लमहीमा महिलालाई ढकिया बनाउने तालिम

प्रिया स्मृति गजमेर
दाङ,२२ जेठ । लमहीमा महिलालाई ढकिया बनाउने तालिम प्रदान गरिएको छ । थारुको समुदायको परम्परागत सामग्रीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोग गर्दै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान गरिएको हो ।

लमही नगरपालिका–२ स्थितराजपुर, घटुरिया डाँडामा सात दिने ढकिया बनाउने तालिम सोमबार समापन गरिएको छ । तालिममा स्थानीय २१ जना महिलाहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सीपमूलक तालिमहले समुदायमा स्वरोजगारको अवसर सृजना गर्ने विश्वास व्यक्त गरे ।

उनले स्थानीयस्तरमा उत्पादन र आत्मनिर्भरता बढाउने कार्यमा नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । नगर प्रमुख चौधरीले हस्तकला सामग्रीको राम्रो बजार रहेको भन्दै महिलाहरू समुहमा मिलेर आकर्षक सामग्री बनाउदै आम्दानीमा जोडिन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले सहभागीलाई हौसला दिँदै तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागुगर्न आग्रह अग्रेका थिए । कार्यक्रममा लमही नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दामोदर पौडेल र वडा नं. ३ का वडा अध्यक्ष मनोजकुमार चौधरी र शिक्षा शाखाकी अम्विका शर्मा अतिथिका रूपमा सहभागी थिए ।

तालिमको क्रममा सहभागीहरूले ढकिया बनाउने सम्पूर्ण प्रक्रिया व्यावहारिक रूपमा सिकेका थिए । समापन कार्यक्रममा सहभागिता प्रमाणपत्र वितरण गरिएको थियो भने सहभागीहरूले तयार पारेका ढकियाहरूको प्रदर्शनी गरिएको थियो । सोनपुर सामुदायिक सिकाई केन्द्रको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।

तालिमको प्रशिक्षकमा इन्द्रा चौधरी रहेकी थिइन् । सिकाई केन्द्रका अध्यक्ष लक्ष्मण पवन पन्थीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन संस्थाकी सामाजिक परिचालक गीत चौधरी अधिकारीले गरेको थिइन् ।