आजका बालबालिका भविष्यमा कर्णधार हुन् लगानीका आधार हुन् । भावी समाज सभ्य, सुसंस्कृत एवम् जिम्मेवार बनाउन अहिले नै सम्पूर्ण बालबालिकाको चौतर्फि विकासमा जोड दिनुपर्छ । तीनै तहका सरकारले भौतिक विकासमा बढी जोड दिँदै पूर्वाधार विकास निर्माण गर्दै आएका छन् ।
त्योभन्दा बढी संवेदनशील र महत्वपूर्ण क्षेत्र सामाजिक विकासमा लगानी गर्नु पर्ने देखिन्छ । जबसम्म मानवीय विकासको गति बढ्दैन, तबसम्म भौतिक संरचनाको विकासले दिने प्रतिफल गुणस्तरीय हुन सक्दैन । सबै सरकार र सरोकारवाला पक्षको साँझा बुझाई निर्माण गर्दै भावी पुस्ताको विकासमा एकसाथ लाग्नु पर्ने हुन्छ । बाल अधिकारको विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदायमा गरेका प्रतिबद्धता पूरा गर्न तथा बाल अधिकार प्रवद्र्धन गर्न जारी कानुनको प्रभावकारी कार्यान्वयनका लागि समेत बालमैत्री स्थानीय शासन निकै महत्वपूर्ण अवधारणा मानिन्छ । नेपाल सरकारले सबै स्थानीय तहलाई २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको छ ।
स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने उद्देश्य बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को रहेको छ । स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्जुमा गर्दा बालबालिकाको सहभागिता गराउने, स्थानीय तहमा निर्माण हुने सबै भौतिक पूर्वाधार बालमैत्री बनाउने तथा बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने उद्देश्य रहेको छ । सोही अनुसार नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपी) ले तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाको तयारीअनुसार बालमैत्री स्थानीय शासनका लागि बाल अधिकार सचेतना कार्यक्रम, विषयगत सवालमा सरोकारवालासँग छलफल एवम् अभिमुखीकरण पनि गरिसकेको छ ।
विगत २०५१ सालदेखि बाल अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएका नवजागरण महिला तथा बालसंरक्षण केन्द्रका अध्यक्ष एवम् बाल अधिकारकर्मी नवराज लामिछानेसँग बालअधिकार, बालमैत्री स्थानीय शासन र घोषणालगायतका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी बालाराम खड्काले गरिएको संक्षिप्त कुराकानी ।
स्वागत छ तपाईलाई सातावार्तामा ?
तपाई अनि तपाईको पत्रिकालाई बालअधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी मैले जाने बुझेका कुराहरू राख्ने अवसर दिनु भएकोमा धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।
बालमैत्री स्थानीय शासन भनेको के हो ?
१८ वर्ष उमेर ननाघेका व्यक्तिहरू बालबालिका हुन् । बालबालिका भएकै कारणले उनीहरूको आधारभूत आवश्यकता जस्तै खाना, लुगा, कपडा, स्वाथ्य उपचार, माया, स्याहार, खेल मनोरञ्जन र अभिभावकत्व प्राप्त गर्न पाउने अवस्थालाई बाल अधिकार हो भन्ने बुझ्नु पर्दछ ।
जसलाई बाल बचाउ, बाल संरक्षण, बाल विकास र सार्थक बालसहभागिता जस्ता बालअधिकारका सवालहरूलाई प्रमुख ४ क्षेत्रमा राखेर व्याख्या गरिएको छ । यसैमा केन्दित भएर स्थानीय स्तरमा सरकारले नीति निर्माण गर्ने, योजना बनाउने, संरचना, प्रणाली र कार्य प्रक्रियामा स्थानीय स्तरबाटै संस्थागत गर्ने पद्धतिलाई बालमैत्री स्थानीय शासन भनिन्छ ।
स्थानीय तहलाई बालमैत्री घोषणा गर्नका लागि मुख्य सूचकहरू के–के हुन् र कति छन् ?
बाल बचाउ (बाँच्न पाउने अधिकार) १४ वटा, बाल संरक्षण (संरक्षित हुने अधिकार) १० वटा, बाल विकास (विकासको अधिकार) ६ वटा, बाल सहभागिता (सहभागिताको अधिकार) ६ वटा र संस्थागत विकासको १५ वटा रहेको मध्ये सेवा प्रवाहमा ३६ सूचक, संस्थागत कार्यमा १५ गरी जम्मा ५१ वटा प्रमुख सूचक रहेका छन् । यहाँ मैले सबै सूचक व्याख्या गरे ५१ वटा सूचनकहरू रहेका छन् । यसलाई सहजीकरण गर्न सहायक सूचकहरू पनि धेरै रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न के कस्तो भूमिका निर्वाह गर्नुभएको छ ?
तपाईहरू सबैलाई थाहै होला २०६८ सालदेखि हालसम्म तुलसीपुर नगरपालिका क्षेत्रमा सामाजिक क्षेत्रबाट र जनप्रतिनिधिको तर्फबाट स्थानीय सरकारलाई बालमैत्री स्थानीय तहको निर्माण कार्यमा सहजीकरण हामी सबैले गरिरहेका छाँै । नीति निर्माणमा सहायोग, वडा÷नगर स्तरमा अभिमूखीकरण, कार्यक्रममा साझेदारी र ज्ञान, अनुभवको आधारमा व्यक्तिगत र मेरो संस्थाकोतर्फबाट आवश्यक सेवा प्रदान हामीहरूले विगतदेखि अहिलेसम्म गरिरहेको अवस्था छ ।
तपाई लामो समय बालबालिकाको क्षेत्रमा काम गर्दै आउनु भएको छ, तुलसीपुरमा बालबालिकाको अवस्था कस्तो छ ?
यस क्षेत्रमा मेरो संलग्नता २०५१ सालदेखि हो । पहिलेको अवस्थामा धेरै सुधार भएको छ, तैपनि केही वर्षयता समाजमा नयाँ–नयाँ खालका सवालहरू देखा परेका छन् । ती नयाँ खालका सवाललाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा हामीहरू लागि परेका छाँै ।
अहिले बालमैत्री स्थानीय शासन घोषणाको तयारीका लागि बालअधिकार सचेतनामा कुन–कुन पक्षसँग छलफल गर्नुभयो ?
यसवर्ष बालमैत्री स्थानीय शासन निर्माणका लागि वडा तहमा, नगरपालिका स्तर, स्थानीय सरकारका जनप्रतिनिधिहरू, सुरक्षा निकाय, प्रशासन कार्यालय, महिला बालबालिका, शिक्षा, स्वास्थ्य, पञ्जीकरण शाखा, स्थानीय गैर, उद्योग व्यापार, होटल, यातायात व्यवसायीक प्रमुख प्रतिनिधि, बाल क्लब, बाल सञ्जाल, टोलविकास संघ संस्था, धार्मिक संस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, पत्रकार एवम् सञ्चार क्षेत्रका प्रतिनिधि, मानव अधिकार, महिला अधिकारकर्मी बालअधिकार समितिका प्रतिनिधि, शैक्षिक क्षेत्रका छाता सङ्गठन जस्तै यस क्षेत्रमा सरोकार राख्ने सबै संस्था र व्यक्तिहरूसँग छलफल गरिएको छ । उहाँहरूबाट पनि बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि महत्वपूर्ण कुराहरू आएका छन् ।
तुलसीपुरमा हालसम्म कुन–कुन वडा बालमैत्री घोषणा भएका छन् ?
हालसम्म तुलसीपुर उपमहानगरपालिकाभित्र कुनै पनि वडा बालमैत्री घोषणा भइसकेका छैनन् । बालमैत्री वडा घोषणाका लागि विभिन्न कार्यक्रम गरेर सूचक पूरा गर्ने काम भइरहेको छ । बालमैत्री वडा घोषणाका लागि सूचक पूरा गरेपछि वडाहरू बालमैत्री घोषणा हुनेछन् । त्यसका लागि तयारीमा हामी लागेका छौँ । जतिसक्यो चाडै वडाहरू बालमैत्री घोषणा गरेर आगामी वर्ष तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री उपमहानगरपालिका घोषणा गर्ने छौँ ।
बालबालिकाको क्षेत्रमा सहभागिताको साथै विकासका लागि पालिकाले कस्तो सहयोग गरेको पाउनु भएको छ ?
पालिकाको तर्फबाट बालबालिकाको सबै क्षेत्रमा सहयोग प्रदान गर्ने काम सकारात्मक छ । बालबालिकाहरूका लागि लगानी योजना बनाएर सवाललाई प्राथमिकीकरण गर्दै बजेट व्यवस्थापनमा केही समस्या आएको देखिन्छ ।
बालमैत्री नगरस्तरीय समिति गठन भएको छ, छैन ?
तुलसीपुरमा नगरस्तरीय बालमैत्री समिति गठन भएको छैन । तर, केही वडाहरूमा गठन भइसकेका छन् र एक हप्ताभित्र नगर प्रमुखको अध्यक्षतामा बालमैत्री नगरपालिका समिति तुलसीपुर उपमहानगरपालिकामा गठन गर्ने तयारीमा छौँ । त्यही अनुसारको तयारी अहिले भइरहेको छ ।
अन्तमा केही भन्नु छ ?
अन्तमा बालअधिकारका सरोकारको पक्षमा हामी सबैको समन्वय, सहकार्य र साझेदारीबाट मात्र बालमैत्री घर परिवार, समाजसँगै स्थानीय तहको निर्माण गर्न सकिन्छ त्यसैले बालबालिकामा लगानी गरी मानव पूँजीको विकास गराँै भन्ने सबैमा अनुरोध गर्दछु ।