प्रिया स्मृती गजमेर
देउखुरी, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा लमही नगरपालिकाले फोहोर उठाउने दौड प्रतियोगिता आयोजना गरेको छ । ‘प्लास्टिक प्रदूषण न्यूनीकरणस् हाम्रो दायित्व’ भन्ने मुख्य नारासहित लमहीले बिहिबार सन्देशकमूलक कार्यक्रम गरेको हो ।
नगरपालिकाले वातावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले फोहोर उठाउने दौड प्रतियोगिता आयोजना गरेको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले वातावरण संरक्षणको दायित्व सरकारको मात्र नभई आम नागरिकको पनि भएको उल्लेख गर्दै रचनात्मक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।
वातावरण संरक्षणको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय स्तरमा विभिन्न नीति, योजना तथा कार्यक्रम, आवश्यक कानुन र संस्थागत संरचनासमेत निर्माण भएर कार्यान्यवन भएको नगर प्रमुख चौधरीले बताएका थिए । कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले हरेक परिवारले उत्सर्जन गर्ने कार्बन र अन्य हरितगृह ग्यास कम गरेमा पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोक्न सकिने र मानव अस्तित्व सहज रूपले चलिरहने आशा गर्न सकिने बताइन् ।
मानव क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको चेतावनी वैज्ञानिकले दिएकोले यसमा सबै सतर्क हुन आवश्यक रहेको बताइन् । डिभिजन वन कार्यालय दाङ (देउखुरी) का सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले वातावरण सफा र प्रदूषणमुक्त राख्न कागजको झोला, कपडाका झोला प्रयोग गर्न सबैलाई उत्प्रेरित गर्नुपर्ने बताएका थिए । हरेका घरबाट निस्कने गल्ने वा नगल्ने फोहोरलाई निश्चित मूल्य निर्धारण गरी खरिद गर्ने खालको योजना ल्याउन सके नगरपालिकालाई फाइदा हुने बताए ।
दौड प्रतियोगितामा नगर क्षेत्रका विद्यालय, युवा समूह, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू तथा नगरवासी गरी आठवटा समूहले भाग लिएका थिए । सहभागीलाई नगर क्षेत्रका विभिन्न स्थानबाट प्लास्टिकजन्य तथा अन्य फोहोर उठाउँदै निश्चित दूरी नगरपालिकाको कार्यालयसम्म दौड्नु प¥यो । प्लास्टिक प्रदूषण न्यूनीकरण, नगर सरसफाइ र स्थानीयबासीमा वातावरणीय चेतना फैलाउने उद्देश्यले लमही नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले प्रतियोगिता आयोजना गरेको बताइन् ।
प्रतियोगितामा देउखुरी युवा क्लव प्रथम भएको छ । क्लबले एक घण्टाको समय अगावै १७ किलो फोहोर सङ्कलन गर्न सफल भएको थियो । यसैगरी वडा प्रहरी कार्यालय लमहीले १२ किलो आठ सय ग्राम फोहोर सङ्कलन गर्दै द्वितीय र ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयले १२ किलो छ सय ग्राम फोहोर सङ्कलन गरेर तृतीय भएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच हजार रुपैयाँ, प्रमाणपत्र र एउटा हरियो बिरुवा, द्वितीय हुनेलाई नगद ३५ सय रुपैयाँ, प्रमाणपत्र र एउटा हरियो बिरुवा र तृतीय हुनेलाई नगद दुई हजार रुपैयाँ, प्रमाणपत्र र एउटा हरियो बिरुवा प्रदान गरिएको थियो ।
लमही नगरपालिका, वन डिभिजन कार्यालय दाङ (देउखुरी) को संयुक्त आयोजनामा भएको कार्यक्रममा निरासिज फाउन्डेसनले सहयोगीको भूमिका निभाएको थियो । कार्यक्रमको सहजीकरण लमही नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले गरेकी थिइन् ।