भूतपूर्व सैनिक संघले मनायो ३५ औं स्थापना दिवस

देउखुरी, २४ जेठ । नेपाल भूतपूर्व सैनिक संघ दाङले आफ्नो ३५ औं स्थापना दिवसमा दीप प्रज्वलन गरेर मनाएको छ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र न १ को क्षेत्रीय पार्टी कार्यालय रातोडाडामा दीप प्रज्वलन गरेर मनाएको हो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस दाङका उपसभापति गिरिराज सुवेदीले पार्टी सुदृढीकरणमा भातृ संगठनहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । कुनै पनि राजनीतिक पार्टीको संस्थागत सुदृढता र जनस्तरसम्मको पहुँच विस्तारमा भातृ संघ–संस्थाहरूले खेलेको भूमिका अतुलनीय हुने उनको भनाई थियो ।

उपसभापति सुवेदीका अनुसार भूतपूर्व सैनिक संघ जस्ता संगठनहरूले पार्टीका विचार, नीतिहरू र कार्यक्रमलाई जनतासम्म पुर्‍याउने, जनताका भावना बुझ्ने तथा पार्टी र जनताको बीचमा पुलको काम गर्ने बताए।

नेपाली कांग्रेस महासमिति सदस्य गिरिजादेवी न्यौपानेले भूतपूर्व सैनिक संघका सदस्यहरूको अनुशासन, कर्तव्यबोध र राष्ट्रसेवामा देखिएको समर्पण भावको प्रशंसा गर्दै संघ पार्टीको सशक्त हतियार बन्ने विश्वास व्यक्त गरिन । नेपाली कांग्रेस दाङका जिल्ला सदस्य लीलाराम खनालले राजनीतिक मूल्य, सिद्धान्त र संगठनात्मक कार्यदिशामा विश्वास राखेर काम गर्ने भातृ संघहरू नै पार्टीको आधारभूत खम्बा भएको बताए ।

नेपाल महिला संघ दाङकी सचिव लक्ष्मी योगी, नेपाली कांग्रेस गढवाका सभापति किरण पौडेल, देउखुरी बहुमुखी क्याम्पस लमहीका सल्लाहकार पदम पुडासैनी,नेपाल भूतपूर्व सैनिक संघका केन्द्रिय सदस्य शिवध्वज मल्ललगायतले बोल्दै राष्ट्रिय एकता, लोकतन्त्रको रक्षा र सामाजिक न्यायका लागि भातृ संगठनहरूको सक्रियता अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

नेपाल भूतपूर्व सैनिक संघ दाङका अध्यक्ष जुद्दबहादुर जिएमको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङका उपसभापति गिरिराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो। नेपाल भूतपूर्व सैनिक संघ दाङ क्षेत्र न १ का क्षेत्रीय सभापति मुमबहादुर रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रतिनिधि कुमार घिमिरेले गरेका थिए ।