प्रिया स्मृती गजमेर
देउखुरी, २५ जेठ । आयुर्वेदिक सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । लमही नगरपालिका अन्तर्गत सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रमार्फत् चालु आर्थिक वर्षको साढे १० महिनामा पाँच हजार बढी नागरिकले सेवा लिएका छन् ।
पछिल्लो समय मानिसहरू आयुर्वेदिक औषधी र प्राकृतिक उपचारतर्फ आकर्षित हुँदै गएका छन् । केन्द्रमा स्वास्थ्य परामर्श, नियमित स्वास्थ्य परीक्षण, अम्लपित्त, वाथ, युरिक एसिड, पायल्स, फिसर, फिस्टुला, मधुमेह, पिलिया (जन्डिस), रक्तचाप, दम, छालाका एलर्जी(चिलाउने), नसासम्बन्धी तथा आन्द्रासम्बन्धी विविध रोगहरूको उपचार सेवा दिइँदै आएको छ ।
सेवा केन्द्रकी प्रमुख सरिता खनालका अनुसार यस वर्ष सेवाग्राहीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । उनले भनिन्, ‘पछिल्लो वर्षको तुलनामा यस वर्ष स्वास्थ्य सेवा लिन आउनेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । सुलभ, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउँदा नागरिकको विश्वास बढेको देखिन्छ ।’ गत वर्ष तीन हजार जनाले मात्र सेवा लिएका थिए । खनालका अनुसार महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ ।
नियमित जाँच, निःशुल्क औषधी वितरण तथा रोग प्रतिरोधात्मक कार्यक्रमले सेवाग्राहीको सङ्ख्या बढ्नमा मद्दत पुगेको प्रमुख खनाल बताउँछिन् । लमही नगरपालिकाले समुदाय स्तरमै प्रभावकारी आयुर्वेदिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको हो । अहिले पूर्वाधार विस्तार र सेवास्तरलाई बढाउने योजना अघि सारेको छ । नगर प्रमुख जोगराज चौधरीले सेवा केन्द्रद्वारा उत्पादित आयुर्वेदिक औषधीको प्रशंसा गर्दै सर्वसाधारणलाई प्रयोग गर्न आग्रह गरेका छन् ।
स्थानीय जडिबुटीको प्रयोग गरेर उत्पादन गरेको औषधीले फाइदा गर्ने भन्दै नगर प्रमुख चौधरीले भने, ‘नागरिक आरोग्य केन्द्रको औषधी मैले निरन्तर प्रयोग गर्दै आएको छु । यसले मलाई धेरै फाइदा गरेको महसुस भएको छ । तपाईँहरू पनि आयुर्वेदिक औषधी प्रयोग गर्नुहोस् र निरोगी बन्नुहोस् ।’
उनले आफ्नो व्यक्तिगत अनुभवले आयुर्वेदिक औषधीप्रति विश्वास थप बलियो बनाएको भन्दै प्राकृतिक उपचार प्रणालीले दीर्घकालीन रूपमा स्वास्थ्यमा सकारात्मक असर पार्ने भएकाले नगरबासीलाई प्रयोग गर्न आग्रह गरेका थिए । नागरिक आरोग्य केन्द्रले प्राकृतिक वनस्पतिबाट तयार पारिएका औषधीहरू वितरण गर्दै आएको छ । स्थानीयवासीले सेवा केन्द्रबाट सहज र समयमै उपचार सेवा पाएकोमा सन्तुष्टि व्यक्त गरेका छन् ।
लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित लमही नगरपालिका–५ का रामलखन चौधरीले प्राकृतिक उपचारबाट स्वास्थ्यमा सुधार भएको बताउँछन् । उनका अनुसार वर्षौँसम्म विभिन्न रोगसँग सङ्घर्ष गर्दै आएका थिए । महङ्गा औषधी र अस्पतालको उपचार प्रक्रियाबाट थाकेर अन्ततः वैकल्पिक उपचारको बाटो रोजेको र त्यसले राम्रो गरेको बताए । ‘म धेरै वर्षदेखि पेट र जोर्नीको समस्याबाट पीडित थिएँ’, उनले भने, ‘जब मैले लमहीमै रहेको नागरिक आरोग्य सेवा केन्द्रको औषधी प्रयोग गर्न थालेँ अहिले मेरो स्वास्थ्यमा सुधार भएको छ ।’