राप्तीमा वाणिज्य बैंकको शाखा

टेकबहादुर पुन
देउखुरी, २३ जेठ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सेवा विस्तार गर्दै देउखुरी उपत्यकाको राप्ती गाउँपालिका–४, श्रीनारायण चोकमा नयाँ शाखा सुरु गरेको छ । यो शाखा बैंकको ३०१ औँ शाखा हो ।

बिहिबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको छ । बैंकले देउखुरीको यो शाखामार्फत् स्थानीय बासिन्दालाई सुलभ, भरपर्दो र डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । अब स्थानीयबासीलाई बैंकिङ सेवाका लागि तुलनात्मक रूपमा टाढा जानु नपर्ने भएको छ ।

यो शाखाबाट खाता खोल्ने, नगद जम्मा र झिक्ने, कर्जा सेवा, रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ, अनलाइन भुक्तानी जस्ता सम्पूर्ण आधुनिक सेवा उपलब्ध हुने शाखा प्रबन्धक विष्णु गैरेले जानकारी दिए । उनका अनुसार देउखुरी क्षेत्रमा कृषि, व्यवसाय, पर्यटन तथा घरनिर्माणमा लगानी गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सहज ऋण सुविधा पनि सञ्चालनमा ल्याइनेछ ।

विशेष गरी स्थानीय युवा, महिला उद्यमी तथा किसानलाई प्राथमिकतामा राख्दै वित्तीय पहुँच विस्तार गरिने योजना रहेको प्रबन्धक गैरेले बताए । राष्ट्रिय वाणिज्य बैंकको आगमनले स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नुका साथै वित्तीय साक्षरताको वृद्धि गर्दै स्थानीय उत्पादन र सेवाको व्यवसायीकरणमा सघाउ पु¥याउने विश्वास गरिएको छ ।

शाखा सुरु भएसँगै राप्तीलगायत आसपास क्षेत्रका ग्राहक अब सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । स्थानीय व्यवसायी तथा समाजसेवीले पनि बैंकको स्थापनालाई स्वागत गरेका छन् । स्थानीयका अनुसार देउखुरीमा एक प्रतिष्ठित र भरपर्दो बैंकको आवश्यकता थियो ।