Goraksha

National Daily

शिक्षण सिकाइमा एआईको प्रयोगको व्यवहारिकता

यादव गिरी
२१औँ शताब्दी सूचना प्रविधिको युग हो । प्रविधिको विकासले जीवनका हरेक पक्षमा आमूल परिवर्तन ल्याएको छ । शिक्षा, जुन समाज विकासको मेरुदण्ड हो, त्यो पनि यो परिवर्तनबाट अछुतो रहन सकेन । विशेष गरी, कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को आगमनले शिक्षण सिकाइको ढाँचामा क्रान्तिकारी परिवर्तन ल्याउने संकेत देखिएको छ ।

मानव सभ्यताको विकाससँगै शिक्षाको स्वरुप पनि परिवर्तन हुँदै आएको छ । प्राचीन गुरुकुल प्रणालीदेखि आधुनिक डिजिटल शिक्षणसम्मको यात्रामा आज हामी यस्तो चरणमा छौँ, जहाँ शिक्षण सिकाइले AI को साथ पाउन थालेको छ । शिक्षण पद्धतिमा एआईको प्रवेशले परम्परागत पद्धतिलाई मात्र चुनौती दिएको छैन, यसले व्यक्तिगत, लचिलो, सुलभ र प्रभावकारी सिकाइ प्रणालीको ढोका पनि खोलिदिएको छ ।

विशेषगरी कोरोना महामारीपछिको समयले शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउने अपरिहार्यता झनै बढाएको छ । यस्तो अवस्थामा एआईलाई व्यवहारिक रुपमा शिक्षण सिकाइमा कसरी प्रयोग गर्न सकिन्छ, यसको सम्भावना, चुनौती र नेपालजस्तो विकासोन्मुख मुलुकमा यसको सार्थकता कति छ भन्ने प्रश्नहरु आजका सन्दर्भमा झनै सान्दर्भिक छन् ।

एआई भन्नाले यस्तो प्रविधि बुझिन्छ, जसले मानवजस्तै सोच्ने, विश्लेषण गर्ने, सिक्ने, र निर्णय गर्ने क्षमता राख्दछ । हालका वर्षहरुमा शिक्षण सिकाइ प्रक्रियामा एआईको प्रयोग उल्लेखनीय रुपमा बढेको छ । तर, यस प्रविधिको व्यवहारिकता कति छ ? यो प्रविधि नेपालजस्तो विकासोन्मुख देशमा कसरी प्रयोग गर्न सकिन्छ ? यसले शिक्षामा के सम्भावना र चुनौतीहरु ल्याउँछ ? यी प्रश्नहरुको समग्र उत्तर खोज्न यो लेख तयार पारिएको हो ।

एआई र यसको कार्यप्रणाली

कृत्रिम बुद्धिमत्ता भन्नाले कम्प्युटर प्रणालीलाई मानवजस्तै सोच्ने, सिक्ने, निर्णय गर्ने र समस्याको समाधान गर्ने क्षमता प्रदान गर्ने प्रविधिलाई जनाइन्छ । सामान्यतया, यसमा मेसिन लर्निङ, डीप लर्निङ, प्राकृतिक भाषा प्रशोधन (Natural Language Processing), कम्प्युटर भिजन, र रोबोटिक्स जस्ता प्रविधिहरु समावेश हुन्छन् । एआई प्रविधि यस्ता प्रणाली वा अनुप्रयोग निर्माणमा केन्द्रित हुन्छ, जसले विगतको डाटा र अनुभवबाट नयाँ कुरा सिक्न सक्छ र स्वतन्त्र निर्णय लिन सक्छ । ठीक त्यस्तै जसरी मानिसहरु सिक्दछन् र काम गर्दछन् ।
एआईले विभिन्न इनपुट (डाटा) को आधारमा निर्णय लिन सक्षम प्रणाली निर्माण गर्छ । शिक्षण सिकाइको सन्दर्भमा भने एआईले विद्यार्थीको सिकाइ प्रवृत्ति, गति, कमजोरी, रुचि आदि बुझेको आधारमा अनुकूल (personalized) सामाग्री प्रस्ताव गर्नससक्छ ।

शिक्षण सिकाइमा एआई प्रयोग हुने प्रमुख क्षेत्रहरु

कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोग शिक्षण सिकाइ प्रक्रियामा बहुआयामिक ढंगले भइरहेको छ । सबैभन्दा उल्लेखनीय पक्ष व्यक्तिगत सिकाइ (Personalized Learning) हो, जहाँ एआईले प्रत्येक विद्यार्थीको अघिल्लो सिकाइगत क्रियाकलाप, मूल्यांकन, उत्तर लेखनशैली, र प्रगतिको गति विश्लेषण गरी अनुकूल सिकाइ सामग्री, अभ्यास र मूल्यांकन प्रक्रिया निर्धारण गर्दछ । यसले विद्यार्थीको विशिष्ट आवश्यकतालाई सम्बोधन गर्न सक्ने शिक्षा प्रवाह सम्भव बनाउँछ ।

Khan Academy, Coursera, भमह लगायतका प्लेटफर्महरुमा प्रयोग हुने यस्तो प्रविधिबाट विद्यार्थीलाई तिनको क्षमताअनुसार सिक्न सहयोग गरिन्छ । अर्कोतर्फ, आभासी ट्यूटर र च्याटबोटहरु (जस्तै ChatGPT, Google Assistant, IBM Watson Tutor) ले शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीलाई जिज्ञासा समाधान, गृहकार्य सहयोग र अध्ययन मार्गदर्शन प्रदान गर्न सक्छन् । यसले शिक्षण प्रक्रियालाई समय र स्थानमा लचिलो बनाउँदै, निरन्तर सिकाइ सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

त्यस्तै, मूल्यांकन र फिडब्याक प्रणालीमा एआईले परीक्षाफलको विश्लेषण, उत्तर मूल्यांकन, कमजोरी पहिचान तथा सुधारात्मक सुझावहरु दिने कार्य प्रभावकारी बनाएको छ, जसले शिक्षकको समयको बचत मात्र गर्दैन, शिक्षाको पारदर्शिता र गुणस्तरमा समेत सुधार ल्याउँछ । शिक्षा सामग्री निर्माणमा पनि एआईले क्रान्तिकारी परिवर्तन ल्याएको छ (पाठ्यक्रमअ नुसार स्वतः पावरप्वाइन्ट, भिडियो, क्विज, व्याख्यात्मक सामग्रीहरु निर्माण गर्न सकिन्छ, जसले शिक्षकको सिर्जनात्मकता अभिवृद्धि गर्न मद्धत गर्छ ।

समावेशी शिक्षाको प्रवद्र्धनमा दृष्टिविहीन, श्रवणविहीन वा अन्य शारीरिक चुनौती भएका विद्यार्थीहरुका लागि Text-to-Speech, Voice Recognition, Braille Interface जस्ता एआई टूलहरुको प्रयोग शिक्षामा पहुँच वृद्धि गर्न सहायक भएको छ । साथै, Natural Language Processing (NLP) आधारित प्रणालीहरु प्रयोग गरेर Nepali, Maithili, Tharu, Tamang, Limbu लगायत भाषाहरुमा समान शैक्षिक सामग्री वितरण सम्भव भएकाले बहुभाषिक शिक्षणलाई सहज बनाइएको छ । शिक्षकको लागि पनि पाठ योजना निर्माण, समय व्यवस्थापन, र विद्यार्थीको प्रगति ट्र्याक गर्न Learning Management System (LMS) जस्ता एआई उपकरणहरु उपयोगी बनेका छन्, जसले शिक्षण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने दिशामा मार्ग प्रशस्त गरेको छ । साथैे सिकाइको गुणस्तर निर्माणमा एक नवीन आयाम प्रदान गरेको छ ।

शिक्षामा एआईको व्यवहारिक पक्ष

शिक्षाको क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग केवल सैद्धान्तिक होइन, अत्यन्त व्यवहारिक र परिणाममुखी भएको प्रमाणित हुँदै गइरहेको छ । यस प्रविधिले शिक्षकहरुको कार्यभारलाई उल्लेखनीय रुपमा कम गर्नुका साथै मूल्यांकन, फिडब्याक तथा पठन सामग्री निर्माण जस्ता कार्यहरु स्वचालित रुपमा सम्पन्न गर्ने सामथ्र्य राख्दछ ।

फलस्वरुप, समय तथा स्रोतको उल्लेख्य बचत हुनेगर्छ । साथै, व्यक्तिगत ध्यानद्वारा आधारित त्रुटिरहित मूल्यांकन र नियमित फिडब्याकका माध्यमबाट शिक्षण प्रक्रियाको गुणस्तरमा उल्लेखनीय सुधार आउने सम्भावना देखिन्छ । शिक्षार्थीले आफूअनुसारको गति र क्षमताका आधारमा अध्ययन गर्न पाउँदा उनीहरुको आत्मविश्वास र सिकाइको क्षमता पनि वृद्धि हुन जान्छ । यसरी एआई प्रविधिले शिक्षणलाई मात्र नभई सिकाइको प्रकृतिलाई समेत बढी प्रभावकारी र उद्देश्यपरक बनाएको छ ।

कृत्रिम बुद्धिमत्ताले शिक्षालाई समावेशी, लचिलो र पहुँचयोग्य बनाउँदै लैजानु यसको अर्को व्यवहारिक पक्ष हो । एआई प्रणाली इन्टरनेटको माध्यमबाट देशको जुनसुकै कुनामा सहज रुपमा उपलब्ध गराउन सकिने भएकाले दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई पनि गुणस्तरीय शिक्षामा पहुँच दिलाउन मद्दत पुगेको छ । यस्ता विद्यार्थीले शहरी सुविधा प्राप्त विद्यार्थीसरह सिक्ने अवसर प्राप्त गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

यसका अतिरिक्त, शिक्षणमा लचिलोपनको विकासले विद्यार्थीलाई आफू अनुकूल समय, रुचि र आवश्यकताको आधारमा अध्ययन गर्ने स्वतन्त्रता प्रदान गर्दछ, जसले मानसिक दबाब कम गर्छ र सिकाइको प्रभावकारिता बढाउँछ । यी सबै पक्षहरुले स्पष्ट संकेत गर्छन् कि शिक्षाको क्षेत्रमा एआईको प्रयोग व्यवहारिक मात्र नभई आवश्यक र अपरिहार्य बन्ने दिशामा अग्रसर छ ।

नेपालमा एआई को प्रयोग, चुनौती र समाधान

नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग शिक्षाको क्षेत्रमा क्रमशः अघि बढिरहेको भए पनि यो अझै प्रारम्भिक चरणमै सीमित छ । केही अग्रणी निजी विद्यालय र विश्वविद्यालयहरुले मूल्यांकन, सामग्री निर्माण तथा अनलाइन शिक्षामा एआई आधारित टूलहरुको प्रयोग गर्न थालेका छन् । तर सरकारी विद्यालय तथा नीतिगत तहमा यसको प्रयोग न्यून र अनौपचारिक देखिन्छ ।

यद्यपि, सरकारद्वारा अघि सारिएको ूडिजिटल नेपाल फ्रेमवर्कू, कम्प्युटर एन्ड इन्टरनेट बेस्ड एजुकेशन प्रोग्रामू, तथा अनलाइन शिक्षा प्रवद्र्धन कार्यक्रमू जस्ता पहलहरुले भविष्यमा एआई शिक्षाको सम्भावनालाई आधार प्रदान गर्न सक्छन् । डिजिटल प्रविधिमा पहुँच बढ्दै गएको, विद्यार्थी तथा शिक्षकहरुको प्रविधिप्रति आकर्षण बढिरहेको, र निजी क्षेत्र शिक्षामा लगानी गर्न इच्छुक देखिएको वर्तमान परिवेशले एआईलाई शिक्षाको अभिन्न हिस्सा बनाउन सक्ने सम्भावना बढाएको छ ।

यस सन्दर्भमा केही यथार्थपरक चुनौतीहरु पनि विद्यमान छन्, जसको सम्बोधन नगरी एआई शिक्षाको व्यापक विस्तार सम्भव छैन । प्रमुख चुनौतीमध्ये ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्युतीय पूर्वाधारको अभाव, इन्टरनेट पहुँचको सीमितता तथा डिजिटल उपकरणहरुको न्यून उपलब्धता उल्लेखनीय छन् । त्यस्तै, शिक्षकहरुमा आवश्यक डिजिटल सिप र एआई टूलहरु प्रयोग गर्ने दक्षताको कमीले शिक्षण प्रक्रियामा अवरोध सिर्जना गरेको छ ।

अधिकांश एआई शिक्षण सामग्रीहरु अंग्रेजी भाषामा सीमित हुँदा नेपाली तथा अन्य स्थानीय भाषाभाषी विद्यार्थीहरु सिकाइबाट वञ्चित भइरहेका छन् । साथै, विद्यार्थीको व्यक्तिगत डाटा गोपनीयता, एआई प्रणालीको पारदर्शिता, र अत्यधिक निर्भरताबाट सिर्जनात्मक क्षमतामा आउने ह्रासजस्ता नैतिक पक्षहरुमा पनि सावधानी आवश्यक छ ।

यी चुनौतीहरुको दीर्घकालीन समाधानका लागि नीति निर्माण, स्रोत व्यवस्थापन र संस्थागत समन्वय अपरिहार्य छन् । शिक्षा मन्त्रालयले शिक्षामा एआईको उपयोगका लागि स्पष्ट कार्यनीति तयार पारेर त्यसको प्रभावकारी कार्यान्वयन र निगरानी गर्ने संयन्त्र स्थापना गर्नुपर्छ । सम्पूर्ण शिक्षकहरुलाई आधारभूत डिजिटल साक्षरतादेखि लिएर एआई टूलहरुको प्रयोग सम्बन्धी व्यवहारिक तालिम अनिवार्य बनाइनु पर्छ । साथै, बहुभाषिक शिक्षा प्रवद्र्धन गर्न नेपाली, मैथिली, तामाङ, थारु लगायत भाषामा एआई टूलहरु र पाठ्यसामग्री विकास गर्न स्थानीय प्रविधिकर्मीहरुलाई राज्यले प्रोत्साहन दिनुपर्छ ।

प्रविधि कम्पनी र शैक्षिक संस्थाहरुबीच सार्वजनिक निजी सहकार्यलाई मजबुत बनाएर नवप्रवर्तनशील शिक्षण टूलहरु उत्पादन गरिनु आवश्यक छ । साथै, विद्यार्थीको व्यक्तिगत सूचना सुरक्षित राख्न कडा डाटा सुरक्षा नीति बनाइनु अपरिहार्य छ ।

अन्ततः, शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ताको समुचित प्रयोगले शिक्षालाई अधिक गुणस्तरीय, समावेशी र आधुनिक बनाउन सक्ने सम्भावना प्रस्ट देखिन्छ । एआई शिक्षकको विकल्प होइन, बरु एक सशक्त सहयोगी हो, जसले विद्यार्थीलाई केन्द्रित सिकाइमा लैजाने कार्यमा टेवा पु¥याउँछ ।

नेपालले यथोचित नीति निर्माण, पूर्वाधार विस्तार, शिक्षक तालिम तथा सामग्री विकासमा दीर्घकालीन लगानी गर्न सकेमा डिजिटल शिक्षाको सपना साकार हुन सक्नेछ । अबको आवश्यकता भनेको एआईको उपयोग विवेकपूर्ण, उद्देश्यपरक र सामाजिक सन्दर्भमा सान्दर्भिक हुनेगरी गर्नु हो– जसले मात्र नेपालको शिक्षामा दिगो र प्रभावकारी परिवर्तन सम्भव बनाउनेछ ।