गोरक्ष समाचारदाता
तुलसीपुर, २३ जेठ । विश्व वातावरण दिवस २०८२ मा सचेतनामूलक कार्यक्रम तथा वृक्षारोपण गरी मनाइएको छ । अघिल्ला वर्षभन्दा यस वर्ष वातावरण दिवसलाई फरक ढङ्गले मनाइको देखिएको छ । विभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीले सचेतनामूलक कार्यक्रम गरी वातावरण दिवस मनाएका हुन् ।
बिहिबार परेको वातावरण दिवसमा विभिन्न विद्यालयका विद्यार्थीले प्लेकार्ड बोकेर गाउँगाउँमा सचेतनामूलक ¥यालीदेखि विद्यालयमा गीत, कविता, निबन्धलगायतका रचनात्मक कार्यक्रमका साथै वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेका छन् । विद्यार्थीहरूले विद्यालयको प्राङ्गणमा वृक्षारोपण गर्नुका साथै सचेनामूलक कार्यक्रम गरेर वातावरण दिवस मनाएको शारदा विद्यामन्दिरका शिक्षक पविता विश्वकर्माले बताइन् ।
कार्यक्रमका अन्य सहभागीले वातावरण प्रदूषणलाई कम गर्न सबैले भूमिका खेल्नु पर्ने बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले वातावरण विनाश र जलवायु परिवर्तनका कारण मानवीय सङ्कट निम्तिएकोप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणमा पछिल्लो पुस्ता जागरुक हुन जरुरी रहेको सहभागीले बताएका छन् ।
शारदा विद्यामन्दिर तुलसीपुर –४ रक्षाचौरका प्रिन्सिपल इन्दिरा शर्माको अध्यक्षता तथा वडा नंं ४ का वडाध्यक्ष तुलसी थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै थापाले वातावरण संरक्षणका लागि विद्यालय तहदेखि नै सचेतना आवश्यक रहेको बताए । उनले वातावरणलाई जोगाउन सबैले आआप्mनो क्षेत्रबाट भूमिका खेल्नुपर्ने भन्दै स्थानीय सरकारले यसमा सहयोग गर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले वातावरण संरक्षणमा सबै लाग्नुपर्ने बताउँदै पछिल्लो समयमा वातावरण प्रदूषणका कारण विभिन्न समस्या देखिएको बताए । कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व सभापति कीर्तिबहादुर खड्काले मानवीय व्यवहारका कारण वातावरणमा प्रभाव पारेको भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताए ।
राप्ती आँखा अस्पातलका मेसु सहायक प्राडा रञ्जितकुमार शाहले कसरी वातावरणलाई सफा र सुग्घर तथा कसरी जोगाउन सकिन्छ भन्नेमा विद्यार्थीले सिक्नु सिकाउनु पर्ने बताए । तुलसीपुर उपमहानगरपालिका वातावरण हरियाली प्रवर्धन शाखा प्रमुख रमा खड्काले वातावरण संरक्षणका लागि सामाजिक जनचेतना जगाउनुपर्ने बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भारतीको स्वागतबाट सुरु भएको कार्यक्रममा समाजसेवी टोपबहादुर केसी, ध्रुव गौतम, मोतीलाल वलीलगायतले बोलेका थिए । सो अवसरमा विद्यालय प्राङ्गणमा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक पविता विश्वकर्माले गरेकी थिइन् । यसैबिच तुलसीपुर–७ को त्रिदेव बोर्डिङ स्कुल, गुरु जजुर माविलगायतका विद्यालयले पनि वातावरण दिवस मनाएका छन् ।