गोरक्ष समाचारदाता
तुलसीपुर, २१ जेठ । लुम्बिनी प्रदेशको दाङ जिल्लामा घरेलु हिंसा बढी हुने गरेका छन् । घरेलु हिंसाबाट ८१ प्रतिशत महिला पीडित रहेको तथ्याङ्कले देखाएको छ । तीन महिनामा भएका ३१ वटा लैङ्गिक हिंसाका घटनामध्ये २५ वटा घटना घरेलु हिंसाबाट प्रभावित भएको महिला पुनःस्थापना केन्द्र(ओरेक) दाङका कार्यक्रम संयोजक कल्पना चौधरीले जानकारी दिइन् ।
महिला पुनःस्थापना केन्द्र ओरेकले महिला तथा किशोरी अधिकारका लागि काम गदै आइरहेको र विभिन्न समुदायिक संस्था, महिला समूह, युवा तथा किशोरी समूहसँगको समन्वयमा महिला किशोरीमाथि हुने हिंसाका घटना सङ्कलन, व्यवस्थापन तथा अभिलेखन गरी विश्लेषणत्मक प्रतिवेदन प्रकाशित गरी सो तथ्याङ्कमा जनवरी २०२५ देखि मार्चसम्मको तथ्याङ्कमा घरेलु हिंसाको अवस्था यस्तो देखिएको हो ।
अधिकांश घटनामा आरोपितहरू प्रभावित महिलाका श्रीमान् रहेकोको पाइएको छ । तीन महिनाको तथ्याङ्ककलाई हेर्दा अधिकांश महिला बालविवाह गरेका महिला रहेको उनको भनाई छ । सानै उमेरमा विवाह गरेका महिलाहरू अहिले घरेलु हिंसाबाट पीडित रहेको घटनाले देखाएको छ ।
महिलाहरू सुरक्षाको अपेक्षित स्थान मानिने घरबाटै हिंसा हुनु नै चिन्ताको विषय भएको उनको उनले बताएकी थिइन् । यसैगरी परिवारका सदस्यबाट १९ प्रतिशत, छिमेकीबाट १० प्रतिशत, मुख्य स्याहारदाता र अपरिचित व्यक्तिबाट ६÷६ प्रतिशत घरेलु हिंसा भएको पाइएको छ । उपलब्ध तथ्याङ्क र घटनाहरू दस्तावेजीकरणमा आएका प्रतिनिधिमूलक उदाहरणहरू भए पनि अझै यो निजी मामिलाको रूपमा हेर्ने पितृसत्तात्मक मानसिकतालगायतका कारणले अझ धेरै हिंसा प्रभावित महिलालाई मौन बस्न बाध्यता रहेको प्रकाशित त्रैमासिक प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘जबसम्म घरेलु तथा महिलामाथि हुने हिंसालाई व्यक्तिगत नभई संरचनागत, सार्वजनिक र राजनीतिक रूपमा बहुआयामिक हस्तक्षेप गरिँदैन तबसम्म यसको दीर्घकलीन समाधान सम्भव नहुने उल्लेख छ ।