विपद् पूर्वतयारीले क्षतिलाई घटाउँछ : मुख्यमन्त्री आचार्य

राप्ती नदीमा एकीकृत अभ्यास

प्रिया स्मृती गजमेर
देउखुरी, २४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी मनसुनमा हुनसक्ने प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वतयारीलाई तीव्र दिइने बताएका छन् । शुक्रवार लमही नगरपालिका– ६ मध्यनगरमा आयोजना गरिएको ‘लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार विपद् व्यवस्थापनमा सक्रिय र प्रतिबद्ध रहेको बताए ।

उनले बाढी, पहिरो, डुबानलगायतका मनसुनजन्य विपद्बाट जनधनको क्षति कम गर्न पूर्वतयारी अबिलम्ब सुरु गर्नुपर्ने बताए । स्थानीय स्रोत साधनको उपयोग गर्दै आधुनिक उपकरण र सामग्री व्यवस्थापनमा सरकार गम्भीर रहेको, तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धारका सामग्री उपलब्ध गराइने जानकारी दिए । ‘हामीले विपद् आउनु अघि नै आवश्यक योजना, पूर्वतयारी र समन्वयात्मक अभ्यासमार्फत् जोखिम न्यूनीकरण गर्नुपर्छ’, मुख्यमन्त्री आचार्यले भने, ‘सरकार, सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस, सामाजिक संस्थाहरू र नागरिक समाजको सहकार्य नै विपद् व्यवस्थापनको सफल उपाय हो ।’

मुख्यमन्त्री आचार्यले जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै, विपद्व्यवस्थापनलाई संस्थागत र प्रभावकारी बनाउन प्रदेश सरकारले दीर्घकालीन रणनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरे । विपद् व्यवस्थापन र प्रतिकार्यमा सुरक्षा निकायहरूको समन्वय र सहयोगले स्थानीय तहमा देखिने क्षतिको न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले बताए । लमहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले भने, ‘विपद्का बेला सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तीनवटै सुरक्षा निकायको तत्कालीन राप्ती नदीमा एकीकृत अभ्यास सक्रियता, समन्वय र सहयोगकै कारण हामीले ठुलो क्षतिबाट समुदायलाई जोगाउन सकेका छौँ ।’

उनका अनुसार, विगतका बाढी, पहिरो तथा आगलागी जस्ता घटनामा तीनवटै निकायको योगदान प्रशंसनीय रहँदै आएको छ । ‘हामी स्थानीय तहले एक्लै यस्तो जोखिम व्यवस्थापन गर्न सक्दैनौँ,जबसम्म सुरक्षा निकायहरूको प्रत्यक्ष साथ र समन्वय हुँदैन’, चौधरीले भने । नगर प्रमुख चौधरीले आगामी दिनमा लमही नगरभित्र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनालाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए । ‘हामी सबै सरोकारवालाको सहकार्यमा विपद्लाई न्यूनतम बनाउँदै जान चाहन्छौँ’, उनले भने । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै असर पर्ने देखिएको छ ।

अनुमान अनुसार लुम्बिनीमा एक लाख १९ हजार ३० घरधुरीका पाँच लाख २३ हजार छ सय ५६ जनसङ्ख्या प्रभावित हुने सम्भावना छ । गत १० वर्षको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा मनसुनजन्य विपद्का एक हजार छ सय १ वटा घटना घटेका छन् । ती घटनामा चार सय ५९ जनाको मृत्यु, छ सय १९ जना घाइते र ३२ जना बेपत्ता भएका छन् भने आठ हजार तीन सय १५ परिवार प्रभावित भएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेका अनुसार सबैभन्दा धेरै घटना २०८० सालमा दुई सय ९२ वटा र सबैभन्दा बढी मानवीय क्षति, ०७३ सालमा एक सय सात जनाको मृत्यु भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा बाढी, पहिरो र भारी वर्षाका कारण ५३ जनाको मृत्यु, ७० जना घाइते, नौ जना बेपत्ता र एक सय नौ परिवार प्रभावित भएका थिए ।

त्यसवेला करिब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । यस वर्ष लुम्बिनी प्रदेश मनसुनजन्य विपद्बाट बढी प्रभावित हुने प्रक्षेपण गरिएको भन्दै प्रदेश सरकारले तयारीलाई उच्च प्राथमिकतामा राखेको छ । कार्यक्रममा विभिन्न सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा जनप्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो । अभ्यासमार्फत् विपद्को समयमा सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रायोगिक प्रशिक्षणसमेत दिइएको थियो ।