प्रिया स्मृती गजमेर
लमही, २१ जेठ । रुकुम पूर्व भूमे गाउँपालिका निवासी विरस बुढा वैदेशिक रोजगारीका क्रममा विदेशमा थिए । विदेशमा रहँदा राम्रै कमाइ पनि भइरहेको थियो । तीन वर्ष अघि बुढा बिरामी परे ।
स्वास्थ्य जाँच गराउँदा मृगौलामा समस्या देखियो । त्यसपछि नेपाल फर्किएर केही समय काठमाडौंमा उपचार गराएका बुढा पछिल्लो समय लमही समुदायिक डायलाइसिस सेन्टरमा डाइलाइसिस सेवा लिइरहेका छन् । कुलमोहरस्थित आफन्तको घरमा बसेर हप्तामा तीन पटक डायलाइसिस गराइरहेका बुढाले डायलाइसिस गराउने बिरामीको सङ्ख्या धेरै हुने भएकाले पालो पर्खिनुपर्ने बाध्यता सुनाउँछन् ।
आर्थिक रूपमा विपन्न नागरिकलाई उपचारमा सरकारले सहयोग गर्नु राम्रो भए तापनि सहयोग रकम बढाउन सके बिरामीलाई राहत हुने उनी बताउँछन् । उनले भने, ‘वडा र पालिकाको सिफारिसले केही राहत त मिलेको छ तर औषधी र खानपिनमा खर्च बढी हुने भएकाले थेग्न गाह्रो भएको छ ।’
आर्थिक रूपमा विपन्न परिवारलाई राज्यले दिने सहयोगले राहत भएको बताउँछन् । बुढा जस्तै लमही नगरपालिका–९ तेलियाका भीमबहादुर रावत पनि मृगौला फेल भएर हप्तामा दुईपटक डायलाइसिस गराइरहेका छन् । रावतकी श्रीमती सुशीला भन्छिन्, ‘राज्यले दिने २५ सय रुपैयाँले केही राहत भएको तर औषधी र खानपानको खर्च धान्न गाह्रो हुन्छ ।’
सामुदायिक डायलाइसिस सेन्टरमा ५६ जना मृगौलाका बिरामीले उपचार सेवा लिइरहेका छन् । केन्द्रमा डायलाइसिसका लागि १० वटा बेड मात्र छ तर बेडसङ्ख्या भन्दा बढी बिरामी डायलाइसिस गराउन आउँदा समस्या हुने गरेको लमही समुदायिक डायलाइसिस सेन्टरका व्यवस्थापक सुशील पाण्डे बताउँछन् । बिरामीको चापलाई मध्यनजर गरी थप चार वटा बेड थप्ने तयारी भइरहेको पाण्डेयले बताए ।
सीमित स्रोत साधन र उपकरणबाट धेरै बिरामीलाई सेवा दिँदा व्यवस्थापनमा समस्या हुने गरेको भन्दै व्यवस्थापक पाण्डेले भने, ‘बेडको अभावले दुई सिफ्टमा बिरामीको पालो लगाएर उपचार गरिरहेका छौँ । डायलाइसिस मेसिन र बेड थप्न सकिए बिरामीलाई सेवा दिन सजिलो हुने थियो ।’ उपचारका लागि दाङसहित प्युठान, रोल्पा, रुकुमपूर्व, कन्चनपुरलगायतका ठाउँबाट बिरामी डायलाइसिसका लागि सेन्टरमा आउने गरेका छन् ।
सेन्टरबाट लमहीका १४ जना, घोराहीका छ जना, गढवाका चार जना, राजपुरका पाँच जना, तुलसीपुरका दुई जना, राप्तीका चार जना, बंगलाचुलीका एक जना बिरामीले नियमित डायलाइसिस सेवा लिइरहेका छन् ।
सहयोग रकम अपुग
मृगौला डायलाइसिस गर्ने विपन्न नागरिकलाई नेपाल सरकारले औषधोपचार कोषबाट एक पटकको डायलाइसिसका लागि दुई हजार पाँच सय रुपैयाँ दिने गरेको छ । उक्त रकम उपचारका लागि भने पर्याप्त नभएको बिरामी बुढा मगर बताउँछन् । उपचारका लागि पैसा धेरै खर्च हुने गरेको भन्दै सरकारले सहयोग गर्ने रकम बढाइदिए आर्थिक रूपमा विपन्न नागरिकलाई राहत मिल्ने उनी बताउँछन् । उनी भन्छन्, ‘खाली डायलाइसिस गरेर मात्र हुँदैन, औषधी, पौष्टिक पदार्थ खानुपर्छ, आपूmसँग पैसा हुँदैन सरकारले दिएको पैसाले पुग्दैन । कम्तिमा महिनामा पाँचदेखि सात हजार रुपैयाँसम्म सहयोग रकम दिए राहत हुने थियो ।’
डायलाइसिस सेन्टरमा हप्तामा तीन पटक डायलाइसिस गर्नुपर्ने बिरामीका लागि नियमित रूपमा युरिक एसिड, प्रोटिन, क्याल्सियम, फस्फोरस, सिबिसीलगायतका परीक्षण निःशुल्क हुने गरेको छ । यसैगरी प्रत्येक तीन महिनामा गरिने सरुवा रोगको परीक्षण पनि निःशुल्क गरिरहेको व्यवस्थापक पाण्डेले बताए । डायलाइसिस सेन्टरमा २० देखि ६० वर्ष उमेर समूहका बिरामी रहेको डा रफिक खान बताउँछन् । उनका अनुसार सुगर र प्रेसर जस्ता दीर्घ रोगले मृगौलामा असर पुगेका अधिकांश बिरामी सेन्टरमा आउने गरेका छन् ।