राजपुर गाउँपालिका पूर्णखोप सुनिश्चितता

गोरक्ष समाचारदाता
राजपुर, २३ जेठ । देउखुरीको राजपुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । बिहिबार राजपुर पूर्णखोप सुनिश्चितता पालिका घोषणा भएसँगै जिल्लाका पाँचवटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका हुन् ।

यस अघि गढवा गाउँपालिका, लमही नगरपालिका, राप्ती गाउपालिका र घोराही उपमहानगरपालिकालाई जिल्ला खोप समन्वय समितिले प्रमाणपत्र प्रदान गरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको थियो । राप्ती गाउँपालिका अध्यक्ष सरदकुमार बुढाथोकिको अध्यक्षतामा भएको घोषणा सभामा गाउँपालिकाले सबै वडालाई पूर्णखोप सुनिश्चितता वडाको प्रमाणपत्र दिएसँगै जिल्ला खोप समन्वय समितिले राजपुर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिकाको प्रमाणपत्र प्रदान गरेको थियो ।

घोषण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माले पूर्णखोप कार्यक्रम नेपाल सरकारकै पहिलो प्राथमिकता प्राप्त कार्यक्रम भएको तथा यो आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पर्ने बताए । नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरेकाले सम्पूर्ण बालबालिकालाई खोप लगाउनु राज्यकै दायित्व भएको बताए । यसमा जनप्रतिनिधि र कर्मचारीको विशेष भूमिका रहने बताए ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभामा बोल्दै राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा नियमित चलिरहने प्रक्रिया भएको बताउदै आगामी दिनमा यसलाई निरन्तरता दिन आफूहरूले पहल गरिरहने प्रतिबद्धता व्यक्त गरिन् । ‘यो अभियानमा स्वास्थ्यकर्मीको भुमिका त छँदैछ, मैले यो अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई विशेष धन्यवाद दिन चाहन्छु’, उपाध्यक्ष यादवले भनिन् । कार्यक्रममा वडाध्यक्ष पुष्कर वली, स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्य, राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राजपुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कमल रोकायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष कुमार बुढाथोकीले राजपुर जस्तो भौगोलिक रूपले अत्यन्तै विकट गाउँपालिकालाई अहिलेसम्म बर्सेनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सफल भएकोमा जनप्रतिनिधि एवम् स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिए । आगामी दिनमा पनि पूर्णखोप जस्तो बालबालिकाको नैसर्गिक अधिकारलाई कार्यान्वयन गर्न सबै जनप्रतिनिधि एवम् कर्मचारी र महिला स्वास्थ्य स्वयम्सेविकाहरू अहोरात्र खटिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक छविलाल खड्काले गरेका थिए ।