घोराहीका शैक्षिक गतिविधि स्थगित

अमरराज आचार्य
दाङ, २२ बैशाख । घोराही उपमहानगरपालिकाले आप्mनो मातहतका सम्पूर्ण विद्यालयहरुमा नतिजा प्रकाशन तथा विद्यालय भर्ना अभियान रोकेको छ । घोराही उपमहानगरपालिका स्तरीय परीक्षा समितिले यस्तो निर्णय गरेको हो । संघीय सरकारले गरेको लकडाउन घोषणाको अवधि रहेसम्म वा अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण कार्य रोकिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

यस अवधिमा नतिजा प्रकाशन, विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक व्यवस्थापनलगायतका सम्पूर्ण कार्य रोकिने घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए । ‘दाङ पनि कोरोना भाइरसको जोखिममा रहेकाले यस प्रकारको निर्णय गरिएको हो’–शाखा अधिकृत पौडेलले भने । परीक्षा समितिको यो निर्णयसँगै नगरभित्रका सम्पूर्ण विद्यालयहरुमा सम्पूर्ण शैक्षिक गतिविधि रोकिने छन् । तर शिक्षकहरुले सुरक्षित रुपमा नतिजा प्रकाशनको काम अगाडि बढाउने बताएका छन् । लकडाउन खुलेको एक हप्ताभित्रै नतिजा प्रकाशन गर्ने गरेर तयारी गरिएको समेत पौडेलको भनाई छ ।

घोराही उपमहानगरमा रहेका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुले हालसम्म कुनै पनि कक्षाको नतिजा प्रकाशन गरेका छैन । नेपालगञ्चमा कोरोना संक्रमितहरु धेरै देखापरेपछि त्यसको प्रभाव दाङमा पनि परेको छ । यसैकारणले पनि जिल्लाका स्थानीय तहहरुले शैक्षिक गतिविधि रोक्न थालेका हुन् ।

उता तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयहरुले नतिजा प्रकाशन गरिसकेको नगर शिक्षाका शाखा अधिकृत चक्र भण्डारीले जानकारी दिए । नतिजा प्रशासनपछि कतिपय विद्यालयहरुले विद्यालय भर्ना अभियान समेत थालेको उनको भनाई रहेको छ ।

विद्यालयहरु प्रविधिको प्रयोग गरेर टेलिफोन, म्यासेजबाट विद्यालय भर्ना सुरु गरेको पाइएको छ’ उनले भने– ‘तर, भर्ना अभियान नै भने सञ्चालन गरिएको छैन ।’ प्रदेश सरकारको निर्णयानुसार शैक्षिक गतिविधि अगाडि बढाइएको भए पनि पछिल्लो समयमा आएर दाङ पनि जोखिममा रहेकाले सबै गतिविधि रोक्ने कि भन्ने छलफल भइरहेको उनले जानकारी दिए । यस विषयमा परीक्षा समितिले छिट्टै आवश्यक निर्णय गर्ने शाखा अधिकृत भण्डारीले बताए । परीक्षा समितिको बैठक सम्भवतः मंगलवार बस्ने तयारी समेत गरिएको बताइएको छ ।
लमही नगरपालिकाले पनि भर्ना अभियानलगायतका गतिविधि रोक्ने नरोक्ने भन्ने बारेमा निर्णय गरी नसकेको जनाएको छ । नगरपालिकाले लिएको कक्षा ५ र ८ को नतिजा प्रशासन गरी सकिएको नगर शिक्षा प्रमुख रवीन्द्र क्षत्रीले जानकारी दिए । अधिकांश विद्यालयहरुले पनि नजिता प्रकाशन गरिसकेको र केही भने बाँकी हुनसक्ने उनको भनाई छ । प्रदेश सरकारको निर्णयानुसार काम अगाडि बढाइएको भए तापनि अहिले परिस्थिति फरक भएपछि कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल भइराखेको उनले बताए । ‘पछिल्लो समयलाई मध्यनजर राखेर छिट्टै बैठक बसेर निर्णय गरिने छ’–प्रमुख क्षत्रीले भने । यसरी निर्णय गर्दा अन्य स्थानीय तहहरुसँग पनि समन्वय गरिने उनले जनाए ।