ब्रह्माकुमार माधव तिमिल्सेना
जसरी भौतिक दुनियाका यावत उपलब्धिमा मानव मनको नै अहम् भूमिका हुन्छ त्यसै गरी आध्यात्मिक क्षेत्रको उच्चतम् प्राप्तिका लागि मानव मन नै उच्च स्थानमा हुन्छ । कुरा शान्तमय मनको हो । वर्तमान युगमा सबैभन्दा महँगो मानव मनको शान्ति भएको छ । सुख–सुविधाका प्रचुर साधनहरू छन्, पद, प्रतिष्ठा, मान–शान, शिक्षा र बौद्धिकस्तरको उच्चता हुँदाहँदै पनि मनमा शान्ति छैन । मन अमनचयनको अनुभव गरिरहेको छैन ।
अनेक प्रकारका संकल्प विकल्पका अनियन्त्रित तुफानहरु मनमा चलिरहन्छन् । कहिले द्वन्द्वात्मक विचारहरू, कहिले नकारात्मक विचारहरू, कहिले अशुद्ध चेष्टा भएका विचारहरूले मनलाई उद्वेलित र हैरान गरिरहेका हुन्छन् । ईष्र्या, द्वेष, घृणा, वैरभाव, बदलाको भाव तथा अनेक सांसारिक इच्छाले मनलाई विचलित वनाईदिएको हुन्छ । समग्रमा जब मन यस्ता आन्तरिक अस्थिर तरङ्गहरूमा तैरिन्छ तब मनको शान्ति भङ्ग भएर जान्छ । यसरी अशान्त, असन्तुलित र तनावग्रस्त मन आफैंमा एक समस्या बन्न पुग्दछ जसमा अनेक प्रकारका उल्झन वा द्विविधाहरू, मानसिक दबाब वा अस्थिरताका ज्वारभाटाहरु उत्पन्न हुने कारण बन्दछन् ।
जीवनलाई सुखमय, आनन्दमय, सकुशल र सौहार्दमय बनाउन प्रथमतः मनलाई नै शान्त, सन्तुष्ट, शालीन र स्वच्छ बनाउनु जरुरी छ । आध्यात्मिक विज्ञानले मानिसको चेतन, अर्धचेतन र अचेतन मनलाई सही अर्थमा जानी बुझी तिनीहरूको उचित व्यवस्थापन गर्न आवश्यक सूत्रहरू वा मार्ग निर्देशन प्रदान गर्दछ । वास्तवमा मनको खुशी, मनको प्रशन्नता र मनको सन्तुष्टी वाह्य वस्तु, वैभव र व्यक्तिभन्दा पनि सत्य ज्ञान, आत्मिक चिन्तन, मनको शुद्धि आफ्नो अनादि अस्तित्व तथा स्वधर्म र शाश्वत मूल्यहरूको बोध एवं उपलब्धिमा निर्भर हुन्छ । शान्त, स्थिर र मनोवल उच्च हुन सक्यो भने मात्र मन्सा सेवा दिगो र स्थायी हुन सक्छ । मनमा व्यर्थ चिन्ता र मनको दुरुपयोगबाट उत्पन्न कारणले नै हामीलाई शारिरिक संभाल गर्नु परिरहेको छ । जस्तो विभिन्न रोगको कारण हामीलाई डाक्टर, वैद्य र मनोचिकित्सकसम्म जान्छौँ । यसलाई पछाडी फर्केर हेर्दा जीवनमा सही निर्णय लिन नसक्दा परिणाम स्वरुप मानसिक दुःख परिरहेको छ ।
त्यसैको फलस्वरुप शरीरमा विभिन्न रोगपनि निम्तिरहेका हुन्छन् । हाम्रो मनमा निरन्तर रुपले स्मृती, संकल्प वा भावनाको प्रवाह भइरहन्छ । कुनैपनि चिज देख्दा, सुन्दा वा बोल्दा त्यससम्बन्धी विचारहरु मनमा उत्पन्न हुन्छन् । जव हामी कुनै चिजको वारेमा सोच्न थाल्छौँ तब बुद्धिले त्यस सम्बन्धमा चित्र वनाउन थाल्दछ । कुनैपनि वस्तु, व्यक्ति वा ठाँउको स्मृती मनमा हुनासाथ बुद्धिले सोही कुराको दृश्य देखिरहेको हुन्छ । यति मात्र हैन भविश्यको काल्पनिक चित्रपनि बुद्धिले निर्माण गर्न सक्छ । त्यसैले जीवनमा सफल हुनका लागि यी दुवै शक्तिको वीचमा सामञ्जस्यता हुनु जरुरी छ ।
सेवाको अर्थ हो देश, काल, परिस्थिति अनुसार आत्माहरूलाई अनुकूल कुनै रूपबाट गुण र शक्तिको निःस्वार्थ भावबाट दान दिनु । स्थूल वा सूक्ष्म रूपबाट शक्ति प्राप्तिको अनुभव गराउनुलाई नै सेवा मानिन्छ । निःस्वार्थ भावनाबाट दिइएको सहयोग नै सेवा हो । सेवाका आयाम धेरै छन् । परोक्ष–अपरोक्ष, दृश्य वा अदृश्य आदि अनेक प्रकारका सेवा हुन सक्छन् । स्थूल र सूक्ष्म सेवाका प्रकार अनेक हुन सक्छन् । आफ्नो श्रेष्ठ संकल्प वा भावनाको प्रकम्पन अन्य आत्मालाई दिएर उनीहरुलाई सुखको अनुभव गराउनु तथा विचारमा श्रेष्ठ परिवर्तन ल्याउनुलाई नै मनसा सेवा भनिन्छ । जसरी स्थूल सेवाको आ–आफ्नो क्षमता र योग्यता हुन्छ । कुनै पनि सेवा गर्नको लागि यस्तो क्षमता र योग्यता हुनु आवश्यक पर्छ । जस्तै कुनै मानिस वा आत्माले बोलीले सेवा गर्दछ भने उसको त्यस्तै दृढ धारणा, विषयको विद्वत्ता, चिन्तन र अनुभव हुनु आवश्यक पर्छ । त्यसैगरी मनसा सेवाको लागि योगयुक्त मानसिक स्थिति र अवधारणा सकारात्मक हुनु अनिवार्यता छ । आफ्नो निश्चित ध्येयलाई बारम्बार स्मृतिमा ल्याउनु र सर्वश्रेष्ठ सेवा मन्साबाट गर्नुपर्छ साथै अनेक आत्माहरूको कल्याण गर्नुपर्छ । यो सेवा हामी आत्माको नै कर्तव्य हो, यसबाट कर्तव्य विमुख हुनु हुँदैन । मनसा सेवा हामीले नगरे अरू कसले गर्न सक्छ ? अनेक आत्माहरूलाई मन्सा सेवा आवश्यक छ ।
कैंयौ आत्माहरू सुख, शान्ति, शक्तिको लागि पुकार गरिरहेका छन् । यतिखेर विश्वमा फैलिएको महामारीले लाखौँ मानिसहरुले देहत्याग गरिरहेको छन् भने अनेकौँ आत्माहरु यस्तो विकराल परिस्थितिमा भय चिन्ताले आक्रान्त भैरहेको समयमा मन्सा सेवाद्वारा सवैमा आशा जगाउनु छ । साथै परमात्मा पिताको नवसृष्टि पुनर्निमाणको कार्यमा सहयोगी समेत बन्नुपर्छ । यस्तो श्रेष्ठ स्मृतिबाट मनमा उमङ्ग, उत्साह पैदा गर्नुपर्छ । मन–बुद्धिको एकाग्रता मन्सा सेवाको लागि पहिलो अनिवार्यता हो । मन–बुद्धिलाई एकाग्र गर्ने अभ्यासीले नै मन्सा सेवा गर्न सक्छ । व्यर्थ र नकारात्मक कुरालाई भुलेर राजयोगको अभ्यास गर्नुपर्छ अनि स्वयम्लाई आत्मिक स्थितिको अनुकूल बनाउनुपर्छ । आफ्नो स्थितिलाई अलौकीक बनाउनको लागि भौतिक स्मृतिबाट माथि उठेर श्रेष्ठ चेतनाको अभ्यास गर्नु आवश्यक हुन्छ । भौतिक चेतनाको विस्मृति र अलौकिक चेतना जगाउनको लागि मन–बुद्धिको गहन एकाग्रता हुनु आवश्यक छ । सबैको लागि शुभभावना शुभकामना राख्नु पनि त्यति नै आवश्यक हुन्छ । कसैको प्रतिपनि घृणाको भाव, बदलाको भावना, तल गिराउने भावना, दुःख दिने भावना हुनु हुदैन । सबैप्रति आत्मिक भाव र शुभभावना राख्नुपर्छ । सबै आत्माहरूको लागि कुनैपनि प्रकारको यथाशक्ति सहयोग दिनुछ, यस्तो पवित्र भावना राख्नुपर्छ ।
एकाग्रता भनेको मन र बुद्धिको स्थिरता हो । कुनै विषय र लक्ष्यमाथि मन र बुद्धि निरन्तर लागिरहोस् अर्थात् मनको संकल्प त्यही विषयमा नै चलोस् बुद्धिमा पनि त्यसको चित्र बनिरहोस् । मन र बुद्धि आत्माका दुई शक्तिहरु हुन् । आत्माले यिनै दुई शुक्ष्म शक्तिद्वारा जीवन सञ्चालित गरिरहेको हुन्छ । एकाग्रता भनेको एक लक्ष्य र विषयलाई अग्रभागमा राख्नु वा हामीमा भएको दृश्य शक्ति र मनन् शक्तिलाई त्यसैमा केन्द्रित गर्नु हो । एकाग्रता नै सफलता वा कार्यसिद्धिको जननी हो । कुनै व्यक्ति, वस्तु वा घटनाको स्मृति मनमा हुनासाथ बुद्धिले सोही कुराहरुको दृश्यपनि देखिरहेको हुन्छ । यतिमात्रै होइन भविष्यका काल्पनिक चित्रपनि बुद्धिले निर्माण गर्नसक्छ । मन र बुद्धि परस्पर सम्बन्धित मात्रै होइनन् पुरक पनि छन् । मनमा उठेका संकल्पको आधारमा बुद्धिले चित्र निर्माण गर्दछ । त्यस्तै बुद्धिले निर्माण गरेको चित्रको आधारमा पुनःमनले चिन्तन मनन वा संकल्प उत्पन्न गर्दछ । त्यसैले यी दुई शक्तिहरु अभिन्न छन् । जीवनमा असफल हुनुको रहस्य पनि लक्ष्यप्रति यी दुवै शक्तिको सामञ्जस्यता नहुनु वा संयोजन नहुनु हो । अर्थात् यी दुवै शक्तिहरु एक लक्ष्यप्रति केन्द्रित नहुनु हो । एकाग्रताको शक्तिले नै हर असम्भव कार्यलाई सम्भव बनाइरहेको हुन्छ । यो मानव मनको निजी शक्ति हो, उसको अन्तरमनको सामथ्र्य हो । जसरी समुद्र वा तालको पानीको स्थिरता हुन्छ र छाँया स्पष्टसँग देख्न सकिन्छ, त्यस्तै मनरुपी सागरमा विचारको स्थिरता भयो भने बुद्धि सबै कुरा देख्न र जान्न सक्षम हुन्छ । हामी मानव आत्माप्रतिको असीम प्यारका चिन्तनरूपी मणीले हाम्रो मनमन्दिरलाई सजाऔँ । जति परमात्माको प्यारमा यो मन मग्न हुँदै जान्छ, त्यति मनको एकाग्रता पनि बढ्दै जान्छ । संसारमा चारैतिर जे जस्तो भइरहेको छ, यो सबै मानव मनको नै अभिव्यक्ति हो (whatever is happening around, it is nothing but the projection and human mind ) । संसार र समाजलाई कस्तो आकार, प्रकार र स्वरूप दिने भन्ने सामथ्र्य र शक्ति मानव मनमा नै निहित छ । तसर्थ, मानव मनको विशिष्टतालाई यथार्थ रूपमा जानेर त्यसलाई सकारात्मक, शुद्ध शक्तिशाली र उद्देश्यमूलक बनाउन सके स्वयं तथा समग्रको कल्याण र उत्थान गर्न सकिन्छ । सामान्य स्थितिमा आफ्नो मन–चित्तलाई शान्त राख्नु, खुशी र निश्चिन्त रहनु कुनै ठूलो बहादुरी र महानता होइन । महानता त त्यो हो जसले अति दुःख र असहज वातावरणका बीचमा पनि आफूलाई धैर्य, स्थिर र नम्रताको स्थितिमा स्थित गर्न सक्दछ । जुनसुकै प्रकारका समस्याको सर्जक मानव सोच र चिन्तन नै भएको हुँदा यी सबैको समाधान पनि मानव मनका विचार भावनामा नै खोज्नु पर्दछ तथा त्यसमा परिवर्तन ल्याउनुपर्दछ । आध्यात्मिक चिन्तनले भन्छ–अरूलाई बदल्ने प्रयास र परिश्रम गर्नुको सट्टा स्वयम्लाई सकारात्मक रूपमा परिवर्तन ग¥यौँ भने सारा विश्व नै परिवर्तन हुनेछ । यो धरा स्वर्गभूमि बन्नेछ । यसका लागि त्याग, तपस्या र यथार्थ सेवाभाव हुनु जरुरी छ ।
मन्सा सेवाको लागि आत्माहरूको अन्तर्भावलाई चिन्नुपर्ने हुन्छ । आत्माको आन्तरिक भावनालाई बुझेर निर्णय लिनुपर्ने हुन्छ अनि सहयोगको शक्तिको प्रयोग गरेर उक्त आत्मालाई मनसा सेवा गरेर उसको कल्याण गर्नुपर्छ । सेवा गर्ने विधि मनसा सेवाको व्यापक स्वरूपमा आफ्नो अव्यक्त स्थितिमा रहेर अनेक आत्माको सेवा गर्नुपर्छ । आफ्नो अव्यक्त स्थितिमा स्थित हुनुपर्छ । हाम्रो अव्यक्त स्थितिबाट विश्वको कुनै स्थानमा रहेर पुकार गरिरहेका आत्माहरूले तिनीहरुकोे आवश्यकता अनुसार गुण र शक्तिको अनुभव गरिरहेका छन् । नजिकका आत्माहरूलाई शक्ति र सकाशको अनुभव हुन्छ । जसको जे चाहना छ त्यो पूरा भएको अनुभव हुनेछ । उनीहरूलाई यस्तो अनुभव हुन्छ म माथि कुनै दैवी शक्तिको दिव्य छत्रछायाँको अनुकम्पा भइरहेको छ । हाम्रो अव्यक्त स्थितिद्वारा स्वतः अनुभव हुन्छ । कहिले कुनै आत्मालाई हाम्रो फरिश्ता स्वरूपको साक्षात्कार पनि हुन सक्छ । योगयुक्त भएर जो आत्मालाई मनसा सेवा गर्नु छ, उसलाई आफ्नो बुद्धिको सामुन्ने प्रकट गरेर विशेष गुण र शक्तिको किरण दिने संकल्प गर्नुपर्छ । योगयुक्त स्थितिबाट पठाएको संकल्पले शक्तिको काम गर्दछ । मानौ कुनै आत्माको बुद्धिमा ज्ञान स्पष्ट भएको छैन भने उसलाई आफ्नो बुद्धिको सामुन्ने प्रकट गरेर संकल्प दिऔँ कि यस आत्माले ज्ञानको गहन रहस्यलाई बुझ्दै गइरहेको छ । यदि कुनै आत्मामा सहन शक्तिको कमी छ भने उसलाई संकल्प दिऔँ यसले हर कुरालाई सहज रूपमा लिइरहेको छ । यो आत्माले जीवनलाई एक खेल अनुभव गरिरहेको छ । यस आत्मामा सहनशक्ति बढिरहेको छ । अशान्त आत्मालाई यस्तो संकल्प दिऔँ कि यस आत्माका व्यर्थ संकल्प समाप्त भइरहेको छ । यो आत्मा परम शान्तिको अनुभव गरिरहेको छ । मनको डर भयलाई हटाउन शुद्ध संकल्प गरौ कि म आत्मा स्वस्थ हँुदै गइरहेको छु, म परम पवित्र आत्मा हुँ, शान्ति मेरो स्वधर्म हो । मेरो रोग प्रतिरोध क्षमता बढिरहेको छ र भाइरस मबाट टाढा भागिरहेको छ । म आत्मा आन्तरिक रुपमा सशक्त छु, म जस्तोसुकै चुनौतीलाई पनि सहर्ष रुपले स्वीकार गरिरहेको छु किनकि सर्वशक्तिमान् परमात्मा पिता मेरो रक्षक पालनहार र छत्रछायाँ बन्नुभएको छ । अविनाशी सर्जक मेरो रक्षार्थ खटिनु भएको छ, मलाई अव कसैसित डर छैन । म सुरक्षित छु । यस प्रकारको चिन्तनले वा मन्सा सेवाले हाम्रो मनले त्यस्तै दृश्य तयार गर्दछ र हामीभित्रको आन्तरिक डाक्टर समथ्र्य अर्थात् शक्तिशाली हुन्छ ।
हाम्रो सफलताको बाधक धन होइन किनभने चार्ली च्याप्लीनदेखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए । हाम्रो असफलतामा विद्यालय शिक्षा दोषी होइन किनभने थोमस एडिसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् । परिवारको साथ नहुनु हाम्रो सफलताको बाधक होइन किनभने एपिजे अब्दुल कलाम, हेनरिक इब्सन परिवारबाट टाढा थिए । हाम्रो बाधक शारीरिक असक्षमता होइन, स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमिरे सबै शारीरिक रुपमा अपाङ्गता नै थिए । हाम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्वीकार गरेका थिए । सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पत्ति, अमिताभ बच्चन बारम्बार असफल भएका थिए । हाम्रो सफलताको बाधक त हामी स्वयं हौ, जोे अघि बढ्नुमा संघर्ष गर्नुमा वाहाना देखाउँछाँै । तसर्थ हाम्रो असफलताको बाधक केवल हाम्रो सोचाई हो, कायरता हो, अल्छी प्रवृत्ति हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो …। हामी शिवाय यो ब्रह्माण्डमा हाम्रा सपनालाई कुल्चिन सक्ने अरु कुनै ताकत छैन । हामीलाई प्राप्त जीवन प्रभुको वरदान हो । परमात्मा प्रदत्त वरदानलाई खुशीले स्वीकार गर्नु नै लाभदायक हुन्छ । यस संसारमा सुख र दुःख दुवैको सीमा बराबर हुन्छ । दुवै स्थिति आउँछ र केही समयपछि जान्छ पनि । हामी साहसी आत्मा हौँ । साहसी पुरुष कहिल्यै पनि दुःख र समस्यामा घवराउदैनन् । सेवा गर्दै रहनु जीवनको आदि–अनादि सत्य हो । यस सत्यलाई स्वीकार गर्नु नै पर्ने हुन्छ । संकल्प गरौँ संसारका हरेक आत्माको जीवन खुशीले भरिएको होस् । सवैमा सेवाको भावना जागृत भइहोस् । अनेकौँ आत्माहरुले सेवाको आनन्द लिइरहून् । अज्ञानताको अन्धकारमा रहेका आत्माहरूलाई संकल्प दिऔँ तपाईं ज्योति स्वरूप आत्मा हो, परमात्माका सन्तान हौ । यो सृष्टिचक्रको अन्तिम समय चलिरहेको छ । संकल्प दिऔँ यी सबै आत्माहरू आफ्नो वास्तविक स्वरूपलाई चिन्दै गइरहेका छन् । यी सबै आत्माहरूको विवेक जागृत भइरहेको छ । यी सबै आत्माहरूलाई अलौकिक प्रकाशको महशुस भइरहेको छ । यदि कुनै आत्मा अभावग्रस्त छ, जीवन निर्वाहमा असमर्थ छ, चिन्ताग्रस्त छ, धेरै दुःखको अनुभव गरिरहेको छ भने त्यस आत्मालाई आत्म–विश्वास जगाउने संकल्प दिऔँ । संकल्पमा भनौँ तपाईं आत्मा हो, तपाईं भित्र धेरै शक्ति लुकेको छ । आफ्नो शक्तिलाई चिनेर उपयोग गर्नुहोस् । संकल्प गरौँ त्यो आत्मा सर्व प्रकारको भरपूरताको अनुभव गरिरहेको छ । त्यस आत्माको अभाव दूर भइरहेको छ । त्यो आत्मा स्वयम्लाई सुखद् र सम्पन्न अनुभव गरिरहेको छ । यस प्रकार जस्तो परिस्थिति त्यस्तै योगको प्रयोग मनसाद्वारा सकाश दिन सक्छौँ । अनेक आत्मालाई प्रेरणा दिन सक्छौँ । जति हाम्रो आत्मिक अव्यक्त स्थिति राम्रो हुन्छ त्यति नै परिणाम राम्रो हुन्छ । हामीले सेवाको प्रयोग गर्दै रहनु पर्छ । कर्म गर्दै जाऔँ फलको परिणाम धैर्यसँग प्रतीक्षा गरौँ । अन्त्यमा श्रेष्ठ परिणाम आउने नै छ । यस्तो आशावादी बनेर प्रयोग कायम राख्दै जाऔँ ।
डा मासारु इमोटो, जापानी वैज्ञानिक जसले हाम्रो विचार र अभिप्रायले भौतिक क्षेत्रलाई असर गर्छ भन्ने विचारलाई क्रान्तिकारी गरे । उनी विश्वलाई ज्ञात रहेको सबैभन्दा महङ्खवपूर्ण जल अनुसन्धानकर्ता हुन् । डा. इमोटोको असाधारण जीवन कार्य न्यू योर्क टाइम्स बेस्टसेलर, त्जभ ज्ष्ममभल ःभककबनभ क्ष्ल ध्बतभच भन्ने आफ्नो पुस्तकमा कसरी पानीको प्रेम, परोपकारी र अनुकम्पापूर्ण मानवीय अभिव्यक्तिले पानीमा शारीरिक अणु संरचनालाई प्रसन्न पार्दछ भन्ने प्रयोग गर्न सफल भए । जबकि पानी डराउने र असन्तुष्ट मानवीय अभिप्रायहरूको प्रभावमा पर्दछ, विच्छेद, बिग्रेको र ‘अप्रिय’ शारीरिक परिणाम हुन्छ । आणविक संरचनालाई उनले यो चुम्बकीय विश्लेषण टेक्नोलोजी र उच्च गतिको फोटोहरूको माध्यमबाट गरेका थिए । उनको अनुसन्धानले हामीबाट के पनि प्रमाणित गरेको छ कि प्रदूषित र विषाक्त पानीलाई जब प्रार्थना र सकारात्मक सन्देश, शुभ संकल्प बोल र व्यवहार एवं प्रेमभाव राखिन्छ तव दुषित पानीपनि सफा, स्वस्थ र सुन्दर क्रिस्टलमा परिणत गर्न सकिन्छ भने सफा पानीलाई नकारात्मक विचार, अशुभ वोल वा घृणा भाव उत्पन्न गरी त्यस्तै प्रकम्पनहरु प्रवाहित गर्ने हो भने दूषित वा फोहोरी क्रिस्टल देखापर्छन् । उनले वैज्ञानिक दुनियाको लागि पानीलाई जीवित चेतनाको रूपमा राखे । पानीले हामीले कल्पना गरेभन्दा पनि कसरी अधिक क्षमताको ऊर्जा छ भनेर देखाउँदछ । शक्ति मानव विचार, ध्वनि र अभिप्रायलाई सुदृढ पार्ने र वितरित गर्ने हाम्रो समयको सबैभन्दा ठूलो खोजी हो । उनको कामले हामीलाई प्रश्न गरेको छ कि यदि पानीले शब्द, अभिप्राय र शक्तिको प्रभावले असर गर्छ भने मानिस जो चैतन्य शक्ति वा चेतनशील प्राणी हो उसलाई के हुन्छ ? जसको शरीरको ७०–८०% प्रायः पानीले बनेको हुन्छ । यदि हामी पानी र विचारहरूबाट बनेका छौँ भने हामीमा परिवर्तन ल्याउँछौ । पक्कै पनि हाम्रो मनमा उत्पन्न हुने विचार, वोली र अनुभूतिले हामीलाई जस्तो चाह्यौँ त्यस्तै प्रभाव पार्न सक्छौँ ।Dr. Masaru Emoto’s Water Experiment :The Power of Thoughts/HighExistence https://highexistence. com/water experiment मा हेर्न सक्नु हुनेछ । जव हाम्रो मनोबल दृढ हुन्छ, तब जतिसुकै विपरित परिस्थितिको प्रभाव पर्दैन । मनोबलको तात्पर्य मानसिक शक्ति अर्थात् शुभभावना वा श्रेष्ठ भावनासँग सम्बन्धित छ । आन्तरिक शक्ति, साहस र संकल्पमा असम्भव कुरा पनि सम्भव हुन जान्छ । संसारमा हाम्रो नियन्त्रणभन्दा बाहिर पनि केही यस्ता शक्तिहरू छन् जसले हामीमाथि पनि कार्य गरिरहेका छन् । परिणाम स्वरूप हाम्रा केही सीमाहरू बनेका छन् । हामी जुन कुरालाई नियन्त्रित र परिवर्तन गर्न सक्दैनौँ । हामीले ती अनुसार ढाल्न वा सम्झौता गर्न सिक्नुपर्छ । यो ड्रामा कल्याणकारी छ । स्वयम् पिता परमात्मा सम्पूर्ण हुनुहुन्छ भने उहाँको रचना अपूर्ण कसरी हुनसक्छ ? गीतामा पनि भनिएको छ कि जो भइरहेको छ त्यो राम्रो, जो भयो त्यो पनि राम्रो र जो हुनेछ त्यो पनि राम्रो हुनेछ । परिस्थिति र हेर्ने सही दृष्टिकोण हामीलाई यस सत्य ज्ञानबाट प्राप्त हुन्छ । परिस्थिति त आउँछ जान्छ तर असल मनःस्थिति कायम रहोस् । राजयोगले हामीलाई यही कला सिकाउँछ । जसको मन शान्त र प्रशन्न छ, उसको लागि मार्गका काँडा पनि फूल बन्न थाल्छन्, अँध्यारो पनि उज्यालोमा परिवर्तन हुन्छ । मन्सा सेवा संसारको सर्वोतम सेवा हो, जसको माध्यामले अनेकौँको कल्याण र सकारात्मक उर्जा प्रवाहित गर्न सकिन्छ । ओम् शान्ति ।
लेखक डिभिजन वन कार्यालय,दाङ्गका अधिकृत एवं आध्यात्मिक अभियन्ता समेत हुन ।