मधुसूदन सुवेदी
यतिबेला विश्व एक प्रकारको विपतमा छ । यो विपतमा मानवका लागि पञ्छिनको लागि, छिचोल्नका लागि, पार पाउनको लागि, मुक्त हुनको लागि, परास्त गर्नको लागि, रोक्नको लागि, छेक्नको लागि, बच्नको लागि र बचाउनको लागि एकप्रकारको गम्भीर सकस र कठिनाई भए तापनि हाम्रो परिवार, वरपर, परिसर, छिमेक, समाज, क्षेत्र, तह, तप्का, देश, राष्ट्र, मुलुक, विश्वमा रहेका हरेक व्यक्ति, शक्ति, समूह, संगठन, मोर्चा, दल, पार्टी, दर्जा, पदसँग सम्बन्धित व्यक्तिगत नियत, आचरण, बानी, भावना, सोच, विचार, चिन्तन, मनन्, चरित्र, बोली, व्यवहारलगायत मानवसम्बन्धी अनेकौँ गुण तथा वैगुण चिन्ने, जान्ने, थाहा पाउने, देख्ने, भोग्ने, मनन् गर्ने एकप्रकारको असल बेला, मौका, अवसर, मौसम, ऋतु, काल र परिस्थिति बनेको छ । मान्छे चिन्न धेरै समय लाग्थ्यो । मान्छे चिन्न गाह्रो पनि हुन्थ्यो । मान्छेका हरेक पक्ष नियाल्न हम्य–हम्य पनि पथ्र्यो तर यतिबेला सहजै जानकारी हुने गर्छ र जानकारीमा आउने गर्छ ।
मान्छे हिजोसम्म म यो घरको मुली हुँ, यो घरको मानिलक हुँ, यो घरको प्रमुख हुँ, यो घरको धुरी, खाँबो हुँ आदि इत्यादि भन्नेले आजको समयमा आफू त्यो घरको सारा जिम्मेवारी पूरा गरेको छ कि छैन ? नियालौँ । उसले के–कसरी आफ्ना सन्तान तथा लालाबालालाई यो कोरोनाको कहरमा एउटा सरल र सहजपूर्ण जीवन निर्वाह गर्ने भूमिका खेलिरहेको छ । कुनै पनि घरमुलीको जिम्मेवारी, शाहस, हिम्मत, जोश, जाँगर, जिम्मेवारी र कर्तव्य नाप्ते, चौलने, जोख्ने र मापन गर्ने यो उत्तम घडी हो । त्यस्तै हिजोसम्म हाम्रो छिमेकमा निकै धाक, धक्कु र रवाफ देखाउने समाजको ठूलो रुख भन्न रुचाउनेले आजको दिनमा कसरी आफ्ना छिमेकीजनलाई मल्हमपट्टी लगाइरहेको छ ? समाज दुःखी रहेको बेला, समाज रोइरहेको बेला, समाज छटपटी भइरहेको बेला त्यो आदर्शवान् पुरुष वा महिला कसरी आफ्नो समाजमा रुखको छहारी बनिरहेका छन् ? भनिन्छ – ‘ठूलो रुखमुनि बसेपछि एकझर पानी ओत्छ वा छेक्छ ।’
आज हाम्रा समाजका ठूला रुखले यो महामारीको प्रचण्ड धुप र घाममा कति हदसम्म छहारी दिन सफल भए । हिजोका समाजका गन्ने मान्ने आज पनि त्यही गन्ने, मान्नेमा नै स्थापित भएका छन् कि ? त्यो नभएर गनाउने र मन्काउनेमा परिणत भएका छन् । समाजका गन्नेमान्ने व्यीक्त आजको समयमा गन्नाउने र माखा भन्काउने अवस्थामा गएका छन् भने उनको पनि यो समयले चिनाइसक्यो र जनाइसक्यो । त्यस्तै हिजोसम्म यो देशको, यो राष्ट्रको, यो मुलुकको र यो सिंगो व्यवस्थाको लक्का जवान्, नौजवान र शक्तिशाली, दूरदर्शी र मर्मस्पर्ष व्यक्ति, शत्ति, समूह, संगठन, दल, मोर्चा, पार्टी सबै मै हुँ, हामी हौँ भनेर निकै चर्को स्वरमा कराउने, कुर्लने, भुक्ने र खोक्नेले आज जनता दिनजहाडै ऐया र आच्छु भइरहेको बेला त्यस्ता शक्तिशाली र भक्तिशाली के गर्दै छन् ? यो देशमा समाजवाद ल्याउनेले कुन समाजलाई रुन र कराउनबाट जोगाए ? यो देशमा गरिबीको निक्ति शासन चलाउनेले कुन गरिबलाई झुपडीबाट महलमा पु¥याए ? यो संसारमा वेरोजगारलाई अन्त्य गर्छु भन्नेले कसलाई कहाँ, कुनबेला, कसरी, कुन पदमा पद वहाली गरे ? यो देशमा भोको र नाङ्गो रहन दिन्न भन्नेले कसको भोकमा कुन गासले कुन पेट भरिदिए ? कसको कुन अंग नांगो हुँदा कुन जसको कपडाले कुन अंग कसरी छोपिदिए ? यो देशमा समृद्ध र शान्तिको वर्षा गराउँछु भन्नेले समृद्धि कहिले वर्षियो ? शान्ति किन तर्सियो ? ती पनि नयाँ, ऊ पनि नयाँ, यहाँ पनि नयाँ, त्यहाँ पनि नयाँ र देशै नयाँ र नेपालै नयाँ बनाउँछु भन्नेले नेपाल नयाँ भयो कसरी ? शब्दजालले भयो कि ? षड्यन्त्रको छालले भयो कि ? दुःख र पीडाको जञ्जालले भयो कि ? भ्रष्टाचार र व्यथितिको महाजालले भयो कि ? कसरी नयाँ नेपाल भयो ? नयाँ बन्ने र बनाउने आधार र उपाय के थियो ? कसैले पनि नगर्ने काम गरेर नयाँ बनाउने अभ्यास थियो ? के थियो त्यसको सूत्र ? किन प्रयोगमा आएन ? आज देश, जनता के कस्तो अवस्था र व्यवस्थामा गुज्रेका छन् ? हिजोको आदर्श र आजको यथार्थ के हो ? आदर्श र यथार्थको कहीँ तालमेल छ कि छैन ? बोल्ने कुरा क्षणभरको आवेग र शक्ति सन्तुलनमा होला तर व्यवहारमा कति कठिन रहेछ ? आज विश्वलाई जनताले नियालिरहेका छन् । प्रतिपरिवारबाट विश्वसम्म नियाल्ने क्रममा जनता पुगेका छन् ।
यो देशका सारा पद र ओहदामा बसेकाहरुलाई तराजुको पल्लामा राखेर जनता तौल्दै छन्, जोख्दै छन्, मापन गर्दैछन् । हिजोसम्म कस्ता थिए र के–के भन्थे ? आजको समयसम्म आइपुग्दा कस्ता भए र के–के भन्दै छन् ? हरेक कुराको फाइल बन्दै छ र प्रत्येक जनताको मेमोरीमा बस्दै छ । किनभने मान्छे चिन्ने भनेको नै यही विपदको बेला नै हो ।