मेरो खुशी : कान्जी हाउस निर्माणको सुरुवात …

आजभन्दा करिब डेढ दशक अघि हुनुपर्दछ । मिति मलाई ठ्याक्कै याद भएन । म त्योबेला घुस्रा विकास सामुदायिक वनको अध्यक्ष थिएँ । समुदायलाई नै हस्तान्तरण भइसकेपछि उपभोक्ताले नै वन जोगाउनु पर्छ भन्ने हाम्रो मान्यता थियो तर त्योबेला छाडा चौपायाले वन जोगाउनै मुस्किल ।

नाङ्गा डाँडामा वृक्षारोपण गर्छौँ भोलिपल्टै छाडा चौपायाले बिरुवा सखाप पारिदिने । वनको बलियो आम्दानीको स्रोत अझै बनिसकेको थिएन । त्यसैले तारवार लगाउने उपाय पनि हामीसँग थिएन । त्यसपछि वन समूहको बैठक बस्यौँ । बैठकले छाडा चौपाया थुन्न कान्जि हाउस सञ्चालन गर्ने निर्णय गयो । यसको मोटामोटि कार्यविधि बनाएर सौडियार गाविसको चौधौँ गाउँपरिषद्मा लग्यौँ ।

त्यहाँबाट पनि अनुमोदन भएपछि हामीले हाम्रो सामुदायिक वनमा आउने जुनसुकै छाडा चौपायालाई थुन्न कान्जि हाउस निर्माण ग¥र्यौँ । गाई भैँसी, बाख्रा सबैलाई थुन्थ्यौँ, चौपाया मालिक आएर तोकिएको जरिवाना तिरेपछि फिर्ता लैजान्थे । यसरी कान्जि हाउस चल्दै गएपछि स्थानीयहरूले आफ्ना बस्तुभाउ छाडा छाड्न छाडे । वन जोगिँदै गयो । केही वर्षमै नाङ्गा डाँडा हराभरा बने ।

‘लेखिदिनु होला मेरो खुसी कान्जि हाउस निर्माणको सुरुवात’, माथि उल्लिखित खुसीको क्षण हो, तत्कालीन घुस्रा विकास सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम ्रकाश खड्काको । किनकि घुस्राले सुरु गरेको कान्जि हाउस निर्माण जिल्लाको कालाकाटेदेखि पुरन्धारासम्म फैलियो । सामुदायिक वनमै काठले बारेर बनाइएको चौपाया थुनुवा कक्षलाई त्यो बेला कान्जि हाउस भनिन्थ्यो तर अचेल विस्तारै कान्जि हाउसको अवधारणा हराएर गएको छ ।

सम्पन्न सामुदायिक वनले आफ्नो वनमा तारबार गरिसकेका छन् । छाडा चौपाया वनमा छाड्न हुन्न भन्ने सचेतना पनि नागरिकमा देखिन थाल्यो । उहिलेका कान्जि हाउस अहिले सामुदायिक गौसाला भएका छन् । छाडा चौपाया जम्मा गरेर राखिन्छन् त्यहाँ । कुनै गौशाला स्थानीय सरकारले चलाएका छन् त कुनै संघसंस्थाले ।

वन जोगाउन कान्जि हाउसको निर्माणको परिकल्पनाकार वन क्षेत्रमा माथिल्लो तहसम्म पनि पुगे । ३०५२ सालदेखि नै खड्काले वन जोगाउने अभियानको सक्रिय नेतृत्वको पनि सुरुवात गरे वन महासंघ दाङको सचिवको भूमिकामा । त्यसपछि वन महासंघ तदर्थ समितिको संयोजकको भूमिकामा पनि उनी क्रियाशिल रहे । २०६७ सालदेखि लगातार दुई कार्यकाल वन महासंघ दाङको जिल्ला अध्यक्ष पनि भए । त्यहीेला वन महासंघ नेपालको न्यायिक समितिको कार्यबाहक संयोजकको भूमिका पनि कुशलतापूर्वक निर्वाह गरे ।

वन जोगाउने सवालमा उनको जहिल्यै पनि सक्रिय भूमिका रह्यो । जोगाउने मात्र होइन, उपभोक्ताले हुर्काएको वन उपभोगको अधिकार पनि उपभोक्तालाई नै हुनुपर्छ भन्ने न्यायोचित मागलाई केन्द्रैसम्म वकालत पनि गरे । त्यही क्रियाशिलताका कारण उनले वन उपभोक्ता महांसंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि पाए । हाल पनि उनी वन महासंघको सल्लाहकार छन् । अर्थात वन उनको खुसी हो, तर उपभोक्ताले संरक्षण गरेको वनको उपभोगको अधिकार पनि उपभोक्तामा निहित हुनुपर्दछ भन्ने सधै मान्यता राख्छन् । त्यसैले त सामुदायिक वनलाई गाभेर बाँके निकुञ्जको मध्यवर्त क्षेत्र बनाउन खोजिरहँदा उनी त्यसका विरुद्धको आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरे ।

जिल्लाभरका उपभोक्तालाई जम्मा गरेर उनकै नेतृत्वमा राजधानीमा समेत सयौँ उपभोक्ता निकुञ्ज विरुद्धको आन्दोलनमा उतारियो । यद्धपि त्यो मागलाई सरकारले सम्बोधन गरेन । दाङ जिल्लाका केही सामुदायिक वनलाई निकुञ्जले खोस्यो, त्यसैको नकारात्मक प्रतिफल अहिले स्थानीयबासीले पाइरहेका छन् । जङ्गली जनावरको आतंक अहिले मध्यवर्तिका बासिन्दाले खेपिरहेका छन् ।

त्यसो त भीमप्रकाश खड्का सामुदायिक वनको वृद्धिको अभियन्ता मात्रै होइनन्, राजनीतिमा पनि क्रियाशिल व्यक्तित्व हुन् । उनी पार्टीप्रति सधै इमान्दार र बफादार भएर आफूलाई पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । त्यही क्रियाशिलताले उनी नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. २ को सभापतिको जिम्मेवारीमा छन् । उनी भन्छन्–मेरो खुसी सौडियारमा कांग्रेस विस्तार । अर्थात् त्योबेला सौडियारमा कम्युनिष्ठको निकै चलखेल थियो ।

कांग्रेसको उपस्थीति अत्यन्तै न्यून । उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जोडिँदा सौडियारमा कांग्रेस चिरो थियो । तर नजिकैको गरुवागाउँ भने कांग्रेसमय थियो । गुरुवागाउँका लुमबहादुर विसी, भुपबहादुर डाँगी, सुन्दर शाह, बसन्त थापालगायतका नेतृत्व मिलेर हामीले विस्तारै सौडियारमा पनि कांग्रेसको सङ्गठनलाई स्थापित गर्न सफल भयौँ । म त्यो दिन अझै पनि सम्झन्छु, हाम्रै प्रयासले सौडियारमा कांग्रेसले जरो गाडेको छ ।

खड्का खासगरी बलदेव मज्गैया र खुमबहादुर खड्काको प्रेरणाले नेपाली कांग्रेसको राजनीतिमा जोडिए । २०४६ सालमा उनी नेपाल विद्यार्थी संघमा आवद्ध भए । सोही वर्ष उनी सौडियार गाउँ समितिको सहसचिवको भूमिकामा पनि काम गरे । २०५९ सालमा नेपाली कांग्रेस दाङको जिल सदस्यको भूमिकामा रहेका खड्का २०७२ सालसम्मै यो जिम्मेवारीमा रहे ।

नेपाली कांग्रेसको बाह्रौ महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित भए । त्यसपछि उनी २०७८ सालदेखि नेपाली कांग्रेस क्षेत्रीय सभापतिको जिम्मेवारीमा छन् । वनकर्मी प्लस राजनीति उनले सँगसँगै डो¥याइरहेका छन् । अवको रोजाई के हो ? खड्काले भने पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही निर्वाह गर्ने । खड्काको जन्म २०२६ सालमा साविक धर्ना गाविसको बसन्तापुरमा भयो तर पछि उनको बसाइ सौडियारको घुस्रामा स¥यो । मावि दलजितपुरमा ८ कक्षासम्म पढेका खड्काले हाइस्कुल मावि धर्नाबाट पूरा गरे । महेन्द्र बहुमुखी क्याम्पसबाट आइए उत्तीर्ण गरेपछि उनको अध्ययन ब्रेक भयो । उनी राजनीति मात्र होइन, मावि सौडियारको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि बने ।

जिल्ला विद्यालय समन्वय समितिको सदस्यको जिम्मेवारीमा पनि काम गरे । नेपाल भारतमैत्री संघको आजीवन सदस्य छन् उनी । त्यसैगरी नेपाल नेत्रज्योति संघको पनि आजीवन सदस्य छन् । धारपानी पाण्डवेश्वर धामको पनि उनी आजीवन सदस्य रहेका छन् । वन महासंघमा रहँदा उनले ब्राजिल, केन्या, इन्डोनेशिया, थाइल्यान्ड, दक्षिण अफ्रिका र छिमेकी मुलुक भारतका धेरै प्रान्तको पनि भ्रमणको अनुभव बटुलेका छन् ।

भन्छन्– सबैभन्दा ठुलो खुसी त साथीभाइको निरन्तर माया र सद्भाव हो । म सदाबहार खुसी हुने र खुसी देख्ने व्यक्ति हुँ । उनको दैनिकि अचेल सौडियार–घोराहीको दैनिक चौध किमी यात्रा छ । सादा जीवन उच्च विचारका सादगी नेता भीमप्रकाश खड्का बिहानको खानापछि सडकमा निस्कन्छन् घोराहीका लागि । कहिले काही साथीभाइको मोटर साइकलमा लिफ्ट लिन्छन्, धेरैजसो अटोमा यात्रा । घुस्रादेखि घोराहीसम्मको दुरी ७ किमी छ । अटोको भाडा एक सय रुपैयाँ छ ।

दैनिक दुईसय भाडामा उनी घरदेखि पार्टी अफिससम्मको यात्रा तय गर्छन् । त्यसो त उनको एउटै उद्देश्य भनेको समाज रुपान्तरण हो । उनी मैनबत्ती बन्न चाहन्थे । जसरी मैनबत्तीले आफू जलेर अरूलाई उज्यालो दिन्छ त्यसरी नै आफूले पनि अरूलाई उज्यालो दिन सकौँ भन्ने लाग्थ्यो । उनी मैन बन्नका लागि राजनीतिमा लागे ।

‘तर अचेलको राजनीति मैन बन्न होइन मालिक बन्नका लागि रहेछ’, यसले मलाई कताकता नियास्रो लागिरहन्छ । भीमप्रकाश भन्छन्, समाज रुपान्तरणमा सबैको साथ चाहिन्छ । उनको अझै पनि सबैसँग आग्रह छ, सबै मैनबत्ती बनौँ, जसरी मैल आफू जलेर नसकिउन्जेल अरूलाई उज्यालो प्रदान गरिरहन्छ…।

प्रस्तुति : खेमराज रिजाल