लायन्स क्लबद्वारा सेवा घरमा सहयोग

गोरक्ष समाचारदाता
दाङ, २१ जेठ । घोराहीमा रहेको लायन्स क्लब राप्ती अम्विकेश्वरीले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको मानवकल्याण समाज (सेवा घर)का लागि आवश्यक विभिन्न सामग्री हस्तारन्तरण गरेको छ ।

लायन्स क्लब राप्ती अम्विकेश्वरीका संस्थापक अध्यक्ष लायन प्रतापविक्रम शाहको अध्यक्षतामा मङ्गलवार भएको कार्यक्रममा सेवा घरकी कर्मचारी अस्मिता श्रेष्ठलाई सामग्री हस्तान्तरण गरिएको थियो । सेवा घरका लागि तत्कालै आवश्यक परेका सामग्री उपलब्ध गराएको संस्थापक अध्यक्ष शाहले बताए ।

उनका अनुसार क्लबको तर्फबाट झाडु २४ वटा, सर्फ १० किलो, सोयाबडी १० किलो, सावुन २० पिस, फिनायल १२ बोतल, ल्याक्टोजिन तीन पिस, सेरेलेक्स तीन पिस, पार्लेजी बिस्कुट पाँच दर्जन, ढलोटको ठुलो कराई एक पिस, भट्टे चुलो एउटा, दुई पिस डस्टप्यान र पाँच लिटर तेल उपलव्ध गराइएको थियो ।

सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लबका तर्फबाट गरिएको सहयोगले आफूहरूलाई राहत पुगेको सेवा घरकी सञ्चालिका अस्मिता श्रेष्ठले बताइन् । उनका अनुसार केही महिना अघि लगाइएको महायज्ञमा खाद्यान्न सहयोग प्राप्त भएकाले हाल सेवा घरमा खाद्यान्नभन्दा बाहेक अरू सामग्री आवश्यक पर्ने गरेको छ ।

कार्यक्रममा लायन्स क्लब ३२५ एनका सिनियर एक्जुकेटिभ चिफ लव नरसिंङ अधिकारी, एरिया नं. २ का चिफ मधुसूदन वैद्यलगायतले लायन्सले विगतदेखि गर्दै आएका सेवाका कामबारे जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण डिस्ट्रिक्ट एक्जुकेटिभ चिफ युवराज थपलियाले गरेका थिए ।

सामग्रीहरू लायन प्रतापविक्रम शाह, सुभद्रा शाह र पारसविक्रम शाहले उपलब्ध गराएका थिए । मानवकल्याण समाजले सञ्चालन गरेको सेवा घरमा हाल ५० जना सहाराविहीन नागरिकले आश्रय लिइरहेका छन् ।