कांग्रेस र व्यवसायीबीच अन्तरक्रिया

घोराही, २४ जेठ । नेपाली कांग्रेस पार्टी र व्यवसायीविचको सम्वन्धलाई बलियो बनाउनका लागि नियमित छलफल र अन्तरक्रिया हुुनुपर्ने सहभागीले जोड दिएका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं २(१) ले शनिवार घोराहीमा आयोजना गरेको पार्टी र व्यवसायीबीचको अन्तर सम्वध बिचार बिमर्श एवं अन्तरक्रिया कार्यक्रमका सहभागीले पार्टी र व्यवसायीबीच विश्वास बढाउँदै व्यवसाय क्षेत्रको समृद्धिका लागि नियमित छलफल र संवादमा ध्यानदिनुपर्ने बताएका थिए ।

सहभागीले गतबर्ष स्थानीय तहले मनोमानी ढंगले कर वृद्धि गरेका कारण व्यवसायीहरू मर्कामा परेकाले यो बर्ष ध्यानदिनुपर्ने, विभिन्न समयमा सुनचादी व्यवसायी, भाँडा व्यवसायीहरुलाई कानुनी प्रक्रियाका कारण सामग्री खरिद गर्दा समस्या पर्ने गरेको भन्दै कानुनी प्रक्रियालाई सहज बनाउनका लागि पार्टीले भूमिका खेल्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं २ (१) का सभापति प्रकाश श्रेष्ठको सभापतित्व एवं घोराहीका पुराना व्यवसायी रामचन्द्र गुप्ता बानियाँको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि बमबहादुर डिसीले ‘पार्टी र व्यवसायीबीचको अन्तरसम्बन्ध’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, कांग्रेस क्षेत्र नं २ का सचिव आर.के. शितल, नेपाली कांग्रेस क्षेत्र नं. २ का सल्लाहकार तथा व्यवसायी खड्का बुढाथोकी, कांग्रेस घोराही नगर सभापति तिलक रावत, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोशी, चेम्बर अफ कमर्स घोराहीका अध्यक्ष दुर्लभ केसी, सिलाई व्यवसायी समिति घोराहीका अध्यक्ष लीला नेपाली, प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष मानु केसी, व्यवसायी दामोदर बुढाथोकी, विष्णुप्रसाद गुप्तालगायतले व्यवसायीले भोगेका समस्या राख्दै समाधानका लागि पार्टीले पहल गर्न सके कांग्रेसप्रति व्यवसायीको विश्वास बढ्ने बताएका थिए ।

कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. २ (१) का कार्यसमिति सदस्य पुरुषोत्तम शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालनसचिव शिशिर अधिकारीले गरेका थिए ।