा परिवर्तन ल्याउन जनतासँगै साक्षात्कार हुनुपर्छ भन्ने शिक्षा सबैलाई दिएको छ जस्तो लागेको छ । अझै यस्ता कति स्थानहरु होलान् जहाँ न स्वास्थ्य सेवाको पहुँच होस् न त कुनै स्वास्थ्य शिविरहरुनै आयोजना गरिएका हुन सकुन् । विभिन्न रोगहरु उन्मुलनको अभियान यतै कतै नचलेका पनि होइनन् तर पनि जनताको पहुँच कहाँसम्म छ भनेर जनताको राजनीति गर्नेले यस्ता कति ठाउँ र बस्तीहरु छन् भनेर तिनिहरुसम्म सेवाको पहँच पु¥याउने प्रस्ताव आफ्नो कार्यसमितिमा पु¥याएको हुनुपर्छ ।
यसपटकको स्वास्थ्य शिविरको प्रसँगसँगै केही विवाद र बहसमा ल्याउन प्रयास भएको सुनिन्थ्यो । कसैले भनेको सुनिन्थ्यो, सुविधा भएको, यातायात सहज भएको ठाउँमा चलाउनुपर्छ शिविर, कुरा सबैको आफ्नो हुनसक्छ तर के का लागि हुनुपर्छ शिविर भन्ने प्रश्नको सजिलो जवाफ त्यहाँ छैन । त्यसले दिएको सन्देश जसले राम्ररी अध्यायन गर्छ र त्यहाँ व्यक्त जनताको पीडासँग साक्षात्कार गरेको हुन्छ, उसले बुझ्दछ यसको आवश्यकता र औचित्य ।
सुविधा सम्पन्न स्थानहरुमा स्वास्थ्य शिविरहरु चल्छन् । त्यहाँ स्थानीय स्वास्थ्य संस्थाहरुबाट सेवा दिन नसकिने विशिष्ट प्रकृतिको र पहिचान भएका बिरामी संख्या ठूलो भएमा जस्तै आँखा जाँच र उपचार सेवा त्यस्तै पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँच । स्वास्थ्य शिविरहरुले निःशुल्क स्वास्थ्य जाँच र औषधी उपचारमात्र नभई चेतना पु¥याउने र अभिवृद्धि गर्ने अत्यन्त महत्वपूर्ण, शिक्षाप्रद ज्ञानको ज्योती जगाउने काम गर्नसक्छ । फेरि भन्नैपर्छ कि प्रयास सही समय र सही ठाउँमा गरिएको भए उद्देश्य प्राप्तिको पवित्र भावनाबाट अभिप्रेरित भएको होस् ।
उपलब्धीका लागि नभएर सस्तो लोकप्रियता वा केही गरिएको देखाउन पनि यस्ता उपक्रमहरु गरिन्छन् । तर, यस पटक जहाँको चर्चा गर्ने प्रयास गरिएको छ, अतिशयोक्तिपूर्ण प्रचार भन्नेहरुको लागि कम्तिमा भए पनि उपलब्धीमूलक भएको ठानेर राष्ट्रिय सञ्चारमा ठाउँ पाएको हुनसक्छ । कुनै आग्रहपूर्ण अभिव्यक्तिको जवाफ दिन सफल भएको ठान्न सकिन्छ । यो कसैका विरुद्धमा गरिने कर्म नहुने भएकोले कुनै प्रकारको आग्रह राख्न आवश्यक हुँदैन ।
जसले केही थोरै भए पनि राम्रो कामको सुरुवात गरेको छ त्यसलाई अझ नयाँ आयामहरु थप्दै जान प्रोत्साहित गर्नु पर्ने हुन्छ । राजनीति नगरिकन गर्नलाई पनि अवसर नभएको होइन, समाजसेवाको अनेकौँ पक्षहरु छन् जसलाई अरुले सिकाएको हामीले सिक्यौँ तर आफै प्रयत्न गर्ने स्वविवेक प्रयोग गरेनौ भन्ने थुप्रै विदेशी सहायता कोषहरुको दुरुपयोगले नङ्ग्याएको छ । समाजसेवाको दुर्गन्धयुक्त बाछिटाहरु धोएर सफा गर्न आफ्नै विवेकले स्वयम् परिचालित हुनु पर्ने चुनौतीपूर्ण घडीमा हामी छौँ । सबैलाई चेतना रहोस् ।