दाङ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन बन्ने भएको छ । प्रतिष्ठानको अस्पताल भवन निर्माणका लागि आगामी आर्थिक बर्ष २०८२÷०८३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ७० करोड रुपैयाँ बजेट बिनियोजन गरिदिएपछि अस्पताल भवन निर्माणको बाटो खेलेको हो ।
चार सय बेडको अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ९६ अर्बको बजेट सिलिङभित्र पारेर प्रतिष्ठानका लागि ७० करोड रुपैयाँ विनियोजन गरिदिनुभएको हो । अस्पताल भवन निर्माणका लागि मन्त्रालयसँग स्वीकृतिसँगै आगामी वर्षका लागि बजेटको स्रोत सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया थाल्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको ट्राफिक चोकमा रहेको करिब दुई बिघा जग्गामा अस्पताल भवन निर्माण हुने भएको छ ।
प्रतिष्ठानले अहिले शैक्षिक कार्यक्रम अन्तर्गत एमबिबिएस, बिएसी नर्सिङ, बिएनएस कक्षालगायतका विषयमा अध्यापन गराउँदै आएको छ । प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्नका लागि चार सय बेडको अस्पताल आवश्यक भए पनि अहिले प्रतिष्ठानले तीन सय २२ बेडबाट सेवा दिदै आएको छ र विद्यार्थीले त्यही आफ्नो प्रयोगात्मक अध्ययन गर्दै आएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि बजेट बिनियोजन गरेर सहयोग गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललगायत मन्त्रीहरु, दाङबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु, नेताहरुलगायत सम्पूर्ण सरोकारवाला निकायलाई नेपाली कांग्रेस दाङले धन्यावाद ज्ञापन गरेको छ ।
अस्पताल भवन निर्माणसँगै समग्र विकासका लागि कांग्रेस दाङले आग्रह गरेको र मन्त्री स्वयमले प्रतिष्ठानको निरीक्षणका क्रममा बजेट बिनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे अनुसार बजेटको व्यवस्था गरिदिएकोमा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले सवैमा धन्यावाद ज्ञापन गर्नुभएको हो ।