बालाराम खड्का
तुलसीपुर, २१ बैशाख । लकडाउनसँगै नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित आँखा अस्पतालहरुले दिँदै आएको आँखा स्वास्थ्य सेवामा प्रभाव परेको छ । लकडाउनका कारण अस्पतालमा विरामीहरु सेवा लिन आउन सकेका छैनन् । कोभिड –१९ कोरोना भाइरसको महामारीसँगै आँखा अस्पतालमा सेवा लिन आउने आँखाका विरामीको संख्या न्यून भएको हो ।
दैनिक सयौँ संख्यामा ओपिडी र मोतियाविन्दुलगायतको शल्यक्रिया हुँदै आएका आँखा अस्पतालमा हाल भने आकस्मिक सेवा र अत्यावश्यक शल्यक्रिया मात्र भइरहेको अस्पताल प्रशासनले जनाएको छ । चैत ११ गतेदेखि गरिएको लकडाउनपश्चात संघले सञ्चालन गरेको राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा सेवा लिन आउने विरामीहरुको संख्या न्यून रहेको अस्पताल प्रशासनले जनाएको छ । यस अघि विरामी अस्पतालमा धेरै आउने र अस्पताल सञ्चालनका लागि आवश्यक स्रोत पनि संकलन हुने गरेको थियो । यस अघिका दिनमा बहादुरगञ्जमा दैनिक ७ सयदेखि ८ सय जना आँखाका विरामीले ओपिडी सेवा र सयौँले मोतियाविन्दुको शल्यक्रिया गर्ने गरेका थिए । तर लकडाउनसँगै कोरोनाको जोखिमका कारण शल्यक्रिया रोकिएको छ भने करिब एक महिनाको अवधिमा ४ सय विरामीले मात्र सेवा लिएका छन् ।
त्यस्तै लमही आँखा अस्पतालमा पनि दैनिक २ सय ५० बढीले सेवा लिने गरेका थिए भने लकडाउन अवधिभर करिब ६ सय बढी सेवाग्राहीले आकस्मिक सेवा पाएका छन् । त्यस्तै दैनिक ४ सय बढी सेवाग्राहीलाई ओपिडी सेवा दिँदै आएको राप्ती आँखा अस्पतालले लकडाउनको यो अवधिमा एक हजार बढीलाई मात्र आँखा स्वास्थ्य सेवा दिएको छ । लकडाउन अवधिभर तीनवटै अस्पतालले आकस्मिक सेवा वाहेक शल्यक्रियाका साथै अन्य सेवाका लागि अस्पतालले लकडाउन हटेपछि मात्र आउन अनुरोध गरेको छ ।
अत्यावश्यक, आकस्मिक र अस्पतालमा आएका विरामीहरुलाई भने स्वास्थ्य सजकता अपनाएर सेवा दिइरहेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए । ‘लकडाउनकासँगै आकस्मिक सेवा दैनिक दिँदै आएका छौं, अन्य विरामीलाई भने लकडाउन हटेपछि आउन अनुरोध गरेका छौँ’–वरिष्ठ प्रशासकीय अधिकृत थापाले भने ।
यसैबीच नेपाल नेत्रज्योति संघ, आँखा अस्पताल व्यवस्थापन समितिले लकडाउनका कारण अस्पतालमा पनि असर देखिएको जनाएको छ । संघले सञ्चालन गरेको अस्पतालमा लकडाउनका कारण विरामीहरु न्यून आउने गरेको र अस्पतालले सञ्चालन गरेको आँखा स्वास्थ्य सेवा पनि प्रभावित भएको संघका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए । ‘दैनिक सेवा सञ्चालनका लागि नेपाल सरकारबाट हामीलाई सहयोग छैन, आँखा स्वास्थ्य सेवा सञ्चालनका लागि सेवाग्राहीबाट प्राप्त स्रोतहरु परिचाल गरेर सेवा दिँदै आएको छौँ’– उनले भने । उनले लकडाउनको कारणले आर्थिक कठिनाई उत्पन्न हुने परिस्थिति आइरहेको बताए ।
‘लकडाउनसँगै हामीहरुलाई पनि समस्या उत्पन्न भएको छ, आँखा स्वास्थ्य सेवालाई कसरी प्रभावकारी रुपले सञ्चालन गर्न सकिन्छ भन्नेर निरन्तर छलफलमा छौँ’–गिरी भने । स्थानीय निकाय, प्रदेश सरकार, दातृ निकायहरुको सहयोग पनि यो अवस्था आवश्यकता रहेको उनको भनाई छ । कोरोना भाइरसको संक्रमणसँगै आफूहरुले वाह्य कार्यक्रमहरु केही समयका लागि सबै स्थगित गरेको जानकारी दिए ।
लकडाउनको समयमा आँखा तथा कान सेवाका लागि अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने सेवाग्रहीहरुलाई सेवामा खटिने चिकित्सक, प्राविधिकहरु तथा अस्पतालको नियमित सरसफाईमा खटिने कर्मचारीहरुलाई अनिवार्य पिपिई प्रयोग गर्न तथा आवश्यक सुरक्षा अपनाउन, सामाजिक दुरी कायम गरी सेवा प्रवाह गर्न लगाएको गिरीले बताए ।
गिरीले अस्पतालमा कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न हेल्प डेक्स स्थापना, पिपिई प्रयोग, आवश्यक कर्मचारीलाई सचेतनामूलक तालिम दिनुका साथै कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न ३ वटै अस्पतालमा विपद् व्यवस्थापन समितिहरु गठन गरी विभिन्न कार्यक्र अगाडि बढाएको बताए । उनले कोभिड –१९ अन्तर्गत एनएबिपी नर्वेको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघअन्तर्गत तुलसीपुर उपमहानगपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका र कृष्णनगर नगरपालिकाको राहत कोषमा ७५ हजार रुपैयाँका दरले तीन लाख बरारबरको खाद्यान सहयोग प्रदान गरिएको समेत गिरीले बताए ।