क्याम्पसको विकासका लागि सबैको सहयोग आवश्यक

गोरक्ष समाचारदाता
दाङ, २५ जेठ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ क्याम्पसले आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर डाँगीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवम् घोराही–१० का अध्यक्ष दिपक पाण्डेयको विशिष्ट आतिथ्यतामा शनिवार भएको वार्षिकोत्सव कार्यक्रममा बोल्ने वक्ताले दाङको मध्य क्षेत्रमा रहेको सिद्धरत्ननाथ क्याम्पसले शैक्षिक, भौतिक विकास तथा दक्ष जनशक्ति उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए ।

सहरी क्षेत्र भए पनि उच्च शिक्षा अध्ययनका लागि नारायणपुर क्षेत्रका विद्यार्थीलाई घोराही वा अनेत्र जानुपर्ने बाध्यता रहेको समयमा क्याम्पस स्थापना भएर छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई अब्बल बनाउन सफल भएको बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले नगरले गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि शिक्षाका क्षेत्रमा लगानी गर्दै आएको बताए । शिक्षालाई राज्यका तिन तहका सरकारले छुट्याएर लगानी गरिरहेको समयमा घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्रभन्दा बाहिर रहेपनि नारायणपुर क्षेत्रमा उच्च शिक्षाको विकासका लागि सिद्धरत्ननाथ क्याम्पसलाई समेत सहयोग गर्दै आएको र यो आगामी दिनमा समेत रहने बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका–१० का अध्यक्ष दिपक पाण्डेयले छोटो समयमा क्याम्पसले गरेको प्रगतिको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीलाई अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी लाग्न अनुरोध गरेका थिए । उनले भविष्यमा योग्य र सक्षम नागरिक उत्पादनका लागि आफ्नो क्याम्पसलाई निरन्तर सहयोग रहने बताए ।

वार्षिकोत्सवका अवसरमा त्रिविका प्रतिनिधि तीर्थराज न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, सिद्धरत्ननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक उत्तम खनाल, सिद्धरत्ननाथ क्याम्पस स्ववियु सभापति मनोज केसी, घोराही उपमहानगरपालिका–१४ का पूर्व अध्यक्ष शक्तिराम डाँगी, नेकपा माओवादी केन्द्रका नेता मिलन डाँगी, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार बस्नेत, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कुलप्रसाद रजौरे, सिद्धरत्ननाथ क्याम्पस प्राध्यापक अभिभावक संघका अध्यक्ष दिपक श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा क्याम्पसमा स्थापना गरिएका तीनवटा अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस अवसरमा क्याम्पस स्थापनाकालदेखि निरन्तर पढाएर सहयोग गर्ने उपप्राध्यापक राजेन्द्र गौतम, यशोदा गौतम, क्याम्पसमा एक वर्षसम्म निःशुल्क पढाएर सहयोग गर्ने प्राध्यापक प्रियब्रत आचार्यलाई सम्मान गरिएको थियो ।

तुलसीपुरमा रहेको नोभेक्स कलेज र सिद्धरत्ननाथ क्याम्पसलाई मर्ज गराउनेदेखि पुस्तकालय स्थापनामा सहयोग गर्ने कमल सापकोटा, अक्षकोषदाता, वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएका खेलकुद कार्यक्रमका विजेतालाई पुरस्कृत गरिएको थियो । २०६९ सालमा स्थापना भएको सामुदायिक क्याम्पसमा हाल ३८१ जना विद्यार्थी अध्ययनरत छन् ।

क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायमा पढाइ हुने गरेको छ । वार्षिकोत्सवमा क्याम्पस प्रमुख दिपक लामिछानेले क्याम्पसको प्रगति विवरण तथा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष सुशीला शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष टोपबहादुर केसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख दामोदर गिरीले गरेका थिए ।