गोरक्ष समाचारदाता
तुलसीपुर, २३ जेठ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्लास्टिकमुक्त अभियान तत्काल पालिका तहबाट सुरु हुनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय दाङले दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै चौधरीले दिवस मनाउने मात्रै नभई वडा तहबाट प्लास्टिकमुक्त अभियान तत्काल सुरु गर्न जरुरी रहेको बताएका हुन् ।
मानिसले मनपरी गरेको वातावरण विनाश र प्लास्टिकजन्य फोहरका कारण हिमाल नाङ्गा हुँदै गएको, जताततै प्लास्टिकजन्य फोहर मात्रै बढेको हुँदा त्यो नियन्त्रणका लागि स्थानीय तह र वडाबाट प्लास्टिकमुक्त अभियान तत्काल सुरु गर्न जरुरी रहेको उनले बताए ।
तुलसीपुर बजारको प्लास्टिकजन्य फोहर बगेर गौरीगाउँलगायतका खेतबारीमा पुग्ने गरेको भन्दै वडा तहबाट त्यस्ता फोहरजन्य वस्तुहरू नियन्त्रणमा लाग्न जरुरी भइसकेको उनले बताए । ‘मेरो क्षेत्रमा प्लास्टिकजन्य फोहर मुक्त र विषादीमुक्त छ भन्ने अभियान तत्काल चलाउन जरुरी छ’, उनले भने, ‘रुखबिरुवा रोपेर हरियाली बढाउन पनि उत्तिकै जरुरी छ ।’ जङ्गल मानिसलगायत सबै जिवजन्तुको खानाको भण्डार भएको भन्दै सालका पात, मालुको पातको प्रयोग बढाउन सके प्लास्टिकजन्य वस्तुको उपयोग कम हुने धारणा राखेका थिए ।
कार्यक्रममा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले हरियाली पवर्धनका लागि सडक किनारमा रुखबिरुवा रोपिएको र त्यसका लागि पालिकाले नौं लाख बजेट छुट्याइएको बताइन् । प्लास्टिकजन्य वस्तुको बढ्दो प्रयोग भविष्यका लागि खतराको सङ्केत भएको भन्दै त्यो न्यूनीकरण गर्दै हरियाली प्रवर्धन गर्न जरुरी रहेको बताइन् ।
इलाका प्रशासन कार्यालयका प्रमुख महेश गुरुङले प्लास्टिकजन्य फोहर मानव स्वास्थ्यका लागि मात्र नभई हरेक प्राणी र वातावरणका लागि घातक सावित हुने भएकाले त्यसको न्यूनीकरणमा हरनागरिक सोत हुन आवश्यक रहेको बताए । कार्यक्रममा दंगीशरण–३ का वडाध्यक्ष सुकलाल चौधरीले प्लास्टिकको प्रयोगले डरलाग्दो अवस्था आउन थालेको भन्दै आउने सन्ततिका लागि सबैले सोच्नुपर्ने बेला आएको बताएका थिए ।
प्लास्टिकको उपयोगका साथै प्लास्टिकको जङ्कफूड प्रयोगमा प्रतिबन्ध लगाउने गरी भूमिका खेल्ने बताए । डिभिजन वन कार्यालय दाङका बरिष्ठ वन अधिकृत ओमबहादुर वलीले मानवीय गतिविधि र बढ्दो प्लास्टिकजन्य वस्तुको प्रयोगका कारण वातावरणमा प्रदूषण बढ्दै गई पृथ्वी तातो हुँदै गएकाले समस्या निम्तने खतरा औल्याएका थिए ।
वातावरण प्रदूषणकोे मुख्य कारण प्लास्टिकको प्रयोग रहेको भन्दै उनले प्लास्टिक प्रयोगमा न्यूनीकरण गर्नुपर्ने बताएका थिए । डिभिजन वन कार्यालय दाङका प्रमुख विसेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यालयका बरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टेकन आचार्यले गरेका थिए ।